प्रदेश-१ मा ‘ भारी’ वर्षा

७ असार, काठमाडौँ / मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुकै प्रभावले आज प्रदेश एकमा ‘ धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू तीन प्रदेशमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ का एक/दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित भारी वर्षा र प्रदेश १ का एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

सोमबार, ०७ असार, २०७८, बिहानको ०७:५८ बजे

सम्बन्धित खवर