दुईदिनभित्र मन्त्रीमण्डल विश्तार हुने, को को हुँदैछन् मन्त्री ?

दमक, ६ असोज /  प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री बनेको ३ महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तारको सुरसार गरिरहेका छन् । प्रधानमन्त्री सचिवालयका मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रीमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएका छन् ।
नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको थियो । सोही अनुसार कांग्रेस सांसद नारायण खड्का मन्त्री बने उनले राष्ट्रपतिसामु सपथ समेत लिइसकेका छन् ।
यसैविच नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ ।

को को हुँदैछन् मन्त्री ?
कांग्रेसमा संस्थापनबाट डा. नारायण खड्कावाहेक सचेतक पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले यसपटक मन्त्रीका लागि दाबी गरेका छन् । यी चारमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ ।
यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउनै पर्ने दबाब देउवालाई छ ।
त्यसैगरी, माओवादी केन्द्रले पनि मन्त्री छनोटको कामलाई तीव्रता दिएको छ । मन्त्री छनोट गर्न निकै दबाब परेको बताउँदै आएका पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशबाट एक÷एक जना मन्त्री बनाउने नीति लिएका छन् ।

कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन् । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ । माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ । जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ ।
यसैगरी देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ । पार्टीले दुईदिनभित्रै मन्त्री छानेर पठाइसक्ने जसपाले तयारी गरिरहेको बताइएको छ ।

बुधबार, ०६ असोज, २०७८, दिउँसोको १२:५४ बजे

सम्बन्धित खवर