अमेरिकाले नेपाललाई खोप नदिने

विराटनगर /   खरिद गर्न खोज्दासमेत कोरोना खोप पाउन नसकेको नेपालीहरु केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले अमेरिकाले नेपाललाई ५० लाख खोप दिने भन्ने सन्देश सामाजिक सञ्जालमा पोष्ट गरेपछि खुसी भए । कोरोना विरुद्धको खोपको मृगतृष्णा बोकेर बसेका जनताका लागि त्यो सुखद संदेश थियो ।

पार्टी भित्रको विवाद होस् वा सरकारका गतिविधि सबैलाई अतिरञ्जित रुपमा प्रचार गर्दै आएको प्रधानमन्त्रीको सचिवालयले दिएको त्यो सन्देश गलत रहेको केही समयपछि नै पुष्टि भयो । तर, झुठो प्रचार गर्ने सचिवालयका सदस्यहरुले त्यसलाई सच्याएनन् । जसले गर्दा अमेरिकाले ५० लाख डोज खोप दिँदैछ भन्ने भ्रम जनमानसमा कायम छ ।

कोरोना विरुद्धको खोपलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएको सरकार सकेसम्म छिटो खोप ल्याएर राजनीतिक लाभ लिन चाहन्छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अगाडि सारेर विश्वका थुप्रै देशका समकक्षीलाई खोप उपलब्ध गराउन भन्दै पत्रचार नै गरिन् । तर राष्ट्रपतिको त्यो प्रयास सार्थक हुन सकेन । यस बीचमा चीनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर सामुहिक प्रयत्नको सन्देश दिँदै १० लाख डोज खोप सहयोगमा पठायो ।

तर अमेरिकाले नेपाल सहितको मुलुकलाई दिने भनेको खोप तत्काल आउने सम्भावना देखिएको छैन । पछिल्लो समय अमेरिकाले नेपाललाई दिने खोप पनि सिधै नदिने भएको छ । दक्षिण एशियाली मुलुकहरु अफगानिस्थान, बंगलादेश र पाकिस्तानलाई सोझै खोप पठाउने तयारी गरिरहेको अमेरिकाले नेपाललाई भने अरु कुनै मुलुक वा संस्था मार्फत खोप पठाउने छ । एशीयाली मुलुकका लागि अमेरिकाले १ करोड ६० लाख डोज खोप उपलब्ध गराएको छ । त्यस मध्ये केही लाख डोज नेपालको भागमा पर्छ ।

अमेरिकाले थप साढे ५ करोड डोज खोप संसारका विभिन्न मुलुकलाई बाँड्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ। पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।

मङ्गलबार, ०८ असार, २०७८, बिहानको ०८:३३ बजे

सम्बन्धित खवर