होलीको इतिहास र आजको सान्दर्भिकता

 

     संस्कृतिका नाममा तडक भडक र भड्किलो बनाउनु चाहिँ राम्रो होइन । जे भए पनि होलीमा नाचगान गर्ने, रङ लगाउने, आगो ताप्ने लगायतका कार्य गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । होली पर्वलाई जबरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरू हस्तान्तरण गर्नका लागि पनि पर्वहरू भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यवस्थित रुपमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ । 


विमल लामिछाने

फागु पूर्णिमा रङहरूको पर्वका रुपमा मनाइने होली पर्व पनि हो । बसन्त ऋतुको आगमनसँगै रङ खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आइएको पाइन्छ । आपसमा रङहरू दलेर खुशीयाली साटासाट गरेर मनाइने पर्वमा जसरी विभिन्न रङहरूको महत्व रहन्छ, त्यसरी नै समाजमा सबै जाति–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसी सद्भावको पर्व–हालीको रौनक विभिन्न क्षेत्रमा सुरु भइसकेको छ । विभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव सुरु भएको छ ।
यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाउनु पर्ने हो, तर अहिले केही भड्किलो भएर जाँदैगरेको अनुभूती हुन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकाले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरूमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हानेर रङ्गिन बनाउने र बन्ने गरिन्छ ।
होली पर्वको दिन आफ्नो घरमा शत्रु नै आए पनि सम्मान र स्वागत गर्नुपर्ने किम्वदन्ती रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवन्त बनाउन र दैनिक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ । वर्षभरि दैनिक जीवनमा रहे–बनेका विभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ होलीले ।

तराइमा होली 
पुरातन संस्कार र पौराणिक ग्रन्थहरूको इतिहासलाई हेर्ने हो भने त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् विष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयम्ले धेरै प्रयास गरे । तर, केही गर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसी जो हिरण्यकस्यपुकी बहिनी थिइन्, उनलाई प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा होमिइन् तर आगोले प्रल्हाद केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान् विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ घोलेर एक अर्कामाथि लगाइदिने चलन रहेको धर्मग्रन्थहरूमा बताइएको छ । यसरी असत्यमाथि सत्यको विजयस्वरूप होलिकादहन उत्सवका रूपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन तराई र भारतमा हर्सोल्लासपूर्वक होली पर्व मनाइन्छ । यहीबाट पौराणिक घटनाकी होलिका नामककी राक्षसीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ ।
रङको प्रयोग 
होलीमा रातो, हरियो, पहेँलो, निलो सहित बाँकी सबै प्रकारका रङको प्रयोग गरिन्छ । रातो टिका लगाएर खुसियाली मनाइन्छ । आजको दिनलाई पर्व बिदाका रुपमा सार्वजनिक बिदा दिने गरिन्छ । काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पूर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकाले त्यही अनुसार बिदा दिने चलन छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बीष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयङ््कर ठुलो शवलाई गोपालबासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङहरूको जात्रा गरेको र खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिक ग्रन्थहरूमा गरिएको पाइन्छ । पुराणहरूमा पनि यही उल्लेख गरिएको पाइन्छ । विशेषगरी नारदपुराण र भविष्य पुराणमा होलीको प्राचिनताबारे उल्लेख गरिएको छ ।
होलीको दिन युवायुवती गीत गाउँदै नाच्दै रङलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ लगाउँदै हिँड्ने गर्दछन् । होलीमा प्रयोग गरिने नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि विष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिँदै आउने धार्मिक विश्वास रहेको छ । पहेँलो रङ श्रीकृष्णको प्रिय रङ हो । रातो रङलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ । शक्तिको प्रतिक भएकाले युद्ध विजय र खुशीमा वा महोत्सवहरूमा पनि रातो रङ नै प्रयोग गरिएको पाइन्छ । यसलाई ऊर्जा र प्रितिको प्रतिक रङ पनि भनिन्छ । त्यही भएर प्रायः देवताहरूलाई रातो रङका पहिरनमा देखाइन्छ । महिलाले पनि रातो रङ बढी मन पराउँछन् ।

सिंहसार्थवाह र सिंगै राँगाको मासु 
उपत्यकाको छुट्टै कथाअनुसार परापूर्वकालमा थबहिल(ठमेल) निवासी प्रख्यात व्यापारी सिंहसार्थवाह आफ्ना ७ सय व्यापारीका साथमा तिब्बतको ल्हासा पुगेर फर्कने क्रममा ब्रह्मपुत्र नदी पार गर्न लाग्दा अति सुन्दरी केटीको भेषमा राक्षसनीहरूले प्रेमजालमा फसाउँछन् र राति तिनले आहारा बनाउने योजना गर्दछन् । तर सिंहसार्थवाह मात्र करुणामय भगवान्को प्रतापले वायुपंखी घोडामा बसी काठमाडौँ पुग्न सक्षम हुन्छन् । यही खुसियालीमा प्रत्येक वर्ष वसन्तपुर कुमारीघरनेर चीर उठाई हर्षोल्लासपूर्वक सप्ताहव्यापी होल
मिथिला होली 
मिथिला क्षेत्र (जनकपुर) परिक्रमाको सातौँ दिन फागुन शुक्ल सप्तमीका दिन राम र सीताका खुशीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ । त्रेतायुगको सो पर्वको स्मृति गर्दै होली खेल्न बिहान सबेरै ध्रुवकुण्डबाट रंग अबिर खेल्दै ८ किलोमिटरको यात्रासहित जनकपुरको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चनवनमा होलीको सुरुआत गरिन्छ । मिथिलावासीका लागि दशैँतिहार भन्दा पनि ठूलो चाड होली हुन्छ । कञ्चनवनलाई सीता र रामबीच यौनक्रिया भएको पवित्र स्थलका रूपमा लिने गरिन्छ ।
थकालीको तोरन्ल्ह होली 
इष्टदेवता र पितृको स्मरण गर्दै हिमालपारीको जिल्ला मुस्ताङमा आदिवासी थकालीले मनाउने तोरन्ल्ह प्रत्येक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । थकालीभित्रका चार चन अर्थात् शेरचन, तुलाचन, हिराचन र भट्टचनले आआफ्ना इष्टदेवताको विशेष पूजा र तारो खेल्दै तोरन्ल्ह मनाइन्छ ।
ग्याल्बो ल्होसार होली
फागु प्रतिपदादेखि धान, जौ, मकै, गहुँको जमरा भगवान् बुद्धको मूर्तिमा उमारेर थालिने ग्याल्बो ल्होसार होली पूर्णिमासम्म विविध पूजा तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । गहुँ, जौ, चामल वा अन्नको पिठो चिनी र घिउमा मुछी बनाइएको खाप्से– एक प्रकारको भिर रोटी फापर, कोदो आदि पिठोमा मासु हालेको पानीरोटी, तरुल भ्याकुर, सख्खरखण्डलगायतका कण्दमूल, सुन्तला, बदाम, नरिवलजस्ता फलफूल र माछामासुका परिकार खाने–खुवाउने र विविध झाँक्री नृत्यसहित ल्होसार मनाइन्छ । फागुपूर्णिमाका दिन महायानी गुम्बामा आयोजित भव्य सांस्कृतिक झाँक्री, पूजाका साथ गुरु रिम्पोछेबाट आशिर्वाद र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सहभागीलाई चिनी, सख्खर, महको सर्बत, दूध, दही, नौनी मिलाएर बनाएको कारसुम वा तामा, फलाम, सुन, चाँदी पवित्र रत्नको सर्बतका साथ गाता ओढाएर आकाशमा पिठो छरेर फागुपूर्णिमा मनाइन्छ ।

प्रेमको मुख खोल्ने दिन 
नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागू पूर्णिमा हो । यस दिन युवक–युवती अबिर, रंग खेल्दै ठूलो रौनकका साथ होली खेलिन्छ । नेपालमा भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस अंग्रेजी शिक्षा र क्रिश्चियन संस्कारसँगसँगै प्रवेश भएको हो । अझै पनि गाउँमा भ्यालेन्टाइन डे के हो थाहा छैन भने सहरी क्षेत्रका शिक्षित युवक–युवतीमा प्रेम दिवस भ्यालेन्टाइन्स डेमा कार्ड आदानप्रदान गर्दै मनाउने क्रम व्यापक बन्न पुगेको छ । यस दिन प्रेमभावना व्यक्त गर्न नसकेका युवक–युवतीले पनि आफ्नो भावना पोख्ने, इमेल, च्याट र अन्य सञ्चारमाध्यमबाट मन माझ्ने र प्रेमी–प्रेमिका नयाँ ठाउँ घुम्न जाने गर्छन् । कतिपय युवक–युवती भ्यालेन्टाइन्स डे(प्रेम दिवस) किन मनाइन्छ भन्ने कुरो नबुझेरै पनि आफूलाई आधुनिक देखाउन देखासिकीमा यसको पछि लागिरहेका पाइन्छन् । तर, जुनसुकै पर्व पनि जानेर–बुझेर अनि देश सुहाउँदो भए मात्र स्वीकार्नुपर्छ भन्ने आजको माग हो ।
विकृत बन्दै होली 
होली पर्वका नाममा केही वर्षयता भित्रिँदै गरेका विवmृतीहरूले भने संस्कृतिका हिमायतीहरूलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाइलो गर्ने बहानामा भाङ्ग, धतुरोका विभिन्न परिकार खाने, शरीरमा विभिन्न प्रकारका रङ–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङहरू प्रयोग गर्ने तथा जबरजस्ती रङ दल्ने, लोला हान्ने प्रवृति पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ ।
कम्तिमा होलीले दिएका सन्देशहरूलाई हामीले दैनिक जीवनमा अवलम्बन गर्न सक्याँै भने यस पर्वप्रतिको सच्चा अनुशरण ठहरिनेछ । विभिन्न समुदाय बिच चिसिन खोजेको सम्बन्ध बलियो पार्न पनि होली पर्वले हामीलाई सचेत र सजग गराइरहेको छ ।

विज्ञानले भन्छ 
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडि केही वैज्ञानिक कारणहरू समेत रहेका छन् । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोको अन्त्य भई बसन्त ऋतुको न्यानो सुरु हुने चरणमा छ । आयुर्वेदका अनुसार एउटा ऋतु सकिने र अर्को ऋतु लाग्ने समयमा मानव शरीरमा आलस्य पैदा हुने र विभिन्न सङ्व्रmमणका कारण बिरामी हुने सम्भावना अत्याधिक हुन्छ । शिशिर ऋतुको चिसोका कारण शरीरमा कफको मात्र बढेको हुन्छ । शरीरमा बढेको कफ बसन्त ऋतुमा तापव्रmम बढ्ने हुँदा शरीरबाट कफ बाहीर निस्कने व्रmम सुरु हुन्छ भनिन्छ । होलीमा छालाको स्याहार भने अनिवार्य सर्त हो ।

निष्कर्ष 
होली पर्वका आफनै महत्व र इतिहास छन् । सबैले आप्mनो संस्कार र रीति अनुसार होली पर्व मनाउनु सान्दभिक हुन्छ । तर संस्कृतिका नाममा तडक भडक र भड्किलो बनाउनु चाहिँ राम्रो होइन । जे भए पनि होलीमा नाचगान गर्ने, रङ लगाउने, आगो ताप्ने लगायतका कार्य गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । होली पर्वलाई जबरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरू हस्तान्तरण गर्नका लागि पनि पर्वहरू भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यवस्थित रुपमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ ।

बिहिबार, ०७ चैत, २०७५, बिहानको ०९:२८ बजे

सम्बन्धित खवर