नेपाललाई भारतले दियो १० लाख डोज कोरोना भ्याक्सिन

झापा, ७ माघ /  भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएका हुन् ।

अनुदानको खोप विहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए । उनले खोप अनुदानमा दिएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ।

आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने ।

नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको उनले दावी गरे ।

बुधबार, ०७ माघ, २०७७, दिउँसोको ०४:३६ बजे

सम्बन्धित खवर