कार्यकालको उत्तरार्धमा राजदुत पुरी : सालिन तर अब्बल कुटनीति


स्वतन्त्र भारतको पहिलो नेपाली राजदूतका रूपमा पञ्जावको पटियाला दरबारका सदस्य सुरजितसिंह मजिठिया काठमाडौं उत्रेका थिए। उनीपछि भारतले २३ जना राजदूत काठमाडौँ खटाइसकेको छ । तर मजिठिया मात्रै तुलनात्मक रुपमा विवादरहित राजदूतका रुपमा चिनिन्छन् । त्यसो त भारतले विहार र उत्तरप्रदेश जन्मथलो भएकाहरू नेपालमा राजदूतको रुपमा खटाउँदै आएको छ ।

खुला सीमाना, व्यापार लगायतका हिसाबले निकै नजिकको दक्षिणी छिमेकी मुलुकका लागि महत्वपूर्ण कुरा चाहि के छ भने नेपालको मामिलामा अक्सर भारतीय राजदूतहरु विवादमा तानिन्छन् । बेटी र रोटीको सम्बन्ध जोडिएको नेपाल भारत सम्बन्धमा अधिकांश राजदूतहरु कुनै न कुनै हिसाबले विवादमा तानिएकै छन् ।

अझ द्धन्दकाल सकिएपछि तत्कालीन भारतीय राजदूत राकेश सुद खटिएका थिए । उनीमाथि त तत्कालीन माओवादीले जुत्ता नै प्रहार गरेको थियो। अन्य राजदूत पनि विवादको घेरोबाहिर रहन सकेनन् । बरु पहिलो राजदूतजस्तै करिअरको अन्तिम राजदूत कार्यकाल नेपालमा बितारहेका नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी तुलनात्मक रुपमा विवादमा आएनन् । न त उनको सार्वजनिक आलोचना नै भएको पाइएको छ ।

२०७३ चैत्र १३ गते राजदूतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाइ ओहदाको प्रमाणपत्र चढाएपछि औपचारिक कार्यकाल थालेका पुरी कार्यकालको उत्तरार्धमा छन् । यस अघिका राजदूत कतिले कार्यकाल पूरा नहुँदै मुलुक छाडे । कतिले दक्षिणी प्रभाव यहाँ जे जसरी छ भनिन्छ त्यस्तो गर्न नसकेको देखियो र मुलुक छाडे ।

छिमेकी देश भारतसँगको सन्निकट सम्बन्ध र त्यसको राजनीतिमा देखिँदै आएको प्रभावले मात्र होइन नेपालको भूराजनीतिक अवस्थाका कारण पनि यहाँ आउने भारतीय राजदूतहरुको व्यवहारप्रति अधिकांशको चासो रहेपनि पुरीप्रति कोही कसैले दुराभाव राखेको देखिएन् । किन त ?

भारतीय राजदूतहरु विवादमा आउँछन् र यिनी आएनन् नि भन्ने नेपाल आजको प्रश्नमा प्राध्यापकसमेत रहेका पूर्वराजदूत लोकराज बराल भन्छन् –‘मुख्य कुरा त अहिले भारत सरकारको नीति नै वेट एण्ड सी को छ भने राजदूत पनि नाकाबन्दीपछिको बिग्रेको सम्बन्ध कुन आधारमा सुध्रिन्छ भन्नेमा लागे । पहिला पहिला माइक्रो म्यानेजमेन्टमा लागेपनि अहिले त्यतापटि लागेको देखिएन् । भारत सरकारको नीति, राजदूतको स्वभाव र नेपालपछि राजदूत पुरीको डिप्लोमेटिक करिअर पनि सकिने भएकाले उनले नेपालसँगको भारतको सम्बन्ध सुध्रियोस् भन्ने चाहेको देखिन्छ ।’

त्यसो त हालसम्म नेपालका लागि २३ जना भारतीय राजदूतले लैनचौरको कुर्सी सम्हालिसकेका छन् । पुरी २४ औं राजदूत हुन्। उनले कार्यकालभरी राजनीति भन्दा सांस्कृतिक, कला, मनोरञ्जनात्मक सेतु बनेर कुटनीति गरिरहे । नेपालका लागि भारतीय राजदूत रञ्जित रे फर्केकै दिन भारतले सन् २०१७ मार्च १ मा पुरीको नाम मनोनयन गरी नेपाल सरकारलाई जानकारी गराएको थियो।

युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका लागि भारतीय राजदूत रहेकै समयमा पुरीलाई नेपालको राजदूतमा मनोनयन हो। जानकारहरू पुरीलाई भारतका एक घगडान र आक्रामक कूटनीतिज्ञ ठान्छन् । हुन पनि उनले नाकाबन्दीपछि जनस्तरसम्मै चिसिएको भारत–नेपाल सम्बन्ध सुधार्न उनका लागि जनस्तरकै कामहरुमा ध्यान दिएको बरालको बुझाइ छ ।

राजदूत विवादका श्रृङखला

नेपालका लागि भारतीय राजदूत विवादमा पटक पटक आउने गरेका छन् । अघिल्ला राजदूत रञ्जित रे आफ्नो चार वर्षे कार्यकालमा विवादको पात्र बने । शान्त स्वभावका रायको बढी आलोचना हुनुको कारण थियो २०७२ सालमा नेपालले नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी। त्यसयता नेपाल र भारतबीचको सम्बन्धमा निकै उतारचढाव आइसकेको छ तरपनि जनस्तरमा नेपालीहरुको भारतसँगको सम्बन्धमा भने सुधार हुन सकेको छैन ।

माथि नै उल्लेख गरियो कि पहिला राजदूत सुरजितसिंह मजिठिया विवादरहित कार्यकाल चलाए । तर त्यसयता नेपालको राजनीतिक अस्थिरता र उथलपुथलबीच निकट छिमेकी राष्ट्रका राजदूतहरु आफ्ना कार्यका कारण विवादित बनेका छन् ।

मजिठियापछि दोस्रो राजदूतका रुपमा काठमाडौंमा आएका सीपीएन सिन्हाबाट सुरु भएको राजदूत विवादित बन्ने प्रसंग अघिल्ला राजदूत रञ्जित रे सम्मै चलिरह्यो । सीपीएन सिन्हा (चन्द्रेश्वर नारायण) पनि विवादित बनेका थिए। किनकी राणा शासनविरोधी सशस्त्र आन्दोलन चर्किंदै गर्दा काठमाडौंमा एक प्रमुख ‘एक्टर’ उनी थिए।

राजा त्रिभुवनलाई नारायणहिटीबाट निकालेर दिल्ली पु(याउनदेखि २००७ सालको क्रान्तिको सफलतापछि नयाँदिल्लीले राजा त्रिभुवनका सेक्रेटरीका रूपमा गोविन्द नारायणलाई साथ लगाएर पठायो। राजदूत सिंह त्यसपछि झनै शक्तिशाली बने र ‘क्याबिनेट’ बैठकमै बसेर निर्देशन दिन थाले। भारतीय सैनिक मिसन भित्र्याउन पनि सिन्हाको भूमिका थियो।

राजदूत सिंहपछिका राजदूत भगवान सहायले कार्यभार सम्हाले । सहायले पाँच वर्ष काठमाडौंमा बिताए। राजदूत सहायले ‘गभर्नर जनरल’ले जसरी नेपालमा बसेर राजनीतिक हस्तक्षेप गर्ने गरेको पाइन्छ। महाराजाकृष्ण रसगोत्रा राजदूत बन्नुअघि नै काठमाडौंमा प्रथम सचिव भएर बसेका थिए। राजदूतका रूपमा अनेकन क्रियाकलाप विवादै विवादले भरिपूर्ण मानिए। आन्तरिक मामिलामा हस्तक्षेप र नेताहरूबीच कलह सिर्जना गर्न उनी सक्रिय रहेको आरोप लाग्यो।

सार्वजनिक रूपमै सरकार बनाउने र गिराउने खेलमा सरिक भएपछि उनको एग्रिमो पहिले स्वीकार गरिएको थिएन। तर, भारतको विशेष आग्रह आएपछि मात्र उनको एग्रिमो स्वीकृत भयो। उनकै कार्यकालमा नेपालमा भारतविरोधी मनोविज्ञान शिखरमा पुगेको मानिन्छ ।

त्यसपछिका राजदूतहरु श्यामशरण, शिवशंखर मुखर्जी र राकेश सुद त ठूलै विवादको घेराभित्र परेका थिए । सन् २००२– २००४ सम्म राजदूत भएका श्याम शरण, सन् २००४–२००८ सम्म राजदूत भएका शिवशंखर मुखर्जी र सन् २००८–२०११ सम्म राजदूत भएका राकेश सुद सबै नै विवादको घेराभित्र परेका थिए। २३ कुटनीतिज्ञमध्ये करिअर डिप्लोम्याट छाडेर भारतले राजनीतिक नियुक्तिका राजदूत पठाएका श्रीमन नारायण विष्णुको अवतार भन्दै राजा महेन्द्रको पूजासमेत गर्ने गर्थे।

विवादको घेरामा नपुगेका पुरी को हुन्  ?

मञ्जिवसिंह पुरी सन् १९५९ फेब्रोअरी १५ मा नयाँ दिल्लीमा जन्मिएका हुन्। ६५ वर्षीय पुरीका पिता पनि कुटनीतिज्ञ नै थिए। पिता धेरै समय विदेशमा रहनुपर्ने हुँदा उनले भारतमा नै रहेका आवासीय विद्यालयमा अध्ययन गरेका थिए। पुरीले दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए ९अनर्स० गरेका छन्। साथै, उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

कुटनीतिक सेवामा लाग्नअघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए। सन् १९८२ को ब्याचमा भारतीय विदेश सेवामा अफिसरको रुपमा प्रवेश गरेका थिए।

३५ वर्ष भारतको कुटनीतिक क्षेत्रमा बिताएका पुरीले सन् १९८४ देखि ८६ र १९९१ देखि ९४ सम्म जमर्नीमा खटिए। त्यस्तै, सन् १९८६ देखि ८९ सम्म बैंकक, सन् १९८९ देखि ९१ सम्म काराकास, १९९८ देखि २००२ सम्म केपटाउन, सन् २००२ देखि २००५ सम्म मस्कटमा रहेर कुटनीतिक क्षेत्रमा सक्रिय रहे।

सन् १९९४ देखि ९८ सम्म उनी ठूला राजनीतिक भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयको प्रोटोकल इन्चार्ज थिए। सन् २००५ देखि २००९ सम्म उनी भारतको विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघमा डिभिजन प्रमुख थिए । भारतीय जनता पार्टी निकट पुरीले यसअघि सन् २००९ देखि २०१३ सम्म अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघका लागि भारतको राजदूत तथा सहयाक स्थायी प्रतिनिधिको रुपमा कार्यसम्पादन गरिसकेका छन्।

पुरीले सन् २०११–१२ मा भारतको सुरक्षा परिषद्को वरिष्ठ सदस्यको रुपमा पनि काम गरेको अनुभव संगालेका छन्। दीर्घकालीन विकास र वातावरण संरक्षणको क्षेत्रमा काम गरेका पुरीले सन् २०१२ मा ब्राजिलको रियोमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतको तर्फबाट प्रमुख मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए।

राष्ट्रिय सुरक्षाको विषयम पार्टीको विदेश नीति मनपरेको बताउँदै उनी सन् २०१४ को जनवरीमा भारतीय जनता पार्टी प्रवेश गरेका थिए। पत्नी नम्रितासहित दुई छोराछोरी पुरीको परिवारका सदस्य छन्। श्रीमती नम्रिता पनि कुटनीतिक क्षेत्रमा नै कार्यरत छिन्।

पुरीले कन्सर्ट, फेसन शो, कल्चरल कार्यक्रममा बढ्ता जोड दिएर भूकम्पपछि निकै चिसिएको नेपाल भारत सम्बन्ध उठाउन उल्लेख्य भूमिका खेलेको कतिपयको बुझाइ छ । साथै उनले सांस्कृतिक आदान प्रदान व्यापार व्यवसाय प्रवद्र्धन जस्ता कार्यक्रममा निकै लागिरहे ।

को आउलान अब ?

पुरीको कार्यकाल विवादबाहिरै रह्यो । अघिल्ला राजदूत रे नाकाबन्दीका कारण शान्त स्वभाव भएपनि विवादमा फस्नुपर्यो । पुरीपछि को आउलान् भन्नेबारे पनि चासो सुरु भएको छ किनकी पुरी वरिष्ठ कुटनीतिज्ञको छवि बनाएका पुरी भारतीय प्रधानमन्त्रीले बिग्रेको सम्बन्ध सुधार्नकै लागि रोजेका थिए ।

किनकी जे जस्तो रहेपनि नरेन्द्र मोदी नेपाल नीतिमा नरम, नेपाललाई माया गर्ने, नेपालको हित चाहने भारतीय प्रधानमन्त्री रहेको कतिपयको बुझाइ छ किनकी तत्कालीन कंग्रेस आइले नियुक्त गरेका राजदूतहरु ठूलै विवादको घेरोभित्र रहे भने नेपाल नीति पनि नरम बन्न सकेन । आफ्ना दुई कार्यकालमा भारतीय प्रधानमन्त्री मोदी तीन पटक नेपाल भ्रमण गरिसक्दा १० वर्ष कार्यकाल चलाएका मनमोहन सिंहले एक पटक पनि नेपालको औपचारिक भ्रमण गरेनन् ।यसले पनि मोदी नेपाल नीतिमा नरम रहेको विश्लेषण गरिन्छ । त्यसैले पनि अब को आउलान् भन्ने चासो चुलिँदै गएको छ ।

                        श्रोत –  नेपाल आज

शुक्रबार, ०६ मंसिर, २०७६, दिउँसोको ०१:४९ बजे

सम्बन्धित खवर