काँकडभिट्टा – दमकमा राजमार्ग अतिक्रमण गरी बनाईएका संरचना हटाइने

दमक /  झापामा पूर्वपश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा ६ वटा नगरपालिकाहरु क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ ।

सडकको सीमा मिचेर बनाइएका घर, टहरा लगायतका संरचना अबिलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै नगरपालिका तथा गाउँपालिकालाई पत्राचार गरिएको सडक कार्यालयले जनाएको छ । तर अहिलेसम्म स्थानीय तहले राजमार्गको अतिक्रमण हटाउने कदम चालेका छैनन् । एसियाली राजमार्ग समेत निकट भविष्यमा निर्माण हुने र अहिले अतिक्रमणका कारण सवारी दुर्घटनामा वृद्धि भएको कारण अतिक्रमण हटाउन निर्णायक पहल गरिएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले बताए ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा बुझाउँदा हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने प्रमुख यादवले बताए ।

सबै सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भए तापनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको सडक कार्यालयका प्रमुख यादवको आरोप छ । उनले राजमार्ग ५० मिटरको हुने र छेउका नम्बरी जग्गाधनीले समेत क्रंक्रिटको संरचना बनाउँदा सडकको सीमाबाट ६ मिटर टाढा मात्र बनाउनु पर्ने नियम रहेको जानकारी दिए ।

झापामा दमक नगरपालिकामा सबैभन्दा बढी सडक अतिक्रमण गरेर बनाइएका टहरा तथा खुद्रे पसल रहेका छन् । उनले कनकाईको सुरुङ्गा बजार, विर्तामोडको बजार क्षेत्र र मेचीनगरको चारआली क्षेत्रमा अतिक्रमित संरचना छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सडक कार्यालयबाट अनुरोध आएमा सुरक्षाकर्मी लगाएर अतिक्रमण हटाउन प्रशासन तयार रहेको बताए ।

मङ्गलबार, ०७ माघ, २०७६, दिउँसोको ०४:४५ बजे

सम्बन्धित खवर