प्रदेश १ : संसदमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश, आइतबार मतदान

दमक, ५ कार्तिक/ प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आइतबार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनेविषयमा राजनीतिक कुरा भने गरेनन् । संसदलाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिएका थिए ।
गत असोज २५ गते संवैधानिक प्रावधान अनसार आचार्यले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए ।
भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो ।
सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र वागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय छ ।

शुक्रबार, ०५ कार्तिक, २०७८, दिउँसोको ०४:२८ बजे

सम्बन्धित खवर