दमकमा कसको पल्ला भारी, विगतको तथ्यांकले के भन्छ ?

      विमल लामिछाने
दमक / स्थानीय चुनावको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मीपनि बढ्दै गएको छ । आगामी स्थानीय चुनावमा कसरी आफ्नो पार्टी विजयी गराउने भन्ने विषयमा राजनीतिक दलहरुविच निक्कै ठूलो दौडधुप भइरहेको छ ।
यसपटक प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिदै आएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो भने माओवादीले तेस्रो मत ल्याएको थियो ।
ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धनका एक नेताले बताए । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको बताएका छन् ।
राजनीतिक वृत्तमा निक्कै चासोका साथ हेरिएको दमक नगरपालिकामा एमालेले मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनालको नाम सिफारिस गरेको छ भने गठबन्धनको तर्फबाट मेयरमा राप्रपाका राम थापाको कुरा चर्चामा छ । उपमेयरमा माओवादी या नेपाली काँग्रेस कसको भागमा पर्ने भन्ने टुंग्याउन बाँकी रहेको बताइएको छ । राप्रपाले सत्तारुढ गठबन्धनसँग तामेल गरे झापाको दमकमै एमाले पराजित हुने अवस्था आउने आँकलन गरिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा रोमनाथ ओलीले १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो । काँग्रेसका ढुण्डीराज भण्डारीले भने ५ हजार ५ सय ३९ मत ल्याएका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा जितेको थियो भने राप्रपाले २ वटा वडा जितेको थियो । अहिले आ–आफ्नो सुधार आएको दाबी सबै दलले गरिरहेका छन् । यद्यपि एमालेलाई पराजित गर्नका लागि राप्रपाको साथ लिनुपर्ने दबाबमा सत्तारुढ गठबन्धन छ । प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसमेत सत्ता गठबन्धनमा मिसिएको छ ।
गत चुनावको तथ्यांकलाई आधार मान्ने हो भने राप्रपासहितको गठबन्धनको मतले पनि केहि वडाहरुमा एमालेलाई जित्न कठिन हुने देखिन्छ । दमक नगरका १० वटा वडामध्ये एमालेले आठ वटा वडामा प्यानलनै जित हासिल गरेको थियो दमक १ र ७ वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेको थियो ।
अघिल्लो स्थानीय चुनावमा दमक १ मा राप्रपाले ८०७ मत ल्याएको थियो भने एमालेले ८००, नेपाली काँग्रेसले ४९४ र माओवादी केन्द्रले ४९३ मत प्राप्त गरेका थिए । वडा नं २ मा एमालेले ११५४, माओवादी केन्द्रले ७७१, राप्रपाले ७४८ र काँग्रेसले ६५० मत ल्याएका थिए । वडा नं ३ मा एमालेले २०३३, काँग्रेसले ९२९, राप्रपाले ६७९ र माओवादी केन्द्रले २३४ मत ल्याएका थिए । वडा नं ४ मा एमालेले १५६२, नेपाली काँग्रेसले १०६२, माओवादी केन्द्रले ५३६ र राप्रपाले ३८८ मत ल्याएका थिए । वडा नं ५ मा एमालेले १४६७, काँग्रेसले ७२३, माओवादी केन्द्रले ४२० र राप्रपाले २८६ मत ल्याएका थिए । वडा नं ६ मा एमालेले ९४४, काँग्रेसले ४७४, राप्रपाले ४६५ र माओवादी केन्द्रले २४१ मत ल्याएका थिए । वडा नं ७ मा राप्रपाले ९६०, माओवादी केन्द्रले ४७९, एमालेले ५४० र काँग्रेसले १५५ मत ल्याएका थिए । वडा नं ८ मा एमालेले १०६७, काँग्रेसले ६५०, माओवादी केन्द्रले ४८६, राप्रपाले ३३८ मत ल्याएका थिए । वडा नं ९ मा एमालेले १३६८, काँग्रेसले ९५३, माओवादी केन्द्रले ६४५ र राप्रपाले ५११ मत ल्याएका थिए । वडा नं १० मा एमालेले ९५१, काँग्रेसले ८७०, राप्रपाले ५८९ र माओवादी केन्द्रले २०३ मत ल्याएका थिए ।
अहिले झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता रहेका छन् । २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक झापामा एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ६ लाख ४६ हजार २ सय ३४ जना कूल मतदाता रहेका छन् । जसमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । महिला मतदाता मात्रै ३ लाख २४ हजार ७ सय ५ जना छन् भने पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० जना रहेको छ ।
झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा ७ सय ५५ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल तोकिएको छ ।

 

 

 

शुक्रबार, ०९ बैशाख, २०७९, बिहानको ०८:४० बजे

सम्बन्धित खवर