मिस बनाइनिदे प्रलोभनमा बलात्कारका अभियोगी मनोज पाण्डे पक्राउ

काठमाडौं / आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटेलमा आफूलाई पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

टिकटक युजर आइडीबाट बुधवार साँझ पीडित युवतीले आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरिन् । सो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न तीव्र दबाब बढेको थियो । सङ्घीय संसद्मा पनि यसबारे आवाज उठेपछि शनिवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई स्वयम्भूबाट पक्रेर अनुसन्धान सुरु गरेको छ ।

मोडल एजेन्सी सञ्चालक पाण्डेले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । पक्राउ परेपछि प्रहरीसँग उनले भनेका छन्–‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।’

युवतीले उनलाई आफूमाथि बलात्कार गरेको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पाण्डे बिहीबार पोखराबाट काठमाडौँ आएको प्रहरीको भनाइ छ ।

आइतबार, ०८ जेठ, २०७९, बिहानको ०७:११ बजे

सम्बन्धित खवर