पदमुक्त र नियुक्तमध्ये ओली मन्त्रीमण्डलका चर्चित ३ अनुहार को कस्ता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सारथीहरुको हेरफेर गरेका छन् । उनले केही हक्की र चर्चित अनुहार फालेर केही नयाँ र केही पूराना अनुहारलाई मन्त्रिपरिषदमा भित्र्याएका छन् । फालिएका र भित्र्याइएकामध्ये केही अनुहारबारे आम जनमानसमा प्रश्न उब्जिएको छ । किन हटाइए ? कामगर्नेहरु, प्रश्न ओइरिन थालिसकेका छन् । ‘यसको सट्टा उसलाई किन ल्याइयो ?, जानेको के ठीक थिएन ? र आउनेमा त्यस्तो खास के छ ? जस्ता प्रश्न उठ्नु स्वभाविक पनि हो । हामीले त्यस्ता केही अनुहारबारे चर्चा गरेका छौँ ।

गएका ३ अनुहार
श्रममन्त्री–गोकर्ण विष्ट
उद्योगमन्त्री–मातृका यादव
सामान्य प्रशासनमन्त्री–लालबाबु पण्डित

आएका ३ अनुहार
श्रममन्त्री– रामेश्वर राय यादव
उद्योगमन्त्री–लेखराज भट्ट
सामान्य प्रशासनममन्त्री– हृदयेश त्रिपाठी

अब मन्त्रालयगत चर्चा गरौँ,
श्रम मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गोकर्ण विष्टको बहिर्गमन र रामेश्वर राय यादवको आगमन भएको छ । गोकर्ण विष्ट यो सरकारमा श्रममन्त्री नहुँदै चिनिएको अनुहार हो । उनले उर्जामन्त्री हुँदै केही लोकप्रिय काम देखाइसकेका थिए । यतिसम्म कि विद्युत महसुल तिर्न अटेर गर्नेको लाइन आफैँ काटिदिए । वर्तमान सरकारमा आउनेवित्तिकै उनले मलेसिया रोजगारीमा ठगि गरिरहेका केही भेण्डरहरुलाई तह लगाए । फ्रि–भिसा, फ्रि–टिकट कार्यान्वयनमा जोड मात्रै दिएनन् उनले, मलेसिया, युएई, जापान, मोरिससँग श्रम समझदारी गरे । वैदेशिक रोजगारीको गन्तव्य सुरक्षित र मर्या्दित बनाउने कार्यमा बढी खटिए । उनले केही समयमै ओमानसँग श्रम समझदारी गर्ने प्रक्रिया समेत पूरा गर्दै थिए । त्यति मात्रै होइन, देखिने गरी उनले अन्य काम पनि गरे । सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने अभियान चलाए ।

अहिलेसम्म ५ हजार रोजगारदाता कम्पनीका ६६ हजार चार सय श्रमिक आवद्ध भइसकेका छन् । त्यस्तै, उनले गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ऐतिहासिक भनेको छ । मलेसिया, जापान र युएईमा शून्य लागतमा कामदार पठाउने सम्झौता भएकोमा प्रधानमन्त्रीले नै गर्व गरेका छन् । तर, त्यसको जस विष्टलाई दिन चाहेनन्, प्रधानमन्त्रीले । जागिरै चट् भयो । मन्त्रिपरिषद हेरफेरको कुरा चलेदेखि प्रधानमन्त्रीले भन्ने गरेको एउटै बाक्य–काम नगर्नेलाई हटाइन्छ । तर, काम गरिरहेकै मन्त्रीलाई हटाउनु पर्ने के बाध्यता आइलाग्यो त्यो प्रधानमन्त्री स्वयंले जानुन् । तर, अब विष्टको ठाउँमा ल्याइएका रामेश्वर राय यादवले दोब्बर काम गरेको देख्न पाउलान् नागरिकले ? यो प्रश्न त जनताले अवश्य गर्छन् । अर्को्तिर शंकाको कुरा वैदेशिक रोजगारमा विष्टले राम्रो काम गर्दा गर्दै चुक्ली लगाउने पार्टीकै रोजगार व्यवसायीहरुलाई यादवले झेल्न सक्लान् कि नसक्लान् । विष्टजस्तो ज्याद्रो भएर बस्लान् ? टुनामुना, षड्यन्त्र, लोभ, लालचलाई परास्त गर्लान् ? २२ महिना सरकारमा रहँदा विष्टकाबारे आम नागरिकले यस्ता कुरा सुन्नु परेन । के त्यो साख कायमै रहला, श्रममन्त्रालयको ?

को हुन् श्रम मन्त्रालय सम्हाल्न आइपुगेका रामेश्वर राय यादव ?
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम नेपालको वरिष्ठ उपाध्यक्षबाट राजीनामा ठोकेर माओवादी केन्द्रमा प्रवेश गरेका नेता हुन्, यादव । नेपाल ल क्याम्पसबाट बिएल गरेका यादव सरकारी जागिर छाडेर २०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गरे । २०५२ मा कानुन मन्त्री र पछि समाजकल्याण र वनमन्त्री बनेका छन्, उनी । २०६४ को मधेश अन्दोलनसँगै उनी मधेसी जनअधिकार फोरम आइपुगे । २०७० सालमा समानुपातिकतर्फबाट सभासद बने । फोरम भित्रको विवादसँगै नेता राय विजय कुमार गच्छदारको लोकतान्त्रिक फोरम पुगे । उनले लोकतान्त्रिक फोरममा पार्टीको वरिष्ठ उपाध्यक्ष पद पाए । वरिष्ठ उपाध्यक्ष रहेका राय गत स्थानीय तह निर्वाचनताका माओवादी केन्द्रमा प्रवेश गरेपछि उनको राजनीति एकाएक फेरियो । उनले नवप्रवेशी नेताकै हैसियतमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाए र चुनाव जिते । अहिले मन्त्री पड्काए ।

उद्योग मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मातृका यादव बाहिरिएका छन् । लेखराज भट्ट भित्रिएका छन् । यसमा आश्चर्य मान्नुपर्ने कुरा केही छैन् ।

नेतृत्वमा बस्नेको छवि र काम त नागरिकले पक्कै हेर्छन् नै । नागरिक नेताको छवि राम्रो भएन भनिरहेका छन् । यादवको ठाउँमा अरु कोही मान्छे आएको होइनन् । उही पार्टी र त्यसको पनि उही खेमा (तत्कालिन माओावादी) बाट आएका हुन् । एकै खेमाबाट विस्थापन र स्थानान्तरण गरिनुले के अर्थ राख्ला र ? स्वच्छ छवि भएका र काम गरिरहेका व्यक्तिको विकल्प किन ? यादवका ठाउँमा आएका व्यक्ति नयाँ पनि होइनन्, उनी परीक्षण भइसकेका व्यक्ति हुन् । हुन त यादव पनि पहिले मन्त्री भइसकेका व्यक्ति हुन् । तर, उनी कतै गन्हाएनन् । अहिले पनि यादवलाइ कसैले बदमासी गरेको छ भनेर भन्न सकिरहेका छैनन् ।

कामकै कुरा गर्ने हो भने, यो २२ महिनामा उनले कयौँ काम गरेका छन् । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन मानिएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटन उनकै कार्यकालमा भयो । त्यो पनि तोकिएको भन्दा कम समयमै काम फत्ते भयो । त्यस्तै, उत्पादन बढेको, औषत १३.९ प्रतिशतमा आयात सिमित गरेको र निर्यात १९.४१ प्रतिशत वृद्धि गरिएको कुरा सरकारले आफै स्वीकारिरहेको छ । नवलपरासीको धौवादीमा फलामखानी सञ्चालन गर्न सरकारले कम्पनी स्थापना गरेको काम झन् लुकाएर लुक्ने कुरा भएन । यस्तै, भेहिकल कन्साइमेन्ट ट्रयाकिङ् प्रणाली लागू गरेपछि यो सञ्जालमा ३० हजार भन्दा बढी फर्महरु जोडिएका छन् । त्यति मात्रै होइन, उखु किसानको भुक्तानी रोकेर बसिरहेका उद्योगीलाई भुक्तानी दिन गरेका निर्देशन र नदिए थुन्नेसम्मका चेतावनी, के यी उपलब्धि होइनन् ? दक्षिणी र उत्तरी नाकामा क्वारेन्टाइन जाँच र विषादी परिक्षण, भलै त्यो विषयमा केही समय रडाको मच्चियो । तर, गरेको आँटलाई त कुनै न कुनै प्रयास मान्न सकिएला नि ! तर, अबको बाँकी समयमा जसलाई यो मन्त्रालयको नेतृत्व दिइएको छ, उनले यो भन्दा बढी देखिने गरी काम गर्नै पर्ने हुन्छ ? नभए त प्रश्न प्रधानमन्त्रीलाई नै तेर्सिने हो, पालो दिन मात्रै मन्त्रिपरिषद हेरफेर गरिएको होकि, परिणाम दिन ? अनि अर्को्तिर प्रधानमन्त्री आफैले परिणाम दिन भनेर कार्यसम्पादन सम्झौता गरेका छन् । अब ति कार्यसम्पादन सम्झौता के होलान् ? कुन गतिको प्रगति खोजिएको थियो ? त्यो कसरी लयमा आउला र गति पाउला ? प्रश्न गर्ने आधारहरु त कयौँ तयार भएका छन्, होइन र ?

को हुन् उद्योग मन्त्रालय सम्हाल्न आइपुगेका लेखराज भट्ट ?
पहिले पनि वाणिज्यमन्त्री भइसकेका लेखराज भट्टको आगमनलाई यो वा त्यो भन्नु भन्दा पनि उनको आवश्यकता किन भन्ने प्रश्न महत्वपूर्ण होला । उनले पहिले पनि काम गरिसकेकाले परिणाम दिन ल्याइएको भन्ने सोझो उत्तर आउन सक्छ । तर, बहिर्गमनमा परेका मन्त्री यादवले चिनीको आयातमा कडाई गरि स्वदेशी उद्योग र उखुँ किसानको पक्षमा काम गर्दा भट्टले संसदीय समितिमा अर्बाै घोटला भयो भनेर किन त्यति धेरै कुर्लिए ? अब उनको पालामा स्वदेशी उद्योग र किसानको पक्षमा के हुँदो रहेछ ? भनेर मान्छेहरुले सोधीखोजी गर्लान् कि नगर्लान् ? एउटै खेमाको एउटा हक्की व्यक्ति हटाएर अर्को व्यक्तिको आगमनका पछाडिको कारण त सामान्यजनले पनि खोज्ने भए नि ! भट्ट यसअघि विभिन्न विवादमा परेको देखिन्छ । जुन यसप्रकार छ ( उनी पहिले यातायातमन्त्री हुँदा कैलालीको अत्तरियास्थित आफ्नै निवास अगाडि बसपार्क बनाउन लगाए । उनी त्यसमा निकै विवादित भए । गएको वर्ष मात्रै सुदूरपश्चिमको प्रदेश राजधानी बनाउने भनेर उनले आफ्नै घर नजिकै प्रस्ताव गरे, जो अहिलेपनि सुल्झिन सकेको छैन । र, त्यसमा अझै काम अघि बढेको छैन । यस्तै, उनी पहिले वाणिज्यमन्त्री हुँदा पनि खासै प्रगति भएको विवरण सुनिएको थिएनन् । १० वर्षे सशस्त्र संघर्षबाट आएपनि उनको काम गराईको शैली जनमुखि भन्दा पनि निर्वाहमुखि मात्रै रहेका चर्चा बढी सुनिन्छन् । तर, यसरी एउटै खेमाका अब्बल व्यक्तिको विकल्पमा भित्रिएका भट्टले काम नगरी सुख पाउलान् त ?

सामान्य प्रशासन मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट एउटा कडा स्वभावको अनुहार बाहिरएको छ भने अर्को त्यस्तै स्वभावको अनुहार भित्र्याइएको छ । कर्मचारीतन्त्रभित्र रहेका बेथितिविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका लालबाबु पण्डितले दुई पल्ट कर्मचारीसँगै रहेर काम गरे । विदेश भ्रमणमा मात्रै रमाउने तथा ग्रिनकार्ड र पिआर बोकेर हिँड्ने कर्मचारीलाई देखिनसहने लालबाबु केपी ओली नेतृत्वको वर्तमान सरकार गठन हुँदा पहिलो रोजाइमा परेका मन्त्री हुन् । ओली दोस्रोपल्ट प्रधानमन्त्री बन्दा सँगै सपथ खाने सारथी थिए, लालबाबु । त्यो बेला ओलीले लालबाबुलाई सरप्राइज पनि दिएकै हुन् । लालबाबुलाई मन्त्री बन्दैछु–भन्नेकुरा शीतलनिवासमा सपथ ग्रहणको सारा तयारी भइसकेपछि मात्रै थाहा भएको थियो ।

उनलाई सपथ खानु ५ मिनेट पहिले मात्रै जानकारी दिइयो । सुरु मन्त्रिपरिषद विस्तार गर्दाका सारथी थिए, लालबाबु र थममाया थापा । तर, अहिले दुबै रहेनन् । लालबाबुको काम हेर्ने हो भने, प्रधानमन्त्री आफैले जटिल भनिरहेको कर्मचारी समायोजन सफल भयो । उनले कर्मचारीलाई चुनौतीको भाषा प्रयोग गर्दै कयौँ पटक खटाइएको ठाउँ जान भनिरहे । तर, पार्टी निकट कर्मचारीले नै उनलाई साथ दिएनन् । त्यसका बाबजुद पनि स्थानीय तहको स्वीकृत दरबन्दी ६६ हजार नौ सय आठमध्ये ४३ हजार आठ सय सात समायोजन भएको छ । यस्तै, स्थानीय हतमा अपुग २३ हजार तीन सय ९९ कर्मचारीमध्ये १३ हजार छ सय ४५ पदपूर्तिका लागि लोकसेवाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रदेशमा स्वीकृत २१ हजार तीन सय ९९ दरबन्दीमध्ये १३ हजार आठ सय २१ कर्मचारी समायोजन भएका छन् । बाँकी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोग गठन भइसकेका छन् । अहिले कर्मचारी खटनपटनको अपसज लालबाबुले नै पाएका छन् ।

को हुन् सामान्य प्रशासन मन्त्रालय सम्हाल्न आइपुगेका हृदयेश त्रिपाठी ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठीको आगमन भएको छ । स्वभाव उनको हक्की नै हो । तर, रिस फेर्नलाई सिपालु । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भौतिक योजनामन्त्री रहेका त्रिपाठीले काठमाडौंमा बस्नेहरुसँग रिस फेर्न ड्याङ्डुङ घरहरु भत्काउन लगाएको बताइन्छ । पछि त्यसलाई डा. बाबुराम भट्टराईले काठमाडौंको सडक विस्तार गरेर राम्रो काम गरेको आवरण दिइयो । यो कुरा त्रिपाठीले खुलमखुल्ला बाहिर नभने पनि एक दुई पल्ट उनको मुखबाट फुस्किएको छ । तर, अब उनी मधेस केन्द्रीत मानसिकताबाट माथि उठिसकेकाले त्यस्तो रिस नफेर्लान् । छुट्टै समूहमा बसेपनि उनी नेकपा निकट भएकै कारण पनि उनले यसो नगर्नु पर्ने हो । स्वतन्त्र उम्मेदवारको आवरणमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी पाँच हजार मत अन्तरले विजयी भए । त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याए ।

उनका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए । प्रदेश एवं प्रतिनिधि सभा चुनावमा सूर्य चिह्न लिएर लड्नुअघि त्रिपाठी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । त्रिपाठीको विगत जान्ने हो भने, वामपन्थी विचारधाराबाट प्रभावित भई २०३१ सालदेखि राजनीतिमा सक्रिय भए । नेपाल सदभावना पार्टीबाट तत्कालीन प्रतिनिधिसभा सदस्य समेत भएका त्रिपाठी २०६४ सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी भए । तर, २०७० सालको चुनावमा भने उनी त्यही क्षेत्रबाटै पराजित हुन पुगे । तत्कालीन तमलोपाको उपाध्यक्ष तथा संसदीय दलको उपनेता भएका त्रिपाठी पछि राजपाको सहअध्यक्ष समेत भए । उनी गणतन्त्रअघि र पछि गरी पटक–पटक मन्त्री भएका छन् । उनले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन विताए । ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन पनि काटे । राजनीतिमा चतुर मानिने उनलाई अब कर्मचारीतन्त्रसँग काम गर्न भने चुनौतीपूर्ण छ । राजनीतिमा जतिनै चलाखि गरेपनि नागरिकले पक्कै परिणाम खोज्ने छन् । र, यो कुराको हेक्का त्रिपाठीले पक्का राख्ने छन् । नभए मन्त्री फेर्नुका कारण पेश गर्नु पर्ने छ, प्रधानमन्त्रीले ।

          janatapati

शुक्रबार, ०६ मंसिर, २०७६, दिउँसोको ०२:०४ बजे

सम्बन्धित खवर