शीर्ष नेता जन्माउने जिल्लाको गाउँ अझै अँध्यारो

२० वर्ष पछि धकेलियो फाकफोकथुमको विकास
भगीरथ भण्डारी

भगीरथ भण्डारी
   इलाम/  इलाम जिल्ला बाहिरी नजरमा सुगम जिल्ला भनेर चिनिन्छ । नचिनियोस पनि कसरी इलाम भन्ने वित्तिकै सबैको मन ‘आहा’ हुने गर्दछ । इलाम पर्यटकीय दृष्टिमा मात्र राम्रो होईन राजनैतीक रुपमा पनि कहलिएको जिल्ला हो । जुन जिल्लाबाट चुनाव जितेका नेता देशको उच्च ओहदामा पुगेका छन । सोही जिल्लाबाट जितेका नेता प्रधानमन्त्री पनि भए, दुई पटक सम्म सभामुख पनि भए । त्यसैले पनि जिल्लालाई दुर्गम भन्दा पत्याउँदैनन । तर इलामको पश्चिमी क्षेत्रमा अवस्थित फाकफोकथुम गाउँपालिका अहिले पनि दुर्गम पालिकामा परिचित छ । जहाँ हिउँदमा गाउँ गाउँ यातायात पुगे पनि वर्खाको समयमा यातायात सम्झिनुको विकल्प छैन ।

अहिलेसम्म न त सबैले सरकारी योजनाको विजुली पोल नै देख्न पाएका छन नत खोलामा बनेको पक्कि पुल नै । कालोपत्रे सडकको त कल्पनै नगरौ त्यो त हुन्छ भन्ने सोच्ने अवस्थै छैन । जुन ठाउँले पटक पटक निर्वाचनमा देशको उच्च पदमा रहेर चलाउने नेता जिताएर पनि दुःख भोगिरहेका छन त्यहाँका जनता । त्यही क्षेत्रबाट २५ वर्ष देखि निर्वाचन जितिरहेका छन सुवासचन्द्र नेम्बाङ् । उनले निर्वाचन मात्र जितेनन् दुई पटक सभामुख भएर संविधान निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन । तर निर्वाचन क्षेत्रमा विकासको पाटोमा फर्केरपनि हेरेनन् ।
उनैले जितेको निर्वाचन क्षेत्रको एक गाउँपालिका हो फाकफोकथुम गाउँपालिका, जुन पाँच वर्ष सम्म चर्चै चर्चामा बित्यो । जसले गर्दा फाकफोकथुमको विकास २० वर्ष पछिलाई धकेलिएको छ । पहिलेको पाँच वर्षको अवस्थाकै कारण अहिलेका प्रतिनिधिलाई समाल्न चुनौती बनेको छ । गाउँपालिको विकासको मेरुदण्डको रुपमा मानिने दिगो सडक अहिलेसम्म बन्न सकेन ।

सो पालिकामा अहिलेसम्मपनि कालोपत्रे कस्तो होला भनेजस्तै भएको छ । फाकफोकथुम गाउँपालिका यस्तो पालिका हो जुन कालोपत्रे सडक सञ्जालमा पुग्न अन्य पालिका भएर मात्र जोडिन सक्छ । अहिलेसम्म कालोपत्रे सडकको त कुरै छाडौँ १२ महिनै यातायात सञ्चालन हुने सडक थियो भने पनि धेरै समस्या कम हुने थियो । कृषि उत्पादन मुख्य आम्दानीको श्रोत भएको फाकफोकथुम हिउँदको समयमा अन्य ठाउँमा कृषिजन्य उत्पादन पुर्याए पनि वर्खाको समयमा बोटमै कुहिएर जानुको विकल्प छैन । नत त्यहाँ उद्योग सञ्चालनको अवस्थै छ । सरकारी विद्युत् सबै ठाउँमा पुग्न नसक्दा अझ समस्या रहेको छ । बाहिरबाट हेर्दा उज्याले देखिए पनि त्यहाँको अँध्यारोमा संघीय र प्रदेश सरकारको समेत नजर पर्न सकेको छैन ।
आफूले जिताएका नेताबाट गाउँमा विजुली बल्ने आस नपाएपछि त्यहाँका जनताले आफै लगानी गरेर गाउँ उज्यालोसम्म बनाएका छन् । जसका लागि चार वर्षसम्म श्रमदान र प्रतिघर ४० हजार भन्दा बढी लगानीमा गाउँ उज्यालो बनाए । जनताको दुःख नदेखेका नेता अहिले भाषण गर्दा हिजो एउटा पनि बिजुलीको बल्ब नभएको ठाउँ अहिले जताततै उज्यालो छ भनेर भाषण गर्छन् । भाषण गरेझैँ फाकफोकथुममा बिजुलीको बल्ब अहिले पनि पुगेको छैन । गतवर्ष प्रसारण लाइन राँकेबाट फाकफोकथुम हुँदै पाँचथरको रवि सम्म पुग्यो । एकतप्पाको केही भागमा र आमचोक, फुएतप्पाको माथिल्लो भाग छुँदै रवि पुगे पनि सबै क्षेत्रमा अहिले सम्म सरकारी लाइन पुग्नसकेको देखिँदैन ।

पछिल्लो १० वर्षमा फाकफोकथुम गाउँपालिकामा गाउँपालिका निर्माण भए पनि कुनै विकास हुन नसकेको नेकपा एमाले प्रचार विभाग सचिव तथा फाकफोकथुम गाउँपालिका वडा नं ३ का खेमसागर खनाल बताउँछन् । उनी भन्छन्, ‘राँके रबी बाटो धान खेती गर्ने अवस्थामा छ, खोलामा पुल छैन लगाएका होम पाइप पनि बाढीले बगायो, गाउँपालिकाको ६ र ७ नं मा विजुली पुगेको भए पनि अन्य टोलका जनता टुकीको भरमा छन, शैक्षिक क्षेत्र पिडादायक छ भने स्वास्थ्यको अवस्था झन् पिडादायक रहेको छ ।’ विकट भएकै कारण गाउँपालिकामा कर्मचारी जान नमान्ने गरेका छन् । सदरमुकाम आउन र जान समस्या हुने भए पनि गाउँपालिकामा कर्मचारीको पनि अभाव रहेको छ ।

चार वर्षको श्रमदान र प्रतिघर ४० हजार लगानीमा लघु जलविद्युत
त्यहाँका जनताले स्थानीय खोलाबाट लघु जलविद्युत निर्माण गरेर सञ्चालन गरेका छन । पाँच वटा साबिकका गाविस रहेको फाकफोकथुममा पाँचै वटा लघु जलविद्युत सञ्चालन भएका छन । जसका लागि चार वर्ष सम्म श्रमदान त गरे गरे प्रतिघर ४० हजार रुपैयाँ भन्दा बढी लगानीमा गाउँ उज्यालो बनाए । जसले गर्दा फुएतप्पा, आमचोक, कोल्वोटे र एकतप्पा साबिकका चार गाविस उज्याले देखिन्छन् भने अन्य ठाउँ ठाउँमा पेल्टिसेटबाट उज्यालो देखिरहेको छ । त्यहाँ सञ्चालन भएका जलविद्युतको व्यवस्थापन गर्ने कर्मचारीलाई मासिक प्रतिघर दुई सय रुपैयाँ भन्दा बढी रकम उठाएर तलब खुवाउनुपर्ने बाद्यता छ । त्यति मात्र होईन सञ्चालन भईरहेका लघु जलविद्युतका सामान बिग्रिँदा प्रत्येक घरबाट रकम उठाएर मात्र सामान खरिद गर्नुपर्ने हुन्छ । कतिपय सामान विदेशबाट मगाउनु पर्ने हुँदा महिनादिनसम्म पनि अन्धकार हुने गर्दछ । वर्खाको समयमा भेल र बाढीको कारण कुलोमा समस्या आउँदा पनि खेती पाती नभनी श्रम गर्न जानुपर्छ नत्र बेलुका विजुली आउँर्दैन । यहाँ निर्माण गरिएका लघु जलविद्युत सञ्चालन भएको १० वर्ष बिती सकेको छ । अव सुरुमा किनेका सामाग्री बिग्रिए भने जनताले फेरी किनेर बाल्ने अवस्था छैन त्यसले गर्दा २५ वर्ष पहिलेकै अन्धकार अवस्थामा पुग्ने धेरैलाई चिन्ता छ ।

पछिल्लो समय स्थानीय तहले मर्मतका लागि थोरै रकम छुट्टाएर केही सहज बनाए पनि एउटै गाउँपालिकामा धेरै वटा लघु जलविद्युत् सञ्चालन हुँदा सानु रकम मात्र एउटा आयोजनाले पाउने गरेका छन । जसले गर्दा कुन दिन के समस्या आउँछ थाहा हुँदैन । फाकफोक खोला तेस्रो लघु जलविद्युत आयोजनाका सचिव रमेश खतिवडा पावर हाउसमा प्रयोग भएका सामान १४ वर्ष भैसकेको र त्यसको मर्मत सम्भारका लागि आर्थिक अवस्था नभएको भन्दै बर्सेनी कुलो भत्किने र मुहान बगाउने गरेको कारण समस्या आइरहेको बताउँछन् । आयोजनामा फलामको पोल प्रयोग हुन नसक्दा दैनिक विद्युतमा समस्या आउनुका साथै आर्थिक अवस्था कमजोर भएकाले कार्यालय व्यवस्थापन गर्न त सकिएको छैन नै विद्युतको महसुल पनि बढी उठाउनुपर्ने बाध्यता रहेको भन्दै सरकारी रेटमा महसुल उठाए कर्मचारीलाई तलब दिन पुग्दैन बढी उठाउँदा उपभोक्ता मारमा रहेको खतिवडा बताउँछन् ।
 

खोलामा बने पक्की पुल न कालोपत्रे सडक

फाकफोकथुम गाउँपालिका क्षेत्रमा छ वटा खोला रहेका छ । तर कुनै पछि खोलामा पक्की पुल पनि बनेको छैन । गाउँपालिकाले खोला तर्न केही सहज हुन्छ कि भनेर खोलामा होमपाईप लगाए पनि वर्खाको बाढीले बगाएपछि पहिलेकै अवस्थामा पुगेको छ । फाकफोकथुम गाउँपालिका पुग्नु मुख्य सडक भनेको इलाम र पाँचथरको सिमानामा रहेको राँके रवी सडक पैदल हिड्न नसक्ने अवस्था बनिसकेको छ । जुन सडक प्रधानमन्त्री हुँदा केपी ओलीले शिलान्यास गर्दे अव तत्काल निर्माण हुने बताएका थिए । उक्त सडक नबन्ने अवस्था र चुनाव आउने भए पनि इलाम र पाँचथरबाट निर्वाचन जितेका नेताले तत्काल ठेकेदारलाई कारबाही गर्न संयुक्त हस्ताक्षर सहित सरकारलाई ज्ञापन पत्र बुझाएपनि कार्यान्वयन हुन सकेन । नेताको यो ज्ञापनपत्र बाटो बनाउन भन्दा पनि चुनावमा भोट माग्ने बहाना जस्तो देखाएको स्थानीयको बुझाई छ ।

आइतबार, ०५ भदौ, २०७९, बिहानको ०९:११ बजे

सम्बन्धित खवर