सुन लुट्न धरानमा वृद्धा महिलाको हत्या, दुई जना पक्राउ

   विराटनगर / सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक्लै बस्दै आएकी ६५ वर्षीय पूर्णिामाया राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरी प्रहरीले पक्राउ परेका आरोपीहरूलाई दुई बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ परेका आरोपीको नाम प्रहरीले गोप्य राखेको छ ।
पत्रकार सम्मेलन गरी घटनाको सम्पूर्ण जानकारी गराउने सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए । ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ । ‘वृद्धा महिलाले हत्या गरेपछि कानमा लगाएको सुन लिएर गएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लुटेको त्यो सुन पनि प्रहरीले बरामद गरेको छ ।’
२९ भदौमा वृद्धा महिलाको हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । हत्या गरेको पाँच दिन पछि प्रहरीले घटनामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
वृद्धा महिलाको चार छोरी र एक छोरा रहेका छन् । छोरीहरूको विवाह भएर गएको र छोरा पोखरामा बस्दै आएका छन् । श्रीमान् दुई वर्ष अगाडी मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मङ्गलबार, ०४ असोज, २०७९, साँझको ०५:५८ बजे

सम्बन्धित खवर