फर्किन्छौ नि  प्रिय ?

प्रिय गुलाफ !
समय आइसक्यो तर
तिमी नफुलेको त महिनौं भएछ
र त झन्
उसलाई नदेखेको त वर्षौ भएछ
तिमी फुल्दा मलाई
उसको सम्झनाले सताइरहन्छ ।
तिमी नफुल्दा झन् उसँगको बिछोडले अताइरहन्छ !
जसरी गुलाफ फुल्न आकाश रुनुपर्छ,
धर्ती सर्वाङ्ग भिज्नुपर्छ
त्यसरी मेरो ह्रदय फक्रन
तिमी पनि मेरै समीपमा भइरहनुपर्छ
मेरै आँखामा हर पल झुल्किरहनुपर्छ !
म हुन्छु तिमीसँग सधैँ
काँडाको कुनै पर्बाह नगरी
अनि बुन्छु नयाँ नयाँ सपना
हावाको प्रहारले धर्तीमा नझरी
तर किन तिमी त
पहाडपारिको भुइँकुहिरोजस्तै परपर भइगयौ
घामको स्पर्शमा पग्लिने हिउँजस्तै
हेर्दाहेर्दै कताकता बिलाइगयौ
सहयात्री होइनँ म तिमीसँगै
जिन्दगीका साहसिक दूरीहरु पार गर्ने
बटुवा पनि होइनँ म
तिम्रो न्यानो ह्रदयमा बास मागिहिँड्ने !
तर पनि हरेक साँझ गुलाफलाई साक्षी राखेर
तिमीसँगै भएको परिकल्पना गर्छु म
जसरी धर्तीमा दिनसँग घाम
अनि रातँसग जून हुन्छ !
थाहा पायौ नि !
तिमीले छोएका गुलाफका पत्रहरुलाई
उसै गरी महसुस गर्छु म आज पनि
र त गुलाफका ती पत्रलाई
आफ्नो केशमा सिउँरिंदै
तिमी आउने बाटो हेरिरहेकी हुन्छु
फर्किन्छौ नि कुनै दिन प्रिय
यो हृदयमा फुलिरहेको रातो गुलाफलाई
नयाँ जिन्दगीको शृङ्गार दिन ? । ।

अञ्जु भण्डारी

आइतबार, ०६ भदौ, २०७८, दिउँसोको ०२:५५ बजे

सम्बन्धित खवर