वनमा लाग्ने रोगको अनुसन्धान गरिने, कुन कुन वनमा कस्ता कस्ता रोग

सरकारले वन क्षेत्रमा लाग्ने रोगको विषयमा अनुसन्धानलाई प्राथमिकता दिने तयारी गरिरहेको छ । वनमा लागेको वा सम्भावित रोगको विषय अध्ययन गरी समस्याको समाधान खोज्न अनुसन्धानलाई प्राथमिकता दिइने तयारी गरेको हो ।
कृषि बालीमा लाग्ने रोगको विषयमा प्राथमिकताका साथ अनुसन्धान हुने र किसानलाई उपचारका लागि सहयोग गरिआए पनि हालसम्म वन क्षेत्रमा लाग्ने रोगको विषयमा अध्ययन/अनुसन्धान नभएको भन्दै सरोकारवालाले माग गर्दै आइरहेका थिए । वन पैदावारको उत्पादन बढाउन वनमा लागेको रोग, लाग्न सक्ने सम्भावित रोग र रोगबाट बचाउने उपायको विषय अनुसन्धान गर्न आवश्यक रहेको वन विज्ञहरूको भनाइ छ । रोगका कारण पनि वनमा रोपिएका रुखहरू नहुर्कने, राम्रो उत्पादन दिन नसक्नु तथा रुखहरू मर्ने सम्भावना हुने भएकाले समाधानका लागि आगामी दिनमा वनका रुखका विरुवामा लाग्ने रोगको विषयमा अनुसन्धान हुन लागेको हो ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले वनमा लाग्नसक्ने सम्भावित रोगहरूको विषयमा गरेको अनुसन्धान पनि सार्वजनिक हुन बाँकी नै छ । केन्द्रका महानिर्देशक यमप्रसाद पोखरेलले पनि कृषि क्षेत्रमा जस्तै वन क्षेत्रमा लाग्ने रोगको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए । “हामीले अहिले एफएओको सहयोगमा वनमा के के र कस्ता रोग लाग्छ ? भन्ने सन्दर्भमा अध्ययन गरेका छौं,” यो अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, अब निकट भविष्यमा नै हामी सार्वजनिक गर्दैछौं,” उनले भने, “नयाँ प्रजाति फेला परेका छन्, कुन कुन वनमा कस्ता कस्ता रोग लागिरहेका छन्, भन्ने कुरा त्यो प्रतिवेदन आइसकेपछि मात्रै भन्ने मिल्छ ।”
पोखरेलले विगतमा रोगहरू छ कि छैन भन्ने विषयमा तथ्यांक संकलन गरे पनि फिल्डमा नै गएर बृहत् रूपमा सम्बन्धित रोग किराहरूको स्याम्पल नै लिएर ल्याबमा नै मूल्यांकन गरेर निकालेको अध्ययन प्रतिवेदन चाहिँ पहिलो पटक रहेको बताए ।
वन क्षेत्रमा यीलगायत धेरै विषयमा अध्ययन अनुसन्धान गर्न आवश्यक रहे पनि सीमित बजेट र दक्ष जनशक्ति अभावले अनुसन्धानमा चुनौती थपिएको बताए । “वन अनुसन्धानको क्षेत्रमा राज्यको लगानी पनि एकदमै कम छ, हामीले वार्षिक योजना बनाउँदा पनि लगानी बढाउन पहल गरेर वार्षिक योजनामा पेस गर्छौं, कार्यक्रम चाहिँ जस्तातस्तै हुन्छ तर रकम चाहिँ घटेर आउँछ,” उनले भने, “बजेट अभावका कारण वन क्षेत्रको अनुसन्धान प्रभावकारी हुन सकिरहेको छैन ।”

सोमबार, ०६ भदौ, २०७९, बिहानको ०७:२७ बजे

सम्बन्धित खवर