जिम्मेबारीमा फर्किए सिटौला

बैकल्पिक खवर

उर्लाबारी/नेपाल तरुण दल उर्लाबारी नगर समितिका सभापति नारायण सिटौलाले बुधबारबाट आफू संगठनको काममा फर्किएको घोषणा गरेका छन् ।
वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर सिटौलाले दलको नियमित काममा फर्किएको बताएका हुन् । हिजो दमकको होटल वन्डरलैण्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति सिटौलाले आफू चौथो नगर अधिवेशनबाट उर्लाबरी नगरको सभापति पदमा निर्वाचित भएको बताए । निर्वाचित भएर संगठन बिस्तारको अभियानमा लागि रहेको थिएँ । पत्रकार सम्मेलनमा सिटौलाले भने – ब्यापारिक र घरायसी कार्य ब्यस्तताका कारण संगठनलाई समय दिन नसके पछि ०७४ साल जेठमा उप सभापति रोहित कार्कीलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएको थिएँ ।
हाल आएर संगठनको काम आफै सम्पादन गर्न सक्ने अवस्था आएकोले आजकै मितिबाट कार्यबहाक सभापति रोहित कार्कीलाई दिइएको जिम्मेबारी फिर्ता लिएको घोषणा गर्दछु–सिटौलाद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । सिटौला नेपाल तरुण दल जिल्ला कार्य समिति मोरङका सचिव सचिन शाक्यको रोहवरमा पत्रकार सम्मेलन आयोजना गरी काममा फर्किएका हुन् । पत्रकार सम्मेलनमा उनले भने– कार्यबहाक जिम्मेवारी दिएपछि तरुण दलको संगठन कमजोर भयो । म निर्वाचित सभापति हुँ , अब आफै नेतृत्व गरेर उर्लाबारीको तरुण दललाई हाक्छु ।
सभापति सिटौलाले पत्रकार सम्मेलन आयोजना गर्दा उर्लाबारीका ७५ बढी युवाहरूको सहभागिता रहेको थियो । उनले आफू जिम्मेवारीमा फर्किएको बोद्धार्थ पत्र नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङ, नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं। १,नेपाल तरुण दल जिल्ला कार्य समिति मोरङ,नेपाली कांग्रेस उर्लाबारी नगर समिति र नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नं १ लाई पठाएका छन् ।
को हुन नारायण ?
नारायण सिटौला नेपाली कांग्रेसका स्थायी कार्यकर्ता हुन् । पार्टी संगठन भने पछि हुरुक्क हुने सिटौलाको राजनीतिक यात्रा २०५० देखि सुरु भएको हो । इटहराको सरस्वती माध्यमिक विद्यालयमा नेपा विद्यार्थी सङ्घको इकाई सचिव भएर पार्टी संगठनमा बाँधिएका सिटौला २०५१ मा तत्कालिन क्षेत्र नं. १ को क्षेत्रीय सचिबमा निर्वाचित भए । गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट राजनीतिमा होमिएका सिटौलालाई त्यतिबेलै देखि राजनीतिको भोक लाग्न थालेको हो ।
कलेज जीवन सुरु भएपछि उनी उर्लाबारी बहुमुखी क्याम्पसको ईकाई सचिबमा चयन भए। बामपन्थीहरू जगजगी भएको उर्लाबारी क्याम्पसमा स्ववियूको निर्वाचनमा सदस्य पदको टिकट पनि सिटौलाले पाए । यद्यपि सफलता हात लागेन । आफ्ना साथीभाइका लागि जस्तोसुकै कठिन अवस्थामा पनि सहयोग गर्न तयार हुने सिटौला ब्यापार क्षेत्रमा पनि उत्तिकै सफल ब्यावसायी मानिन्छन् । ब्यापार र राजनीतिलाई सँगै लाने सोचका साथ उनी तरुण दलको सभापतिमा फर्किएका हुन् । उनले भने – पार्टी संगठनलाई क्लब वा कम्पनीका रुपमा प्रयोग गर्नेहरू परिपाटीको अन्त्यका लागि तरुण दल लागि पर्नेछ । सिटौलाले संगठनमा कसैलाई निषेध नगरी अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

बिहिबार, ०७ साउन, २०७८, बिहानको ०७:५५ बजे

सम्बन्धित खवर