पूर्व–पश्चिम राजमार्ग समयमा मर्मत नहुँदा सवारी दूर्घटनाको जोखिम

दमक, ४ असोज/ समयमा मर्मत नहुँदा झापाको पूर्व–पश्चिम महेन्द्र राजमार्गमा खाल्डा पर्न थालेको छ । जसका कारण सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।
दमक र बिर्तामोडबीचको सडकका खाल्डा गनी साध्य छैन । खाल्डोका कारण चालकलाई आफ्नो ज्यान र सवारीसाधन जोगाउन हम्मे–हम्मे हुन्छ । ।
रतुवा पुल, पाडाजुँगी, सीतापुरी, केर्खा लगायतका क्षेत्रमा सयौं खाल्डा छन् । दूधे, झिलझिले, माईधार, सुरुङ्गा, लक्ष्मीपुर क्षेत्रमा पनि त्यत्तिकै खाल्डा छन् । कनकाई, रतुवा, घाग्रा जस्ता साँघुरा पुलमा पनि खाल्टा परेका छन् । स्थानीय भन्छन्– कतिपय खाल्डा त एक फिट गहिरा र तीन फिट चौडा बनेका छन् । लक्ष्मीपुर ट्राफिक पोस्ट अगाडिको एउटा खाल्डो एक फिटभन्दा गहिरो भएको स्थानीय प्रकाश उप्रेतीले बताए ।
हुँइकिएर आएका यातायातका साधनको टायर खाल्डामा जमेको पानिमा पर्दा त्यहाँको पानी उछिट्टिएर पैदल यात्रुलाई लाग्नु अर्को पीडा पनि उत्तिकै छ । खाल्डाका कारण मोटरसाइकल चालक पनि हैरान छन् । मोटर साइकलको सकअप, रिङ, डिस्क र टायर बिग्रन थालेको चालक बताउँछन् ।
कनकाई नदीको पुल ७०३ मिटर लामो छ । यो पुल २०२८ सालमा बनेको हो । पुलको पश्चिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन् । सडक विभागले यी खाल्टा पुर्न वा मर्मत गर्न कुनै चासो नदेखाएको सडक किनारका स्थानीयले बताए ।
बरु जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सडकका खाल्डा पुरेर सम्भावित दुर्घटनाबाट यातायातका साधन जोगाएको छ । सडक विभागले राजमार्गमा खाल्डा नपरेको दावी गरेपनि स्थानीयले घरै अगाडिको खाल्डा बिभागले पुरेकोभन्दा पत्याउदैनन् ।
तर, सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले कनकाई पुल लगायत राजमार्गका खाल्डा चाँडै मर्मत गर्ने बताएका छन् । कनकाई पुल पश्चिम क्षेत्रको सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।
सडक तथा पुल मर्मतका लागि गत आर्थिक बर्षमा १० करोड रुपैयाँ बजेट आएको उनले जानकारी दिए । कोरोना महामारीका कारण लामो अवधिसम्म निषेधाज्ञा जारी हुँदा राजमार्गमा यातायातका साधन ठप्प थिए ।
पुल तथा सडकको मर्मत सम्भार गर्ने त्यस्तो उपयुक्त अवसरको समेत सडक डिभिजन कार्यालयले सदुपयोग नगरेको सवारीधनी तथा चालकहरुले गुनासो गरेका छन् ।

सोमबार, ०४ असोज, २०७८, साँझको ०६:५४ बजे

सम्बन्धित खवर