पत्रकार डि.कौडिन्यको आज उन्नाइसौ स्मृति दिवश

विमल लामिछाने

विमल लामिछाने
परिर्वतनका संवाहक, क्रान्तिकारी योद्धा डि.कौडिन्यको आज उन्नाइसौ स्मृति दिवश । समय गतिशील छ । समयसँगै समाज रुपान्तरणको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । यो मोडसम्म इतिहासलाई डोहोर्याउन हामीले धेरै क्षाति पनि मोलेका छौं र केही उपलब्धीपनि हासिल गरेकाछौ । जति उपलब्धि हाँसिल गरेकाछौ त्यसको तुलनामा हजारौ गुणा बढी हाम्रा प्रियजनहरु हामीले गुमाउनु परेको छ । यसक्रममा हामीले हजारौ होनाहार मित्रहरुलाई गुमाएका छौ । यसमध्येकै एक योद्धा हुन् देवकुमार आचार्य अर्थात डि.कौडिन्य ।
डि. कौडिन्यको वास्तविक नाम देवकुमार आचार्य हो । माता विष्णुमाया र पिता चन्द्रकुमारका पुत्र भई २०१९ साल असोजमा जन्मिएका उनका दुई आमा थिए । सात दाजुभाइ र दुई दिदीबहिनीका साथ १२ जनाको सामान्य परिवारका सदस्य हुन्—कौडिन्य । पहाडको कष्टप्रद जीवनशैली त्याग्दै आचार्य परिवार २०२१ सालमा झापाको खुदुनावारी—४ मा बसाईँ सरेको हो ।
तीन वर्षको छँदै मातृवियोगको पीडा खेपेका उनले माताबाट पाउने स्नेह र प्रेरणा पाएनन् । खुदुनावारीको जनता निमाविको अध्ययन पूरा गरी उनले बुधवारेको वुद्ध आदर्श माविबाट २०३६ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस भर्ना भएका उनले तत्कालीन पञ्चायती प्रतिकूलताका कारण अध्यायनलाई निरन्तरता दिन सकेनन् । विद्रोही स्वभाव र पञ्चायती शासनविरुद्धको राजनीतिक गतिविधिवारे झोसपोल भएपछि २०४४ सालमा गिरफ्तार भएका उनी अढाई वर्षपछि २०४७ सालमा कष्टप्रद जेल जीवनबाट मुक्त भए । मुक्त भएलगत्तै अध्ययनलाई निरन्तरता दिई २०४८ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरबाट बीएको अध्ययन सुरु गरी २०५५ सालमा किर्तिपुरबाट अङ्ग्रेजी साहित्यमा एमए उत्तीर्ण गरे । २०४२ सालदेखि शिक्षण पेसामा संलग्न उनले प्रतिकूल अवस्थाका कारण बीचमा सो पेसा छोड्नु परेपनि २०४६ सालमा पुनर्वहाली भई काकडभिट्टा क्याम्पसमा अङ्ग्रेजी विषय अध्यापन पनि गराए ।
२०४७ सालमा झापा गोलधापकी यमुनासँग विवाह बन्धनमा बाँधिएका उनीहरुका २०४८ सालमा जुम्ल्याहा छोरी तृष्णा र तृप्ती, २०५२ सालमा छोरा देवराज जन्मेका हुन् ।
२०२८ सालको झापा विद्रोहबाट राजनीतिमा प्रेरित डी.कौडिन्यलाई २०३५ सालको उत्कर्षमय विद्यार्थी आन्दोलनले ऊर्जा मात्र भरेन राजनीति यात्रामै लामवद्ध गरायो । विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै २०४० सालमा तत्कालीन नेकपा मालेबाट संगठित भई राजनीतिक यात्रा अघि बढाएका उनी एमाले हुँदै २०५३ सालमा सो पार्टी गतिविधिबाट वितृष्णा पैदा भई निष्क्रिय रहे । एमालेको २०५७ सालको नेपालगञ्ज महाधिवेशन (छैठौं) पछि उनी तत्कालीन नेकपा माओवादीमा प्रवेश गरे । त्यसलगत्तै उनी राष्ट्रिय वुद्धिजीवी संगठनको झापा संयोजक, २०५८ मा केन्द्रीय सदस्य हुँदै सोही वर्षको मंसीर ५ गतेबाट पार्टीको पूर्णकालीन कार्यकर्ता बने । भूमिगत रुपमा विभिन्न गहन जिम्मेवारी निर्वाह गर्दै हिड्ने क्रममा २०५९ साउन ६ गते बुधवारे इलाकामा तत्कालीन शाही नेपाली सेनाको घेरावन्दीमा परेका उनको ७ गते निर्मम हत्यो भयो । ८ गते कन्काई नदीमा उनको भौतिक शरिरको अन्त्येष्टि गरियो ।
तीक्ष्ण वुद्धि, सादा जीवन, उच्च विचार, मिलनसारिता उनका विशेषता थिए । वामवुद्धिजीवि, शिक्षक, पत्रकार, साहित्यकार, असल र कुशल नेताको परिचय स्थापित गरेका थिए, उनले. त्यसबीचमा । पार्टी काम, शिक्षणका साथै साहित्य र पत्रकारितामा उनको योगदान उच्च छ । कौडिन्यले प्रकाश साप्ताहिकको सम्पादन समूहमा बसेर काम गर्नुभएको थियो भने स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा उहाँका नियमित लेखहरु प्रकाशन हुने गर्दथे । सकारात्मक सोच अनि नेपाल र नेपालीमा परिवर्तनका लागि राजनीतिमा सक्रिय भई जीवन आहुति दिने त्यस्ता व्यक्तित्वको सपना साकार पार्न उनले देखाएको बाटो र त्यागको अवमूल्यन हुन नदिनु सबैको कर्तव्य हुन आउँछ । भौतिक रुपमा आज हामीमाझ नभएपनि सबैको चिनाइ यस्तो छ —लाखौंबाट छान्दा एक मानव थिए डी.कौडिन्य ।
झापाका पत्रकारहरु यज्ञराज प्रसाईं, लीला बराल, विमल लामिछाने, तारामणी सापकोटा र एकराज गिरीले सम्पादन गरिएको डी.कौडिन्य स्मृति ग्रन्थ २०६९ सालमा प्रकाशन भइसकेको छ ।

बिहिबार, ०७ साउन, २०७८, बिहानको ११:४२ बजे

सम्बन्धित खवर