दमक/ दमक ६ लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारीले संस्थाले एघारौं साधारणसभा सम्पन्न गरेको छ ।
दमकस्थित पशुपति मन्दिरको सभाहलमा आयोजित साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाले सहकारीको माध्यमबाट साना साना बचतले पनि ठूला काम गर्न सकिने बताएका छन् । उनले मुलुकको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेकाले अर्थतन्त्रको गिरावट रोक्न सहकारीले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि झापा जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समितिका संयोजक चुँडामणी ओझाले पछिल्लो समय सहकारीहरुले बैंकसँग प्रतिष्पर्धा गर्नु परेको भन्दै सहकारीहरु मर्ज गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
संस्थाका अध्यक्ष पदम लिम्बू लिङदेन (संकलल्प)ले संस्थाको वार्षिक प्रतिवेदन प्रश्तुत गर्दै फाल्गुनन्द सहकारीले सदस्यहरुलाई प्रदान गर्ने सुविधाहरु अरु सहकारीको तुलनामा पृथक रहेको बताए । उनले संस्थाको शेयर पूँजी, बचत निक्षेप, कर्जा कार्यविधि, कर्मचारीको ब्यवस्थापन, युवा स्वरोजगार कार्यक्रम, बोनस, फाल्गुनन्द स्वर्णीम नारी बचत, सुपर बचत जस्ता योजनाहरु समेटिएको प्रतिबेदन बाचन गरे । यसैगरि गएको वर्षसम्ममा ४ करोड ६५ लाख १२ हजार ३ सय शेयर पूंजी रहेको संस्थामा चालु वर्ष भित्र शेयर पूंजी बृद्धि गरि ५ करोड २९ लाख ६० हजार ७ सय पुरयाँउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, चालु वर्षमा विभिन्न उद्धेश्यमा ४८ करोड ६२ लाख ७८ हजार ऋण लगानी, जगेडा कोषमा ९६ लाख २६ हजार १ सय १५ पुर्याउने लक्ष्य रहेको प्रतिबेदनमा उल्लेख छ ।
कार्यक्रममा शिखा सहकारी संघका अध्यक्ष तेजकुमार श्रेष्ठ, राष्ट्रिय बहुमुखी सहकारी संघका लेखा संयोजक लिलाराज तुम्वापो, नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने लगायतले कार्यक्रम सफलताको शुभकामना राखेका थिए ।
संस्थाका सचिव देशराज नेम्बाङले सञ्चालन र उपाध्यक्ष फूलकुमारी नेम्बाङ आङदेम्बेले स्वागत गरिएको कार्यक्रममा, लेखा समिति संयोजक वीरबहादुर लावती, सदस्य कमला योङहाङ, सुबास आचार्य, संस्थाका प्रमुख सल्लाहकार जनकसेन जवेगु, संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीप जवेगु, प्रमुख व्यवस्थापक कुवेर तुम्बापो लगायत कार्यसमितिका पदाधिकारी, सदस्य र साधारण सदस्यको उल्लेख्य उपश्थिति रहेको थियो ।
गत कार्तिक २२ गतेदेखि इकाईगत रुपमा ११ औ साधारणसभा शुरु भई मंसीर ५ दमकको पशुपति मन्दिरको सभाहलमा समापन गरिएको हो । साधारणसभाको समापन कार्यक्रममा सञ्चारकर्मीसहित ज्येष्ठ शेयर सदस्य, उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य, शाखाका उत्कृष्ठ आवधिक बचतकर्ताहरुलाई विधागत रुपमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
फाल्गुनन्द सहकारीले झापा, मोरङर इलाम जिल्लामा कार्यक्षेत्र रहेको सहकारीले बिर्तामोड , झिलझिले र मोरङको उर्लावारीका शेयर सदस्यहरुको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ भने इलामको चुलाचुलीमा समेत सेवा केन्द्र विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

Facebook Comments Box