दमकको शान्ति कोल्ड स्टोरेजले क्षतिको वीमा भुक्तानी नपाएको गुनासो

हजारौंको आलु कुहिँदा किसान मारमा, वीऊको मूल मासिने डर

 दमक/   झापाको दमकमा रहेको श्री शान्ति कोल्ड स्टोरेजले क्षतिको वीमा भुक्तानी नभएकोप्रति आपत्ती जनाएको छ । आइतवार कोल्ड स्टोरेज परिषरमा पत्रकार सम्मेलनको आयोजना गर्दै गएको असोज र कार्तिकमा आएको ठुलो हावाहुरी र पानीका कारण भएको वीऊ आलुको क्षतिको वीमादाबी भुक्तानी दिन अत्यन्त ढिलाई गरेको र अहिलेसम्म अजोड ईन्स्योरेन्स प्रा.लिले कुनै प्रतिक्रिया नदिएको भन्दै आपत्ती जनाएको हो ।
कोल्ड स्टोरेजका प्रबन्ध निर्दैशक सन्तोष अधिकारीले वीमा कम्पनीले ढिलाई गर्दा किसानको माग अनुसार कोल्ड स्टोरेजले क्षतिपूर्ति दिन नसकिएको बताए । उनले ढिलो भएपनि किसानले न्याय पाउने आश्वासन दिँदै वीमा कम्पनीलाई पटक पटक तागता गरिरहेको जानकारी दिए ।
गत असोज कार्तिकमा नियमित आएको बेमौसमी वर्षाका कारण स्टोरेजमा पानी पसेर आलुका बोरामा असर गरेकोले समयमा सुकाउन समेत नपाएर आलु कुहिएको सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए । उनले विपत्ती परेको बेला जोखिम कम गर्न नै वीमा गरिएको हुनाले वीमा कम्पनीले क्षतिपूर्ति दिन ढिला गर्नु र सुनुवाई नहुनु ब्यावसायीमाथिको विश्वासघात र लज्जाको विषय भएको बताए ।
झापाको दमकमा रहेको शान्ति कोल्डस्टोरको लापरवाहीले गर्दा किसानले बीऊका लागि राखिएको आलूको बीऊ कुहिएर नष्ट भएको भन्दै क्षतिपूर्तिको माग गर्दै आएका छन् । आलुको बीऊ सुरक्षित रुपमा कोल्डस्टारमा राखिए पनि दमक–४ मा रहेको शान्ति कोल्डस्टोरले उचित ध्यान नदिँदा आलुको बीऊ बोरामा नै कुहिएकोले उचित क्षेतिपूर्ति हुनुपर्ने पिडित किसानहरुको दावी रहँदै आएको छ ।
कृषकले ५० केजी आलु अटाउने बोरा संरक्षणका लागि कोल्डस्टोरमा भण्डारण गर्दा प्रति बोरा चार सय ४५ रुपैयाँ तिरेका थिए । सो स्टोरेजमा कमलबाहेक दमक र मोरङको माथिल्लो भेगका समेत किसानले आलुको वीऊ भण्डारण गर्ने गरेका छन् । स्टोरेजमा ४ हजारबढी वोरा आलुमा क्षति पुगेको बताइएको छ ।

के करणले भण्डारणमा राखिएको आलु कुहिन्छ ?
आलु भण्डारण गर्नुको मुख्य उद्देश्य आलुको गुण र परिमाण दुवैको संरक्षण गर्नु हो । खाने आलुको भण्डारण गर्नुको उद्देश्य आलुलाई। चाउरिएर, टुसाएर अथवा कुहेर सडेर तौल घट्न नदिने, रोग व्याधिबाट रक्षा गर्ने, पाक्ने गुण  तथा स्वादमा ह्रास आउन नदिने र लामो अवधिसम्म उपभोग योग्य बनाई राख्ने हो । त्यस्तै बीउ आलु भण्डारण गर्नुको उद्देश्य बीउ आलुलाई स्वस्थ राख्ने, उम्रने शक्ति कायम राख्ने, रोग व्याधिबाट बचाउने हो।

आलु एक जीवित वनस्पति हो । यसलाई ताजा अवस्थामा राख्नको लागि विभिन्न वातावरणीय अवस्थाले ठुलो भूमिका खेलेको हुन्छ । आलु भण्डारणमा प्रभाव पार्ने वातावरणीय तत्त्वहरूमा तापक्रम, वायु सञ्चार आद्रता, प्रकाश, आदि प्रमुख हुन भने अन्य कृषि कर्महरूमा खेती प्रविधि, जात, भौतिक क्षति, खन्ने तरिका, क्यूरिङ्ग, चिस्याउने प्रविधि, ओसार प्रसार, प्याकिङ आदि पर्दछ ।

 

सोमबार, ०६ असार, २०७९, दिउँसोको ०४:५३ बजे

सम्बन्धित खवर