मुलुकको वैदेशिक व्यापारघाटा ११ महिनामै चालू आर्थिक वर्षको बजेटभन्दा बढी

दमक / सरकारको नियन्त्रणमुखी नीतिका बीच पनि आयातको वृद्धिदर नरोकिँदा मुलुकको वैदेशिक व्यापारघाटा ११ महिनामै चालू आर्थिक वर्षको बजेटभन्दा बढी भएको छ । जेठ मसान्तसम्ममा मुलुकको व्यापारघाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । सरकारले चालू आर्थिक वर्षको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँमा सीमित गरेको छ । जसअनुसार बजेटको तुलनामा व्याापार घाटा ३१ अर्बभन्दा बढी छ ।

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेकाले व्यापारघाटा अझै बढ्ने र सरकारको खर्च कम हुने भएकाले बजेट र व्यापारघाटाबीचको अन्तर अझै बढी हुने अर्थविद्हरुको अनुमान छ ।
भन्सार विभागका अनुसार जेठ मसान्तसम्ममा मुलुकबाट वस्तु तथा सेवाको निकासी ५३.३ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने आयात २७.५ प्रतिशतले बढेर १७ अर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यस्तै, कुल वैदेशिक व्यापारमा निकासीको हिस्सा ९.५३ प्रतिशत रहँदा आयातको हिस्सा भने ९०.४७ प्रतिशत पुगेको छ ।
अर्थविद् डा. दधि अधिकारी निर्यात बढ्न देशमा निर्यातयोग्य वस्तुको अभाव भएको बताउँछन् । ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट अनुसार विश्वका १ सय ४१ देशमध्ये प्रतिस्पर्धीको हिसाबले नेपाल १ सय ८ औं क्रममा पर्छ, यसले नै हाम्रो अवस्था चित्रण गर्दछ,” उनले भने । कम मूल्यमा वस्तु तथा सेवा उत्पादन गर्न उत्पादकत्व बढी हुनुपर्ने भए पनि नेपालमा श्रम, विद्युत तथा लजिष्टिकजस्ता समस्या बढी रहेको उनी बताउँछन् ।
जेठसम्ममा भारतसँगको व्यापारघाटा सबैभन्दा बढी ९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । भारतमा यस अवधिमा १ खर्ब ४५ अर्ब ९० करोड मूल्य बराबरको वस्तु निकासी भएकोमा भारतबाट ११ खर्ब ९० करोड ३६ लाख रुपैयाँ बराबरको आयात भएको छ । उत्तरी छिमेकी चीनसँग २ खर्ब ४३ अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ । चीनतर्फ नेपालको निकासी ७३ करोड ९० लाखमा सीमित छ भने आयात २ खर्ब ४४ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक छ । जेठसम्ममा ६ लाख ७८ हजार ६७१ किलोलिटर पेट्रोल आयातका लागि ६२ अर्ब ९१ करोड ९८ लाख खर्चिएको छ भने १६ लाख २ हजार ४०८ किलोलिटर डिजल खरिदमा १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख रुपैयाँ बाहिरिएको छ ।

यस्तै, एलपी ग्यासका लागि ५९ अर्ब १६ करोड तथा हवाई इन्धनका लागि १२ अर्ब ८८ करोड रुपैयाँ खर्चिएको छ । नेपालमा सबैजसो इन्धन भारतबाटै आयात हुने गरेको छ । निर्याततर्फ ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँको भटमासको तेल निकासी भएको छ भने ४ अर्ब ४५ करोडको सनफ्लावर आयल तथा ३९ अर्ब ११ करोड २७ लाख रुपैयाँ बराबरको पाम आयल निकासी भएको छ ।

बुधबार, ०८ असार, २०७९, दिउँसोको ०१:०० बजे

सम्बन्धित खवर