ग्यासको गुणस्तरीयतामा प्रश्न

गत बुधबार ग्यास ‘लिक’ भएर आगलागी हुँदा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए भने उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भयो । यसको भोलिपल्ट दाङ तुलसीपुरमा पनि सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भए । ग्यासको कारोबार दिनादुदिन बढ्दो छ । बिक्री–वितरणमा मुनाफालाई मात्र जोड दिइने गरेकाले सिलिन्डरको प्रयोग अवधि लगायतका प्रश्नहरू बेला बेलामा उठ्ने गरे पनि ग्यास व्यवासयीहरु र नियमनकारी निकाय नेपाल आयल निगमले प्रभावकारी र परिणाममुखि रुपमा काम गर्न सकिरहेको छैन ।


ग्यासको सिलिण्डर, गुणस्तर र मात्राका बारेमा उचित जवाफ, यसको सुरक्षा, मापदण्ड र सुरक्षित प्रयोगका निम्ति अपनाउनुपर्ने तौरतरिका लगायतका पक्षमा भइरहेका कमीकमजोरीले उपभोक्ताको जीवन र सम्पत्ति दुवै धरापमा पर्ने गरेका छन् । यो धराप हटाउनका लागि उद्योगीहरूले आवश्यक मापदण्ड पालना गर्न र उपभोक्ताहरूले पर्याप्त सतर्कता अपनाउन जरुरी छ ।ग्यास तथा प्रज्ज्वनशील पलार्थको व्यवसाय केवल नाफा आर्जनका लागि मात्र गरिनु हुन्न । यसले पार्न सक्ने सामाजिक, भौतिक, मानवीय एवम् वातावरणीय असर र प्रभावका बारेमा व्यवसायीहरुले गम्भीर रुपमा सोच्नु पर्ने बेला आएको छ । त्यसका लागि आमउपभोक्ता पनि उत्तिकै सचेत र सजग हुनु पर्छ ।
निवर्तमान उर्जामन्त्री पम्फा भुसालले नेपालमा विद्युतको विकास भई यसको सहजता पर्याप्त भएकाले ग्यासको विकल्पका रुपमा विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्न यसअघि नै जोड दिँदै आएकी थिइन् । भुसालकै पहल र निर्देशनमा सहरमा डेरा गरेर अध्ययन गर्ने विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क रुपमा इन्डक्शन तिरणसमेत गरिएको थियो । तर उक्त कार्य अहिले रोकिएको छ । सरकार, मन्त्री र मन्त्रालयको नेतृत्व बदलिएसँगै यो कार्यले अहिले व्यापकता पाउन सकेको छैन । बिभिन्न मित्रराष्ट्रहरुले अनुदानमा नेपाल सरकारलाई उपलब्ध गराएका इन्डक्शन चुलो अझै गोदाममा थन्किएर बसेका छन् । यदि ती इन्डक्शन चुलोको उचित मापदण्ड बनाएर वितरण तथा सहुलियत दरमा बिक्रि गर्ने हो भने यसले मनग्य रुपमा ग्यासको विकल्प दिन सक्छन् र सम्भावित दुर्घटनाबाट बाँच्न सकिन्छ ।
ग्यास व्यवसायीहरुले मानवीय हितलाई बेवास्ता गर्दै केवल मुनाफा आर्जनका लागि म्याद गुज्रिएका, ट्याङ्की कुच्चिएका, म्याद उल्लेख भएका अक्षहरु मेटिएका सिलिन्डर बजारमा छ्यापछ्याप्ती रुपमा पठाएको पाइन्छ । यसले गर्दा हाम्रा घरमा खाना पकाउनका लागि राखिएका सिलिण्डरहरु बिस्फोटक पदार्थ (बम)का रुपमा परिणत हुँदै छन् । फेरी कतिबेला कहाँ ती बिस्फोट हुने हुन् भन्दै उपभोक्ताहरु त्रसित बनिरहेका छन् ।
ग्यास लिक भई आगलागी तथा विस्फोट हुनबाट बच्न गुणस्तरीय रेगुलेटर उत्पादन र प्रयोग गर्नु अर्को उपाय हो । यसका लागि पनि सरकारको अधिकारीक निमनकारी निकाय नेपाल नपतौल तथा गुणस्तर मापन केन्द्र उत्तिकै क्रियाशील हुन जरुरी छ । नेपाल नपतौल तथा गुणस्तर मापन केन्द्रले चाडबाडको बेलामा केही मिठाई पसल र खाद्यान्न पसलहरुमा छड्के चेकजाँच गरेर आँखामा छारो हालेको शैलीमा झारा टार्ने गरी मात्र गरेको मात्र हामी पाउँछौं । उक्त केन्द्रले आफूले पाएको जिम्मेवारी वर्षैभरी कडाइकासाथ पालना गर्ने हो भने पनि ग्याँस विस्फोटका घटना कमि गर्न सकिन्छ ।
जव कुनै अप्रिय घटना समाजमा घट्छन् अनि मात्र सरकार, सदन, सरकारी कर्मचारी, आमउपभोक्ता, व्यवासायी र सञ्चारकर्मीहरुको ध्यान तानिन्छ । दुर्घटना न्यूनिकरण गर्न र दुर्घटना हुन नदिन बेलैमा सबै पक्षको ध्यान जान जरुरी छ । मानवीय स्वास्थ्य र जीउधनको सुरक्षाका लागि सबै निकायहरु बेलैमा सचेत बन्ने हो भने हामीले समाजमा हुने सक्ने धेरै प्रकारका सम्भावित घटनाहरु टार्न सक्छौँ । त्यसैले समाजका सबै क्षेत्रका मानिसहरु अधिकार खोज्ने मात्र नभई कर्तव्यनिष्ठ हुन पनि जरुरी छ । यदि सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीताकासाथ सम्पन्न गर्ने हो भने हरेक प्रकारका समस्या समाधान गर्न हामी सक्षम छौँ । दुर्घटनापछि पुर्पुरोमा हात लगाएर बस्नु भन्दा बेलैमा सबैले जिम्ेवारी र कर्तव्यको पालना गर्नु आवश्यक छ ।