चुनौतिको चाँङमा प्रचण्ड , एक्लो कमाण्ड फलामको चिउरा बराबर

‘माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग प्रचण्डको सम्बन्ध राम्रो देखिन्छ । ओलीसँगको सम्बन्धलाई कसरी सन्तुलन र विश्वासमा राख्न सक्छन् भन्ने विषयले कार्यकारी अध्यक्षमा प्रचण्डको सफलता निर्धारण गर्नेछ ।’

गत साता राष्ट्रिय युवा संघको पहिलो केन्द्रीय कमिटीको सपथग्रहण तथा बैठकको शुभारम्भ गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने, ‘दुई सिंह एउटा जंगलमा बस्दैनन् भन्थे, हामी सँगै बसेका छौं।’

ओलीको यो भनाइ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको सम्बन्धप्रति लक्षित थियो।

दुई अध्यक्षबीचको कार्य्विभाजनको विषय निकै जोडसँग उठिरहेको र दुवैबीच सरकारलगायत समग्र ‘पावर सेयरिङ’ का लागि चलेको तीव्र रस्साकस्सीबारे व्यापक चर्चा भइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आएको थियो।

त्यसको एक साता नबित्दै बुधबार सत्तारुढ दल नेकपाको सचिवालयले ‘दुई सिंहबीचको सीमा’ अलि छुट्याइदियो।

संगठनात्मक र वैचारिक रुपमा संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको नेकपा दुई अध्यक्षबीचको कार्य्विभाजनपछि अर्को एउटा नयाँ चरणमा प्रवेश गरेको छ।योसँगै कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका दाहाल सामु चुनौतिका चाङ पनि थपिएको छ।

ओलीसँगको सम्बन्ध
सरकारको कमान्ड सम्हालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध कसरी अघि बढ्छ भन्ने विषयले कार्यकारी अध्यक्ष दाहालका लागि धेरै कुरा निर्धारण गर्नेछ। बरियताक्रममा एक र दुई नम्बरमा रहेका दुवै अध्यक्षलाई समान हैसियतका भनिए पनि एकतापछिका करिब १८ महिना दाहाल ओलीको छायाँमै रहे। दाहालले कार्य्विभाजनको विषय निरन्तर उठाइरहेपनि ओलीले यो अवधीमा उनलाई लतार्दै आएका थिए। अहिले आएर दाहालले पार्टीको सशर्त जिम्मेवारी पाएका छन्।

‘अहिले पनि ओली पुरै रुपमा पार्टी अध्यक्षको जिम्मेवारी छाड्ने पक्षमा छैनन्, कार्य्विभाजन सम्बन्धी निर्णयले पनि त्यो देखाउँछ,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग प्रचन्डको सम्बन्ध राम्रो रहेको देखिन्छ। तर, उनले ओलीसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राख्छन, त्यो नै प्रमुख विषय हो।’

श्रेष्ठका अनुसार पार्टी शीर्ष नेताहरुले प्रचण्डलाई नेताका रुपमा स्वीकार्लान। तर एमालेको ठूलो पङ्तीबीच स्वीकार्य हुन समस्या पर्न सक्छ वा समय लाग्न सक्छ, जुन एउटा ठूलो चुनौति हो। कस्तो देखिन्छ भने अहिलेलाई ओलीसँगको सम्बन्ध जति सन्तुलित र विश्वासयोग्य बनाउन सक्यो त्यति नै सहज हुनेछ दाहालका लागि पूर्व एमाले पक्षको विश्वास जित्न।

गुट व्यवस्थापन
पूर्ववत् पार्टीका गुट तथा तत्कालीन उपगुटहरु एकीकृत पार्टीमा समेत सक्रिय छन्। मोहन वैद्य किरण र बाबुराम भट्टराईको तत्कालीन माओवादी पार्टीबाट बार्हिगमनपछि माओवादीभित्र दाहाललाई चुनौति नै दिनसक्ने शक्ति रहेन। तर गुटहरु भने सक्रिय थिए। जसमा नारायणकाजी श्रेष्ठको पूर्व एकताकेन्द्र पृष्ठभूमिको गुट र रामबहादुर थापा बादलको अर्को गुट, जो वैद्यसँग पार्टी फुटाएर गए तर पछि वरिष्ठ नेताहरुको एउटा समूहसहित दाहालकै दलमा फर्के। अरु दोस्रो तहका प्रभावशाली नेताहरुका आ–आफ्नै उपगुटहरु पनि सक्रिय छन्, पूर्व माओवादी खेमामा।

नेकपाभित्र शीर्ष नेताहरुका छुट्टाछुट्टै शक्तिशाली गुट छन्। एमालेभित्र ओलीबाहेक, महाधिवेशन देखिकै माधवकुमार नेपालको प्रभावशाली गुट छ। त्यत्तिकै शक्तिशाली नभएपनि आन्तरिक राजनीति र समिकरणलाई बेलाबेला उलटपालट पार्ने नेताका रुपमा चिनिने वामदेव गौतम वरिपरि एउटा समूह सँधै रहन्छ। पार्टी र सरकारको नेतृत्वले कहिले पनि कम आँक्न नहुने नेता हुन् गौतम। ओलीलाई पार्टी अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका गौतम अहिले पनि उत्तिकै सक्रिय र महत्वाकांक्षी छन्।

ओली र नेपाल गुटभित्रै पनि छुट्टाछुट्टै उपगुटहरु निकै सक्रिय छन्। त्यसलाई व्यवस्थापन गरेर केन्द्रदेखि तल्लो तहसम्म पार्टी पद्धतिअनुसार सञ्चालन गर्नु निकै चुनौतिपूर्ण छ।

‘नेकपामा अब शुरु हुने मुख्य कसरत भनेको महाधिवेशनका लागि शक्ति सञ्चय हो, जसका लागि सबै गुट–उपगुट मरिमेटेर लाग्नेछन्’, राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘अन्तरविरोधहरूको व्यवस्थापन गर्दै केन्द्रदेखि तल्लो कमिटीसम्म पार्टी सहज रुपमा सञ्चालन हुने अवस्था सिर्जना गरेर मात्रै पुग्दैन, पार्टीका समर्थकहरुलाई पनि यसमा सहभागी गराउनु पर्ने चुनौति छ।’

ओली, नेपाल र पूर्वमाओवादीबीचको सन्तुलन नमिलाइ दाहालले एकपक्षीय रुपमा पार्टी सञ्चालन गर्नसक्ने स्थिति छैन।

संगठन र विचार निर्माण
एकीकरणको १८ महिनापछि केन्द्रदेखि जिल्ला तहसम्म बल्ला पार्टीको प्रमुख संरचना निर्माण भएको छ। तर, वैचारिक अस्पष्टता अझै कायम छ। एकता महाधिवेशनबाट वैचारिक लाइन प्रष्ट पार्ने भनेर नेतृत्वले सैद्धान्तिक विषय सल्टाउनुको साटो पर सारेपछि अहिले दुवै पक्षका कार्यकर्ता वैचारिकरुपमा अन्योलमा छन्। जतिजति महाधिवेशन नजिकिँदै गर्छ, त्यति नै वैचारिक विषय मुखर भएर आउनेछ। एमालेको ठूलो पंक्ति जनताको बहुदलीय जनवादसँग भावनात्मक रुपमा जोडिएको छ भने सशत्र विद्रोहबाट आएका माओवादी कार्यकता पंक्तिमा जनयुद्धको धङधङ्गी बाँकी नै छ। यो विषयले कुनै पनि मोडमा संवेदनशील वा आक्रामक रुप लिनसक्छ। महाधिवेशनको रस्साकस्सीका बेला सबै प्रतिस्पर्धीले तत्कालीन जोडघटाउ हेरेर आफ्ना आ–अश्त्र प्रयोग गर्न सक्छन्। पार्टी नेतृत्वमा रहेका दाहालले त्यो विषयलाई कति संयम र कुशलतापूर्वक सल्टाउन सक्छन् भन्ने अर्को जटिल विषय हो।

भातृ संगठनहरुको संरचना पूर्ण रुपमा निर्माण भइसकेको छैन। ठूला भातृ संगठनमा जिल्लाका नेतृत्व तोक्नेमा राष्ट्रिय युवा संघ मात्रै रहेको छ। कतिपय भातृ संगठनको केन्द्रीय समिति समेत बन्न सकेको छैन। पार्टीका केन्द्रीय नेतालाई विभाग तोके पनि अन्य सदस्यहरु चयन भएकै छैनन्। कुनैपनि भातृसंगठनका संरचनाले पूर्णता पाएका छैनन्।

पार्टीको जिल्ला कमिटीहरुमा विवाद उत्तिकै छरपष्ट छ। प्रदेश दुईको समस्या सबैभन्दा जटिल छ। त्यहाँका पूर्व माओवादीबीचमै ठूलो विवाद छ। रामबहादुर थापा समूह भित्रिएपछि देशभर समायोजन भएपनि प्रदेश दुईका माओवादी जिल्ला कमिटी गठन नै हुन सकेको थिएन। एमालेतर्फका नेता पनि प्रदेश दुई मा अन्यत्रभन्दा बढी विभाजित छन्। यो सबै व्यवस्थापन गर्ने जिम्मेवारी दाहालको काँधमा आएको छ।

समयमा महाधिवेशन
पार्टीको कार्यकारी अध्यक्षका रुपमा दाहालका लागि अर्को चुनौति हो– समयमा महाधिवेशन सम्पन्न गर्नु। एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा एक वर्ष्भित्र एकता महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर दुई वर्षमा पनि महाधिवेशन हुन नसक्ने निश्चित भैसकेको छ।

पार्टीलाई संगठनात्मक र वैचारिकरुपमा सुदृढ बनाउनका लागि समयमा एकता महाधिवेशन गरि नेतृत्व चयन र वैचारिक प्रष्टता हुनु आवश्यक छ। तर पार्टी्भित्रका मुख्यत तीन पक्ष (दाहाल, ओली र नेपाल) बीच सहकार्य नभएसम्म महाधिवेशन आयोजना गर्न सहज हुने छैन।

महाधिवेशन सम्पन्न गरेर लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट गर्ने प्रक्रिया लामो समयसम्म रोकियो भने पार्टीको वैधानिकता र नेतृत्वको हैसियतमा समेत प्रश्न उठ्नेछ।

फरक स्कुलिङ
करिब पाँच दशक लामो निरन्तर फरक धारको राजनीतिपछि एमाले र माओवादीबीच एकीकरण भएको हो। एमाले पुष्पलाल श्रेष्ठ र माओवादी मोहनविक्रम सिंहको स्कुलिङबाट हुर्के। एमाले लामो संसदीय राजनीतिबाट आयो भने माओवादी सशस्त्र विद्रोहपछि पूर्णरुपमा खुला राजनीतिमा जोडिएको धेरै समय भएको छैन।

माओवादी र एमालेको पार्टी सञ्चालनको अभ्यास फरक थियो। माओवादी मुख्यतः कमाण्ड पद्धतिबाट सञ्चालन हुँदै आएको थियो, एमालेको संगठन भने समितिको पद्धतिबाट निर्दे्शित थियो।

‘कमाण्ड पद्धतिमा नेतृत्वले बोलेपछि सकियो तर, संगठन पद्धितमा नेताहरुबीच तीव्र मतभेद हुन्छ, सबैले कुरा राख्छन् तर निर्णय चाहिँ कमिटिबाटै हुन्छ’, श्रेष्ठले भने, ‘कमाण्ड पद्धतिमा पार्टी हाँकेका दाहालका लागि कडा संगठनात्मक पद्धतिमा पार्टी चलाउन चुनौतिपूर्ण हुनसक्छ।

शुक्रबार, ०६ मंसिर, २०७६, दिउँसोको ०२:२२ बजे

सम्बन्धित खवर