कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

हलेसी/ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा गर्ने भएको छ ।

विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगरपालिकाले नै परीक्षा सञ्चालन गर्ने भएको हो । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मुल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ।

नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए।

कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ। परीक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परीक्षा नियन्त्रक बनाएर परीक्षा सञ्चालन गरिने छ भने उत्तर पुस्तिका पनि नगरपालिकाकै मातहतमा परीक्षण हुने उनको भनाइ छ।

राईले भने, ‘विद्यालय आफैले प्रश्नपत्र बनाउने, आफै परिक्षण गर्ने, यसो हुँदा कुन विद्यालयका विद्यार्थीको अवस्था कस्तो? त्यहाँको पठनपाठन कस्तो छरु भनेर थाहा नहुने हुँदा यो वर्ष देखि सबै विद्यालयको परीक्षामा नगरपालिकाले प्रश्नपत्र बनाउने र परिक्षण पनि गर्ने गरी तयारी थालिएको छ।’ नगर शिक्षा समितिले निर्णय गरेसँगै अहिले कार्यविधि निर्माण भइरहेको छ।

अब आर्थिक वर्ष २०७९/०८० को बजेटमा यस कार्यक्रमलाई समावेश गरेर सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरपालिकाको मातहतमा हुने उनको भनाइ छ । यसरी परीक्षा सञ्चालन गर्दा नतिजा राम्रो ल्याउनका लागि विद्यालयहरु बिच प्रतिस्पर्धा हुनेछ। जसले गर्दा शैक्षिक सुधारमा थप टेवा पुग्ने नगर शिक्षा समितिको निष्कर्ष छ। गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले अंग्रेजी माध्यमबाट अध्ययन गराउने योजनाका साथ यो वर्षबाट माध्यमिक विद्यालयको कक्षा १ बाट सुरु गर्ने निर्णय समेत गरेको छ। जुन योजना कार्यन्वयनकालागि अहिले छलफल भइरहेको छ।

मङ्गलबार, ०७ असार, २०७९, साँझको ०६:१३ बजे

सम्बन्धित खवर