गठबन्धनले तन मिलाएझै मत र मन मिलाउन सक्यो भने एमाले संकटमा पर्ने निश्चित, यस्तो छ मतको जोडफल

 दमक /    स्थानीय चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको तीन सातापछि सत्ता साझेदार दलहरुले बुधबार महानगर र उपमहानगर पालिकाको भागबण्डा टुंग्याए । गएको १७ चैत २०७८ मा गठबन्धनका दलहरुले स्थानीय चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो ।

तर भागबण्डा मिल्न नसक्दा महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउने भाका तीन पटक सारिएको थियो । प्रधानमन्त्रीको कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको आआफ्नो दाबीका कारण महानगर र उपमहानगरको सकस लम्बिदै गइरहेको थियो ।

यही सकसलाई लक्षित गर्दै मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु दलले आफ्नो हैसियत भन्दा धेरै मागेका कारण भागवण्डा मिल्न नसकेको दिक्दारी आफ्नो पार्टीको बैठकमा पोखेका थिए । तर एमालेकै जित रोक्न भएपनि गठबन्धन त गर्नैपर्छ भन्ने निष्कर्षमा सत्ताधारी दलहरु थिए ।

एक साता अगाडि (३० चैतमा) विगतको चुनावमा पाएको नतिजा र वर्तमान अवस्थाका आधारमा भागबण्डा गर्ने मापदण्डमा सहमति जुटाएको थियो । तर पनि सकेसम्म धेरै भाग लिने दलहरुको अडानका कारण जुट्न नसकेको भागबण्डा अन्ततः बुधबार टुंगो लाग्यो ।

गठबन्धनका दलहरूबीच जुटेको सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्जमा मेयरको उम्मेदवार तय गर्नेछन् । महानगरको उपमेयरमा कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरमा उम्मेदवार उठाउनेछन् । माओवादी केन्द्रले ललितपुर, एकीकृत समाजवादीले काठमाडौं र जसपाले विराटनगरमा उपमेयरको उम्मेदवार उठाउनेछन् ।

गठबन्धनले उपमहानगर पालिकाको भागबण्डा पनि टुंगो लगाएको छ । ११ उपमहानगरमध्ये कांग्रेसले सात, माओवादी केन्द्रले दुई, एकीकृत समाजवादी र जसपाले एक/एक ठाउँ पाएको छ । कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगर पालिकाको नेतृत्व पाएको छ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकामा मेयर उठाउनेछ । एकीकृत समाजवादीले हेटौडा र जसपाले जनकपुरको मेयरका उम्मेदवार चयन गर्नेछ ।

उपमहानगरपालिकाको उपमेयरमा कांग्रेसले जितपुर सिमरा, घोराही, हेटौडा र जनकपुर पाएको छ । माओवादी केन्द्रले धरान र धनगढी, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुलसीपुरमा उपमेयरको उम्मेदवार उठाउनेछ । जसपाले कलैया र नेपालगञ्जमा उपमेयरको उम्मेदवार तय गर्नेछन् ।

भागबण्डामा परेको यी उम्मेदवारलाई गठबन्धनमा आवद्ध अन्य दलको समर्थन रहनेछ । २०७४ को चुनावको नतिजालाई आधार मान्ने हो भने पाँच दलले साझा उम्मेदवार उठाउँदा एमाले उम्मेद्वार दबावमा पर्ने देखिन्छ । कतिपय स्थानमा एमाले उम्मेदवार ठूलो मतान्तरले पछाडि पर्नेछन् भने कतिपय स्थानीय तहमा रोचक प्रतिस्पर्धा हुनेछ ।

०७४ को चुनावमा कांग्रेसका उम्मेद्वार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पछि पार्दै एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको मेयर जितेका थिए । त्यसबेला शाक्यले ६४,१९३ मत पाउँदा जोशीले ४५,२६९ मत पाएका थिए ।

यसपटक गठबन्धन हुँदा एमालेसँग मतान्तर पाँच हजारमा झर्नेछ । ०७४ मा पाएको गठबन्धनको मत जोड्दा ५९,४७४ हुन्छ । एमालेबाट अलग एकीकृत समाजवादीले पाउने मतले गठबन्धनलाई लाभ र एमालेलाई नोक्सान पुग्ने सहज अनुमान लगाउन सकिन्छ ।

ललितपुर महानगरमा यसअघि पनि कांग्रेसले नै जितेको थियो । त्यसबेला एमाले उम्मेदवार कांग्रेससँग झिनो मतान्तरले पराजित भएको थियो । तर यसपटक गठबन्धन हुँदा एमाले धेरै पछि पर्नेछ । ०७४ को चुनावी हिसाब गर्ने हो भने गठबन्धनसँग ४०,१७८ मत छ भने एमालेसँग २७,६७२ मत छ ।

विराटनगरको हिसाब पनि त्यस्तै छ । एमालेको मत १७,३२१ छ भने गठबन्धनको ३७,३२१ मत छ । ०७४ को चुनावमा पनि कांग्रेसले नै विराटनगर महानगरपालिका जितेको थियो ।

गत चुनावमा वीरगञ्ज महानगरपालिकामा मेयरका लागि परेको मत हेर्ने हो भने गठबन्धन र एमालेबीचको मतान्तर आकाश पातालको फरक हुन्छ । फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भइसकेकाले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुले पाएको मत जोड्दा ५३,५९५ हुन्छ । जबकी एमालेले उठाएको मेयरका उम्मेद्वार बसरुद्धिन अन्सारी त्यो चुनावमा ८,६८८ मत पाएका थिए ।

भरतपुर महानगरपालिकामा अघिल्लोपटक पनि गठबन्धनबाट रेनु दाहालले मेयर जितेकी थिइन् । अहिले पनि त्यो गठबन्धन कायमै रहेको छ । त्यसबेला एमाले भन्दा ५५९ मत बढी ४३ हजार ४८३ मत गठबन्धनले पाएको थियो । पोखरा महानगरमा भने गठबन्धन पछाडि छ । गठबन्धनका दलहरु मिल्दा पनि १३ हजार अन्तरले एमालेले मेयर जितेको थियो । एमालेका उम्मेदवार मानबहदुर जिसीले ६० हजार ३७६ मत पाउँदा गठबन्धनबाट उम्मेद्वार बनेका रामजी कुँवरले ४९ हजर ५८६ मत पाएका थिए ।

उपमहानगरपालिकाहरुमा गठबन्धन र एमालेले ०७४ को चुनावमा पाएको अंकगणित पनि महानगरपालिकासँग मिल्दो छ । त्यो चुनावमा केही स्थानमा मात्रै कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । तर यसपटक सबै ठाउँ तालमेल भएकाले गठबन्धनका उम्मेदवार उत्साहित हुनु स्वभाविक हुनेछ । तर त्यो उत्साह जोगाउन गठबन्धनलाई ठूलो चुनौती भने कार्यकर्ता मनाउन सक्नु हो । किनकि जतिले टिकट पाएका छन्, त्यो भन्दा ठूलो संख्यामा नपाउने पंक्ति तयार भएको छ ।

बिहिबार, ०८ बैशाख, २०७९, बिहानको ०७:४२ बजे

सम्बन्धित खवर