काँग्रेस वास क्लिनको पक्षमा छ ?

विमल लामिछाने

         ====== नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भने २०४६ सालभन्दा पहिले यो पार्टी युवाले नै हाँकेको पाइन्छ । तर, २०४६ पछिका दिनमा यो अवस्थाले निरन्तरता पाउन सकेन । इतिहास साक्षी छ, वीपी ३३ वर्षको उमेरमा पार्टीको कार्यवाहक सभापति र ४० को उमेरमा सभापति बनेका थिए । यस्तै, मातृकाप्रसाद कोइरालाले ३७ वर्षको उमेरमा पार्टी हाँक्ने अवसर पाएका हुन् । सुवर्ण शम्शेर र गणेशमान सिंहले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्दा दुबै जना ४५ वर्षको उमेरभन्दा कमको भएको पाइन्छ ।======

                    विमल लामिछाने

    पछिल्लो समय नेपाली कांग्रेसले जनबादको अभ्यास गरेको देखिन्छ । अरु राजनीतिक दलहरुको तुलनामा पार्टीभित्र जनबादको अभ्यास गर्नेमा नेपाली कांग्रेसले आफूलाई प्रमाणित समेत गरिसकेको छ ।

मुलुकको स्थापित राजनीतिक शक्ति नेपाली कांग्रेस चौधौं महाधिवेशनको प्रक्रियामा अघि बढिरहेछ । पार्टीको विधान अनुसारको वडा समितिको अधिवेशन सकिएको छ । यसपछि क्रमशः गाउँ, नगर, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन हुँदै अन्त्यमा मंसीर ९ देखि १३ गतेसम्म केन्द्रको महाधिवेशन हुने कार्यतालिका तय गरेर कांग्रेस आन्तरिक नेतृत्वको छनौट प्रक्रियामा होमिइसकेको छ । कांग्रेसको यसपटकको महाधिवेशन धेरै कारणले महत्वपूर्ण हुने देखिन्छ । नेतृत्वमा को पुग्छ, त्यो अर्थपूर्ण हुन्छ नै तर सबैभन्दा महत्वको कुरो महाधिवेशनका माध्यमबाट कांग्रेसको पुनर्संरचना भइरहेको छ । यसले जनबादको अभ्यास गरिरहेको छ ।

कांग्रेसमा वास क्लिनको अपेक्षा

अहिले धेरैले अपेक्षा गरेको कुरा हो, अब नेपालका सबैजसो पार्टीहरु युवामैत्री हुनुपर्छ । अधिवेशनको रणमैदानमा होमिएको कांगे्रसमा परिवर्तन हुन्छ । तर, कुन रूपमा ? सकारात्मक वा नकारात्मक, त्यसको भविष्यवाणी अहिले नै गर्न त सकिँदैन । तर, केही अनुमान र अपेक्षा भने निश्चय पनि गर्न सकिन्छ । कांग्रेसमा परिवर्तन आउनसक्ने सबैभन्दा ठूलो आधार हो– चौधौं महाधिवेशनमा युवा बाहुल्य रहेको नेतृत्व । अर्थात् नेपाली कांगेसले पार्टीभित्र वास क्लिनको बाटो रोज्न सक्ला कि नसक्ला सबैको चासोको विषय यही हो ।

यो पटक कांग्रेसमा युवा नेतृत्वको छनौट र सहभागिता विगतको तुलनामा यसपटक बढ्ने अनुमान धेरैले गरेका पनि छन् । त्यसो त अहिले नै राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा यकिन भइसकेको छैन । तर, जसरी पहिलो चरणको चुनावमा युवाको आकर्षण देखिएको छ, यस आधारमा महाधिवेशनको परिणाम पनि युवामय रहने बलियो आधार भने देखिन्छ ।

यसपटक कूल क्रियाशील सदस्य संख्याको झण्डै ३५ देखि ४० प्रतिशत युवा चुनावी मैदानमा छन् । यसलाई आधार मान्ने हो भने कांग्रेसको विभिन्न तहका नेतृत्वका साथै महाधिवेशन प्रतिनिधिमा पनि यसैको हाराहारीमा युवा उपस्थितिको सम्भावना रहन सक्छ । भनिन्छ, युवा परिवर्तनका संवाहक हुन् । जुन देशमा युवाको संख्या जति बढी हुन्छ, त्यस देशको विकास पनि त्यत्तिकै तिव्रतामा अघि बढ्ने अपेक्षा गरिन्छ ।

तर, नेपालको सन्दर्भमा नेतृत्वमा पुग्ने प्रौढ र ज्येष्ठ नागरिकको तुलनामा युवा संख्या अल्पमतमा छ । नीति–निर्माण तहमा ज्येष्ठहरु कै हाली–मुहाली छ । अघि लागेका युवाहरुका लागि दुर्भाग्य नै भनौं, वर्षौदेखि नेपाली कांग्रेसको मूल नेतृत्व ६० वर्ष कटेकाहरू कै हातमा छ । कांग्रेस पार्टीमात्र होइन, नेपालका अन्य पार्टी र सरकारको नेतृत्वमा पनि यही प्रवृत्ति हावी भएको देखिन्छ । केही कालखण्डलाई हेर्ने हो भने नेपाली कांग्रेसका वर्तमान सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक २०४६ को जनआन्दोलनपछि बनेका सबै प्रधानमन्त्री ६० को उमेर कटेपछि मात्र प्रधानमन्त्री बनेको पाइन्छ ।

इतिहासको तथ्यमा युवा हावी

नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भने २०४६ सालभन्दा पहिले यो पार्टी युवाले नै हाँकेको पाइन्छ । तर, २०४६ पछिका दिनमा यो अवस्थाले निरन्तरता पाउन सकेन । इतिहास साक्षी छ, वीपी ३३ वर्षको उमेरमा पार्टीको कार्यवाहक सभापति र ४० को उमेरमा सभापति बनेका थिए । यस्तै, मातृकाप्रसाद कोइरालाले ३७ वर्षको उमेरमा पार्टी हाँक्ने अवसर पाएका हुन् । सुवर्ण शम्शेर र गणेशमान सिंहले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्दा दुबै जना ४५ वर्षको उमेरभन्दा कमको भएको पाइन्छ ।

कृष्णप्रसाद भट्टराईले २७ वर्षको उमेरमा सभामुख भएर संसद चलाउने अवसर पाएकै हुन् । ५० वर्षको उमेरसम्ममा रामचन्द्र पौडेल सभामुख र मन्त्री बनिसकेकै हुन् । तर, सत्य यो पनि हो कि पछिल्ला दिनमा नेपाली कांग्रेसमा यस्ता सुखद् संयोगको निर्माण हुन सकेकै छैन । पार्टीभित्र युवाले सशक्त उपस्थिति जनाउन नसकेको तथ्य छिपाउन सकिन्न । २०४६ पछि देश र यहाँका पार्टीको नेतृत्वमा पटक–पटक तिनै व्यक्ति हावी भएको पाइन्छ ।

आजसम्मको इतिहासमा अपवाद बाहेक सबै ठूला परिवर्तन युवाले नै गरेका छन् । वैज्ञानिकहरुले मानिस पैंतीस वा चालीस वर्ष नाघेपछि मौलिक चिन्तन गर्नै सक्दैन, आफूलाई दोहोर्याएर बस्छ, भनेका छन् । हुन त संसारका सबैभन्दा ठूलो मान्छे युवा अवस्थामा नै आफूलाई स्थापित गर्न सफल भएका उदाहरण पनि छन् । नेपालमै जन्मिएका गौतम बुद्धले पनि जुन आत्मज्ञान प्राप्त गरे, सिद्धार्थबाट उनको नाम बुद्ध भयो । उनले उनन्तीस वर्षको उमेरमा घर छोडेर निस्केका थिए । त्यसको पाँच वर्षमा उनलाई ज्ञान प्राप्त भएको थियो भनिएको छ ।
त्यस्तै आधुनिक कालको १८४६ मा ‘थेसिस अफफायर बाख’ लेख्दा कार्ल माक्र्सको उमेर अट्ठाईस वर्षको मात्र थियो रे । १८४८ मा कम्युनिष्ट घोषणा पत्र लेख्दा माक्र्स तीस वर्ष र एंगेल्स २८ वर्षका थिए भनिएको छ, सो घोषणापत्र एक्काइसौं शताब्दीको आजसम्म पनि कम्युनिट मन्त्र बनिरहेको छ ।

नेपालको पहिलो जननिर्वाचित प्रधान मन्त्री वीपी कोइरालाले २००७ सालको क्रान्तिको नेतृत्व गर्दा ३२ वर्षका थिए । पुष्पलाल उनीभन्दा पनि कान्छो हुन् । कृष्णप्रसाद भट्टराई किसुनजी २००७ सालको क्रान्तिपछि सल्लाहकार सभाको सभामुखमा नियुत्त हुँदा यिनको उमेर नै पुगेको छैन भनेर मुद्दा चल्यो । यो कुनै दन्त्य कथाको कुरा होइन, इतिहासको कठोर वास्तविकता पनि हो । नेपाली कांग्रेसका हकमा यसपटक अनुकूल अवसर उपलब्ध छ युवालाई । करिब ४० प्रतिशतको अनुपातमा रहेका युवा क्रियाशील सदस्यको सकारात्मक सक्रियताले सबै तहको नेतृत्व चयन प्रभावित हुन सक्छ । केन्द्र पनि अपवाद हुन सक्दैन ।

कांग्रेसबाट पनि सिक्ने कि ?

जनवादको खोक्रो नारा बोकेर केन्द्रीयताको वृक्ष हुर्काइरहेका नेपालका कतिपय कम्युनिष्ट धारीहरुलाई चुनौति दिँदै अघि बढेको नेपाली कांग्रेसले पहिलो तहको वडा अधिवेशनको चुनाबबाट नै पाठ सिकाएको छ । नेपाली कांग्रेसको यो अभ्यासबाट प्रगतिशील र जनबादी भनिएका कम्युनिष्ट पार्टीहरुले पनि थप पाठ सिक्न र आफूलाई परिमार्जन गर्न सक्नुपर्छ । कम्युनिष्ट पार्टीका घोषित र नजिक आइरहेका अधिवेशन तथा महाधिवेशनहरुमा पूर्ण जनवादको अभ्यास नगर्ने हो भने नाम मात्रैको नाराले जनता र कार्यकर्ताको मन जित्न फलामको चिउरा चपाउनु सरह हुनेछ ।

हुन त नेपाली कांग्रेसले कति प्रतिशत युवालाई नेतृत्वमा विकास गर्न सक्छ, कस्ता युवालाई नेतृत्वमा पुर्याउँछ त्यो दोस्रो कुरा हो । चुनावी मैदानबाट ज्येष्ठलाई पछि पार्दै राष्ट्रिय नेतृत्वमा युवालाई पुर्याउला या प्रौढ र ज्येष्ठ नै पुन हावी होलान्, त्यो हेर्न बाँकी नै छ । समयले देखाउँदै जाला । तर, जनवादको अभ्यास गर्दै चुनावी गतिविधिबाट अघि बढिरहेको नेपाली कांग्रेसले यो पटक हुँदै गरेको महाधिवेशनबाट पुरानो पुस्ताको सम्मान गर्दै नयाँ उर्जाशील युवा नेतृत्व छान्ने हिम्मत गर्न भने अवश्य सक्नुपर्छ । फेरि पनि चर्चा युवाकै हुने हो, मुलुक परिवर्तनको जिम्मा युवाको काँधमा हुन्छ । जे गर्नुपर्नेछ, त्यो युवाले गर्ने हो । युवा नेतृत्वबिना देशको विकासले अपेक्षित गति लिन सक्दैन ।

बुधबार, ०६ असोज, २०७८, दिउँसोको ०१:०७ बजे

सम्बन्धित खवर