सुन्तला बिक्रीबाट मात्र वर्षको रु १० लाख बचत
धनकुटा, ५ असार / ‘मानिसको जीवन आफैंमा अचम्मको छ । त्यस माथि समयले हाम्रो जीवनलाई थप अचम्भित पारि दिन्छ, यो भनाई धनकुटा नगरपालिका वडा नं २ का किसान जितेन्द्र राईका हो । जो १५ वर्ष अघिसम्म साँझ विहानको छाक टार्ने उपायको खोजी गर्न भौतारिनु पर्ने समस्याबाट जुध्ने गर्दथे । तर आज समय फेरिएको छ । उनी धनकुटा जिल्लाकै सफल कृषक भएका छन् । जोसँग आज सबैचिज छ । कमी छ त मात्र समयको ।
२०५६ सालमा विहे गरेर बाबुआमासंग छुट्टिए पछिका दिनहरु निकै कष्टप्रद रुपमा बितेको र त्यो समयले धेरै कुरा सिकाएको जितेन्द्र राई बताउँछन् । आफ्नो भागमा १८÷१९ रोपनी जमिन आए पनि के कसरी प्रयोग गर्ने भन्ने बारे कुनै तरिका थाहा नपाएका कारण अलमलमा परेका जितेन्द्रले कष्मेटिकको पसल पनि खोलेका थिए । तर पछि कृषि पेशामा आवद्ध भएपछि जीवनले बाटो भेटेको उनी बताउँछन् । आफ्नो भागमा आएको जमिनमा २०५७ सालमा सुन्तलाको विरुवा लगाएका जितेन्द्र राईले अहिले सुन्तलाको बिक्रीबाट मात्र वर्षको १० लाख भन्दा बढी रकम बचत गर्दछन् । विस्तारै जमिन थप्दै उनले अहिले आफ्नो मात्र २२ रोपनी जमिन पु¥याएका छन् भने थप १२–१३ रोपनी लिजमा लिएका छन् ।
जितेन्द्र राई धनकुटा जिल्लाकै प्रमुख सुन्तला किसान हुन् । आफूले उन्नत बीउ, आधुनिक प्रविधि प्रयोग गर्नुका साथै स्याहारमा ध्यान दिने गरेका कारण सुन्तलाले राम्रो आम्दानी दिइरहेको उनी बताउँछन् । कुनै बेला कामको खोजीमा भौतारिने जितेन्द्र राईको बारीमा अहिले बाह्रैमास दर्जनौं कृषिक मजदूरहरु काममा व्यस्त रहन्छन् । उनी आफैं पनि बिहानैदेखि अबेर रातीसम्म खेतबारीमै खट्छन् । जितेन्द्रले मूलतः सुन्तला खेतीलाई प्रमुखता दिए पनि उनी हाल फलफूल तथा तरकारी किसानका रुपमा जिल्लामा मात्र नभई पूर्वाञ्चल क्षेत्रमै परिचित छन् ।
बेमौसमी तरकारी खेती र विभिन्न प्रजातिका फलफूलले उनको बारी सधैं हरियो हुने गर्दछ । उनको बारीमा अनार, नास्पाति, एभोकाडोमात्र होइन स्याउको विरुवा पनि छ । ‘माटो अनुकूल नभएर होला अपेक्षित जस्तो चाहिँ छैन, उनी भन्दछन,–त्यही पनि हुन्छ कि भनेर ५० बोट स्याउ पनि लगाएको छु ।” त्यति मात्र होइन उनले पछिल्लो तीन वर्ष यता आफैंले फलफूल विरुवाको नर्सरी पनि सञ्चालन गर्दै आएका छन् । चिउरी बारी फलफूल विरुवा नर्सरी नाम दिएर सञ्चालनमा ल्याएको नर्सरीबाट ठूलो संख्याका उन्नत जातका कलमी गरिएका विभिन्न फलफूलका विरुवा बिक्री हुने गरेको छ । आफूले विभिन्न जातका ५३ हजार विरुवा उत्पादन गरेको र ती विरुवाहरु जिल्लाकै विभिन्न स्थान सहित अन्य जिल्लाहरु ईलाम, पाँचथर, भोजपर, संखुवासभा तथा पश्चिमको अछाम र हुम्लासम्म पुगेको जितेन्द्र बताउँछन् । सबै गरेर वार्षिक १२(१३ लाख रुपैयाँ जति बचत हुने गरेको र सामाजिक प्रतिष्ठा पनि बढ्दै गएको बाट आफूलाई निकैखुशी लाग्ने गरेको जितेन्द्र बताउँछन् । उनलाई सरकारले चालु आर्थिक वर्षमा राष्ट्रपति कृषक परस्कार पनि प्रदान गरेको छ ।