मुलढोका

डन्डीराज घिमिरे

आश्चर्य भयो हजुर !
मेरो घरको मुलढोका
झ्यालबाट छिर्यो

पत्याउनै गाह्रो भो
आफैंलाई सोध्छु
यो कसरी सम्भव छ ?
अप्राकृतिक भएन ?
सुर्य पूर्वबाट उदाउँदैन ?

अनुत्तरित म
मुलढोका बिहिन घरको
मुलखाबो समाउदै
निधार खुम्च्याएर
क्षितिज नियाल्छु

घर ह्वाङ्ग छ
अटल आस्था बोकेको
घरको शिर मुलढोका
आफैं षड्यन्त्रको सिरानीमा
लम्पसार देख्छु

झ्यालको बैशाखी टेकेर
प्रकृतिको विरुद्धमा
नेप्टो थेप्चो चेप्टो हुँदै
निर्लज्ज छिरेपछि
कसरी ठडियोस्
झ्याल संगै तेर्सिएको छ
मेरो घरको मुलढोका

मुलढोका बिहिन
ठिङ्ग उभिएको मुलखाबोबाट
आसाको त्यान्द्रो समाएर
अब ढलेको बिश्वास उठाउनु छ

धमिराको दिवाल भित्र लुकेको
बिकृत काटीकब्जाको अभिमान
ढोके हुक्के चम्चे चिलिमे अवसरवादी
चुकुल र तालाचाबी फालेर
मुल खाबोमा जोडेर
मुलढोकालाई ठड्याउनु छ
स्वाभिमानका साथ उभ्याउनु छ ।

मङ्गलबार, ०९ बैशाख, २०७७, दिउँसोको ०३:३८ बजे

सम्बन्धित खवर