राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं ५ असोज/ सरकारले केपी ओलीको नेतृत्वको सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।
यसैगरी बैठकले कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयश संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जनाए । यसैगरी बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको उनले जानकारी दिए ।

यसैगरी बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलाेमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलाेमिटर सडक खण्डको ट्र्याक निर्माण काम नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए ।

मङ्गलबार, ०५ असोज, २०७८, रातीको ०८:४१ बजे

सम्बन्धित खवर