चिया बगानमा मजदुर अभाव

इलाम /   दुई पात एक सुइरो हातैले टिप्नुपर्ने ‘अर्थोडक्स’ चियामा मजदुर अभाव भएपछि हँसिया समेत प्रयोग हुन थालेको छ। रोप्नेदेखि टिप्ने तथा काँटछाटका लागि दक्ष जनशक्ति आवश्यक भएपनि मजदूर अभावले किसानले हँसियाको प्रयोग थालेका हुन्। बगानमा मजदुर नपाउँदा चिया क्षेत्रको उत्पादन प्रशोधन र बजारीकरणको समस्या हुँदै आएको छ।
अर्थोडक्स चिया उत्पादन हुँदै आएको इलाममा चिया बगानमा काम गर्ने मजदुर अभावले किसानले चिया टिप्न हँसियाको प्रयोग बढाउँदैछन्। सूर्योदय नगरपालिका–८ का प्रेमसागर भट्टराईले चिया बगानमा काम गर्ने मजदुर नपाएका कारण छिटो चिया टिप्नका लागि हँसियाको प्रयोग गर्दै आएको बताए।
प्रत्येक सात दिनको फरकमा टिप्नु पर्ने चिया किसानले मजदुर अभावका कारण १५ दिनको फरकमा टिप्दै आएका छन्। हरेक किसानको घरमा चियारोपण भएको र युवा अध्ययन र वैदेशिक रोजगारमा गएपछि मजदुर अभाव भएको हो। जनसंख्या वृद्धि नहुनु, गाउँका युवा उच्च शिक्षा र रोजगारका लागि विदेशिनु जस्ता कारण याे क्षेत्रमा मजदुर अभाव भएको हो। ‘सात दिनमा टिप्ने चिया १५ दिनमा टिप्न सुरु गरे पनि एक दुई दिनमै सकिँदैन’ भट्टराई भन्छन्,‘ हरेक किसानको घरमा चिया खेती भएकाले हातले चिया टिप्दा हुर्किएर बित्ने भएकाले छिटो चिया टिप्न हँसियाको प्रयोग भएको हो।’
मजदूर अभावले चियाको कटिङ्ग, प्लकिङ्गमा गुणस्तर नहुँदा तयारी चिया पनि गुणस्तरीय उत्पादन हुन छोडेको छ। दूईपात एक सुइरो चिया टिप्नुपर्नेमा हँसिया प्रयोग गरेपछि डाँख्ला पात सबै संकलन हुँदा चियाको गुणस्तर खस्किँदै गएको हिमालय रेञ्ज चिया प्रशोधन उद्योगका प्रबन्धक सचिन गोम्देनले बताए। टिपाइ नै राम्रो नभएपछि तयारी चिया पनि राम्रो नभएकाले उत्पादन पनि राम्रो नभएको उनको भनाइ छ।
दुई पात एक सुइरो हुनु पर्नेमा किसानले सुइरो बिनाको दुई हात लामो चिया लिएर आउने गरेका छन्, उनी भन्छन्, ‘चियाको टिपाइ राम्रो नभए तयारी चियाको बजारीकरणका लागि समस्या छ।’
चिया बगान र उद्योग स्थापना हुने क्रम बढे पनि चिया क्षेत्रका दक्ष कामदार पलायन भएपछि इलामको चिया क्षेत्रमा समस्या बढ्दो छन्। चिया रोप्नेदेखि टिप्ने तथा काँटछाँटका लागि दक्ष जनशक्ति आवश्यक भए पनि मजदुर अभावले चिया क्षेत्रको वर्षौदेखि उत्पादन,प्रशोधन र बजारीकरणको समस्या अझै हटेको छैन।

बुधबार, ०४ साउन, २०७९, दिउँसोको ०२:२४ बजे

सम्बन्धित खवर