चाडपर्वलाई दूर्घटनारहित बनाउन अभियान शुरु

दमक, ५ असोज/  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नजिकिएको चाडपर्वलाई दुर्घटनारहित बनाउन अभियान शुरु गरेको छ ।
चाडपर्वको समयमा दुर्घटना बढी हुने गरेको भन्दै ट्राफिक प्रहरीले मंगलबारबाट तीव्रगतिका सवारी तथा ट्राफिक नियम उल्लघंन गर्ने सवारीलाई कारवाही गर्दै चाडपर्व दुर्घटनारहित बनाउने अभियान शुरु गरेको हो ।
अभियान अन्तर्गत ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक निषेश चापागाईले पूर्व–पश्चिम राजमार्गका साथै अन्य सहायक मार्गहरुमा राडरगनको प्रयोग गरेर तीव्रगतिका सवारीलाई कारवाही शुरु गरिएको जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ आउने सवारीलाई माइधारमा तथा पूर्वबाट पश्चिमतर्फ जाने सवारीलाई चारआलीस्थित कालीझोडा जंगलमा राडरगनको प्रयोग गरेर उनीहरुको गति मापन शुरु गरिएको बताए । अन्य क्षेत्रमा ट्राफिक प्रहरीले विशेष चेकिङ अन्तर्गत राडरगनको प्रयोग गरेर तीव्रगतिको मापनका साथै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही तीव्र बनाइएको प्रहरी निरीक्षक चापागाईंले बताए ।

चाडपर्वको समयमा दुर्घटना बढ्नुका साथै सडकको दुरावस्थाका कारण दुर्घटना दिनप्रतिदिन बढ्दै गएकाले तीव्रगति जीवनको क्षति भन्ने सन्देशका साथ चेकजाँचलाई कडाइ गरिएको चापागाईको भनाइ छ । खुल्ला सडकमा जथाभावी सवारी हुँइक्याउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बिहानी, दिवा र रात्रिकालीन चेकजाचलाई तीव्ररुपमा अगाडि बढाइएको ट्राफिक प्रहरी निरीक्षक चापागाईले बताए ।
ट्राफिक नियम उल्लंघन गर्नेमा दुईपाङ्ग्रे सवारी धेरै रहेकाले ट्राफिक नियम पालना गर्न सबैसँग आग्रह गरे । ट्राफिक प्रहरीको अभियानलाई सबैले सहयोग गरिदिन आग्रह गर्दै प्रहरी निरीक्षक चापागाईंले नियम उल्लंघन गर्नेलाई छुटाउन पहल नगरिदिनुहुन अनुरोध समेत गरेका छन् ।
गल्ती गर्नेहरु कारवाहीको दायरामा आउनुपर्ने र उनीहरुलाई सबक सिकाउन पनि कारवाहीको दायरामा जरुरी रहेको उनको भनाइ छ । पछिल्लो समय झापामा सडकको दुरावस्था तथा जथाभावी सवारी सञ्चालनका कारण दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष अभियान नै सञ्चालन गर्नुपरेको ट्राफिक प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।

मङ्गलबार, ०५ असोज, २०७८, साँझको ०६:३६ बजे

सम्बन्धित खवर