पर्यटकको रोजाईमा परेको कन्याम, प्याराग्लाईडिङ उडाउन शुरु

    इलाम, ४ पौष / इलामको चर्चीत पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाईमा परेको कन्यामको सहिद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ उडाउन शुरु गरिएको हो । पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ ।

बा¥है महिना पर्यटको भीड हुँने कन्याममा कम्पनीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिन थालेको छ ।
सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार कन्याबाट दुई वटा प्याराग्लाईडिङ दैनिक तीन पटकका दरले छ पटक सेवा दिन थालिएको छ । पर्यटकको चाप हेरी प्याराग्लाईडिङको संख्या थप गर्ने उहाले जानकारी दिनु भयो । प्याराग्लाईडिङ संचालन गरिएको उडान भर्ने स्थान र ल्याण्ड गर्ने स्थानको थप व्यवस्थापन गर्ने काम भैरहेको छ ।
पोखराबाट आउनुभएका दक्ष पाइलट सुनिल थापा र महेन्द्रबहादुर भट्टराईले प्याराग्लाईडिङको उडान भराउँदै आउनुभएको छ । पाइलट थापाले नयाँ ठाउँ भएकाले कन्यामबाट प्याराग्लाईडिङको उडान परीक्षणकै क्रममा रहेको बताउनुभयो । उहाले कन्यामको मौषम दिनमा धेरै पटक बदली भैरहने र हावाको चाँप परिवर्तन भैरहने भएकाले प्याराग्लाईडिङ सञ्चालनका लागि उपयुक्त स्थानको पहिचान गर्न अझ केही दिन लाग्ने जानकारी दिनुभयो ।
एक हजार ६७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटरमाथि सम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ । व्यवस्थापन पक्षले एक पटक प्याराग्लाईडिङ गर्दा प्रति एक जना पर्यटकबाट पाँच हजार पाँच सय रुपियाँ दिने दररेट निर्धारण गरेको छ ।
व्यवस्थापक ज्ञानबहादुर प्रधानले भन्नुभयो ‘कन्याम आउने पर्यटकका लागि हामीले नयाँ आयाम थप गरेका हौँ ।’ प्रधानले पर्यटकको सुरक्षालाई ध्यानमा राखी प्याराग्लाईडिङ गर्ने पर्यटकको समेत बिमाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उक्त क्षेत्रका प्रदेश सांसद तथा पर्यटन क्षेत्रका जानकार काजीमान कागतेले प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याममा प्याराग्लाईडिङ सञ्चालन गरिएपछि यहाँ आउने पर्यटकलाई थप आर्कषित गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘अब कन्याम र अन्तु जस्ता पर्यटकीय स्थललाई सरकारले ‘नाईट टुरिजम’ क्षेत्रका रुपमा विकास गर्नुपर्छ ।’ स्थानीय पर्यटन व्यवसायीले कन्यामबाट प्याराग्लाईडिङ सञ्चालन हुँदा यहाँको पर्यटन प्रर्वधनमा थप टेवा पुग्ने बताएका छन् ।

आइतबार, ०४ पुष, २०७८, दिउँसोको १२:१५ बजे

सम्बन्धित खवर