चारआली जंगलबाट भरुवा बन्दुक, खुकुरी र बारुद फेला

झापा , ५ पुष/ नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका-१३ चारआली जंगलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ।
नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र सोमबार बिहान पौने ८ बजे दुई जना व्यक्ति बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुगेको थियो। सेनालाई देखेपछि ती व्यक्ति त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको नयाँ श्रीनाथ गण प्रमुख सेनानी अमरजंग थापाले जानकारी दिए।
‘सेनालाई देखेपछि बन्दुकसहितको सामान झाडीमा फालेर ती व्यक्तिहरू भाग्न सफल भयो,’ प्रमुख सेनानी थापाले भने, ‘जंगल क्षेत्रमै सेनाको ब्यारेक रहेको र बेला बेला ब्यारेकभित्रै बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जंगलभित्र गस्ती बढाएको हो।’
प्रमुख सेनानी थापाका अनुसार जंगलमा शिकार खेल्न हातहतियारसहित सिकारी आउने गरेको र भागेका व्यक्ति पनि सिकारी नै भएको उनले बताए। बरामद गरिएको बन्दुकसहितको सामग्रीहरू वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगिसकेको उनको भनाई छ।

 

सोमबार, ०५ पुष, २०७८, दिउँसोको १२:२० बजे

सम्बन्धित खवर