‘दमकमा लामो समयको अथक प्रयासले एमालेको किल्ला भत्काउन सफल भयौं’ – राम थापा

दमक /  दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले लामो समयसम्मको अथक प्रयासले मात्रै दमकमा एमालेको किल्ला भत्काउन सफल भएको बताएका छन् । विजयी भएपश्चातको विशाल र्यालीमा सहभागी सर्मथकहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेको पुरानो किल्ला र अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको दमक नगरपालिकाको मेयरमा रामकुमार थापा निर्वाचित भएका छन् । प्रजातन्त्र स्थापनापछि भएका तीनवटै निर्वाचनमा एमालेले जित्दै आएको दमकमा सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापा मेयरमा निर्वाचित  भएपछि उनले आफू जनताको बलमा मेयर भएकाले जनताको मनोबल उच्च हुनेगरि काम गर्ने बताए ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका रामकुमार थापाले १७५२५ मत प्राप्त गरि ५५९ मतन्तरमा नेकपा एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पराजित गरेका हुन् । दमककी निवर्तमान उपमेयर रहेकी अधिकारीले १६९६६ मत प्राप्त गरेकी छन् ।

राप्रपाको प्रदेश १ अध्यक्ष रहेका थापा शाही कालमा मेयर भएका थिए । तर, उनलाई जननिर्वाचित मेयर बन्ने हुटहुटी थियो । तर, उनी एमालेकै उम्मेदवारसँग पराजित बन्दै आएका थिए । यस पटक भने एमालेलाई पाखा लगाउने सत्ता गठबन्धनको चाहनाले थापाको मेयर भन्ने सपना एकाकार हुँदा उनी सफल बनेका छन् ।

थापाले २०३५–०३६ सालमा राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीतिक यात्रा सुरु गरेका थापा आफ्नो विचार दृष्टिकोणमा सम्झौता नगर्ने नेतामध्ये एक हुन् । तर, उनको सामाजिक व्यक्तित्व र स्वभाव भने कसैलाई नबिझाउने छ । त्यसैकारण पनि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितका दलहरुले उनलाई मेयरको कुर्सीमा पुर्याउन सहयोग गरे ।

नेकपा एमालेका अध्यक्ष ओलीको निर्वाचन क्षेत्र र गृहनगर दमकको निर्वाचन गठबन्धन र एमाले दुबैको लागि प्रतिष्ठाको विषय थियो । त्यसैले एमाले अध्यक्ष ओली निर्वाचन अगाडि दुई दमक आएका थिए । गणतन्त्रको लागि लडेका दलहरुले राप्रपालाई भोट दिँदैनन् भन्ने एमालेका स्थानीय कार्यकर्ताको विश्वास ओलीको रुखो बोली र अन्य दलहरुप्रतिको अपमानजनक टिप्पणीकै कारण टुटेको थियो । त्यसैले अपेक्षा गरेको भन्दा कम मतान्तर भएपनि थापा मेयरमा निर्वाचित भए ।

‘दमकले परिवर्तन खोजेको थियो, त्यो मतपत्रमार्फ व्यक्त भएको छ’ जीतपछि संक्षिप्त प्रतिक्रिया दिँदै थापाले भने ‘जनताले दिएको अभिमतको सम्मान गर्दै सबैप्रति आभार प्रकट गर्दछु ।’ दमकलाई नमूना नगर बनाउने, नागरिकलाई निस्वार्थ सेवा गर्ने सपना र योजना आफूसँग रहेको बताउने थापा त्यही हुटहुटीले निरन्तर प्रयास गर्न प्रेरित गरेको बताउँछन् । दमक नगरभित्र अनियमितता र कमिसनतन्त्रको ठूलो जालो लागेको भन्दै उनले अब त्यसलाई चिरेर अगाडि बढ्ने बताएका छन् ।

२०३९ सालमा दमक नगरपालिका बनेदेखि नै थापाले मेयर बन्ने प्रयास गरेका थिए । तर, करिब चार दशकपछि उनको सपना पुरा भयो । उनी २५ वर्षअघि पहिलोपटक मेयरको चुनाब लडेका थिए । त्यसबेलमा नेकपा एमालेका रोमनाथ ओलीसँग पराजित भए । दोस्रो पटक २०७४ मा पुनः चुनाब लडेका उनी ओलीसँगै दोस्रो पटक पराजित भएका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमै थापा दोस्रो भएका थिए । एमालेका ओलीले १० हजार ८०६ मत ल्याउँदा थापाले त्यसबेला ७ हजार ६५५ मत पाएका थिए । त्यसबेला राप्रपाले दमकको १ र ७ दुईवटा वडा जितेको थियो । यसपटक गठबन्धन गर्दा पनि राप्रपाले १ गुमाएको छ । तर, मेयर हात पारेको छ ।

दमकमा एमालेविरुद्धको महागठबन्धन बनेपनि गठबन्धनमा रहेका दलहरुले सबै मत केन्द्रित नगरेको देखिएको छ । त्यसैले एमालेले बहुमत वडामा जित निकालेको छ । तर, जसरी पनि दमकमा एमाले र ओलीको एकछत्र दबदबा अन्त्य गर्न सकिने स्वार्थले नेतृत्व केन्द्रित हुँदा मेयर र उपमेयर दुबै गठबन्धनले जितेको छ ।

यस्तै उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराई ४९० मतान्तरले विजयी भएकी छिन् । उनले १७०७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६५७४ मत ल्याएका छन् ।

शुक्रबार, ०६ जेठ, २०७९, साँझको ०६:३७ बजे

सम्बन्धित खवर