सलकपुरमा एक महिलाको रहस्यमय मृत्यु

दमक, ४ असोज/ मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

२२ वर्षीय रोजीना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव लोबेडमा घोप्टो पारिएको अवस्थामा फेला परेको र शरिरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले हत्या गरेको आरोप लगाएका छन् ।

नातिनीको शंकास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यम रहेकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए । ‘नातिनीको शवको प्रकृति हेर्दा घटना रहस्यमय रहेको छ । घाँटीमा सल बाँधिएको छ । तर, शव लोबेडमा घोप्टो अवस्थमा फेला परेको छ । अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चोटपटक लागेको छ ।

‘नातिनीको हत्या गरेपछि आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ,’ हजुरबुवा यामबहादुरले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनु पर्दछ ।’ मृतक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो । रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन् ।

माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्माटम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए । ‘हामीले शवलाई पोस्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पोस्मार्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

सोमबार, ०४ असोज, २०७८, साँझको ०५:०१ बजे

सम्बन्धित खवर