झापामा निर्वाचन आचारसंहितामा कडाइ, ५१ मतदान स्थल अति संवेदनशील

   झापा /   झापा जिल्लाका १५ वटै पालिकामा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयनमा ल्याइने भएको छ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए।

झापा जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले पार्टीका झन्डा र चुनाव चिह्न सार्वजनिक सवारीसाधन र गाउँटोलमा देखिन थालिसकेको बताए।

‘निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। अब हामी भोलिदेखि एक्सनमा जान्छौँ’‚ अधिकृत गौतमले भने, ‘निर्वाचन निर्देशिकाले बनाएका संयन्त्र खटाएर आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्छौं।’

राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने तथा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख रहेको उनले बताए।

‘वैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्तालाई भीडरहित व्यवस्थित र पारदर्शी बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि राजनीतिक दलहरूसँग समन्वय गरी मनोनयन दर्ता टोकन प्रणालीमा लैजानुपर्ने हुन्छ। टोकन प्रणालीअनुसार दलहरू आएर उम्मेदवार मनोनयन दर्ता गरिँदा कर्मचारीलाई काम गर्न सहज हुन्छ।’

सञ्चारमाध्यमले निर्वाचन सम्बन्धी समाचार प्रकाशन गरिदिँदा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित र भयरहित बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई सहयोग पुग्ने उनको भनाइ छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराई सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्ने आग्रह गरेका छन्।

त्यस्तै आजै अन्य १४ पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको जनाइएको छ। निर्वाचन अधिकृतहरू वेदराज फुयाँल मेचीनगर नगरपालिका, ऋषि पौडेल शिवसताक्षी नगरपालिका, डम्बरप्रसाद काफ्ले बिर्तामोड नगरपालिकाका, लोकबहादुर कटुवाल अर्जुनधारा नगरपालिका, दीपक कोइराला कनकाई नगरपालिका, विदुरकुमार कार्की गौरादह नगरपालिका, केशवप्रसाद पन्त दमक नगरपालिका, प्रकाश गौतम कमल गाउँपालिका, भेषराज कोइराला गौरीगञ्ज गाउँपालिका, पुष्करराज प्रसाईँ बाह्रदशी गाउँपालिका, मानबहादुर घिमिरे झापा गाउँपालिका, डम्मरुप्रसाद निरौला बुद्धशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराई हल्दीबारी गाउँपालिका र वीरेन्द्र बस्नेत कचनकवल गाउँपालिकामा खटाइएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।

झापाका ५१ मतदान स्थल ‘अति संवेदनशील’

१ नम्बर प्रदेशका अन्य जिल्लाभन्दा झापामा सबैभन्दा बढी अति संवदेनशील मतदान स्थल रहेको छ। भारतसँग जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। जिल्लाको १४४.२ किलोमिटर खुला रहेको छ।

त्यसमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र कचनकवल गाउँपालिका भारतसँग सीमा जोडिएका पालिका हुन्। झापामा ५१ मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको छ। २८६ मतदान स्थल रहेको झापामा ७७७ मतदान केन्द्र तोकिएका छन्। बाँकी १५३ मतदान केन्द्र संवेदनशील र ८२ वटा सामान्य सूचीमा रहेको छ।

जिल्लामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ।

शुक्रबार, ०९ बैशाख, २०७९, बिहानको ०८:३४ बजे

सम्बन्धित खवर