धानको तथ्याङ्क केलाइँदै

काठमाडौँ ७ पुस / कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनको तथ्याङ्क सार्वजनिक गर्ने तयारीमा जुटेको छ । किसानले धान काटेर घर भित्र्याइसकेपछि यस आर्थिक वर्ष २०७८/०७९ मा कति धान उत्पादन भयो, त्यसको तथ्याङ्क मिलाउनमा मन्त्रालय जुटेको छ । कृषि मन्त्रालय तथ्याङ्क महाशाखाका प्रमुख रामकृष्ण रेग्मीले सातवटै प्रदेशबाट धानको तथ्याङ्क प्राप्त भइसकेको छ, त्यसलाई एकीकृत गर्ने काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै तथ्याङ्कलाई एकीकृत गरिसकेपछि एक/दुई दिनमा धान उत्पादनको तथ्याङ्क सार्वजनिक गर्नेछौँ । ” यसपालि कति धान उत्पादन भयो, त्यसै अनुमानको भरमा केही भन्न नमिल्ने बताउँदै उहाँले बेमौसमी वर्षाका कारण धानमा भएको क्षतिका कारण उत्पादनमा केही थोरै केही कमी आउने हो कि भनी अनुमानमात्र हो । तर, जबसम्म सम्पूर्ण तथ्याङ्कलाई केलाइँदैनन् तबसम्म केही भन्न नसकिने बताउनुभयो ।
कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बेमौसमी वर्षाका कारण चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ । यसले धान उत्पादनमा पक्कै पनि केही असर पार्न सक्ने कृषि मन्त्रालयको अनुमान छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले मन्त्रालयमा तथ्याङ्क केलाउने काम भइरहेकाले कति उत्पादन भयो भनी त्यत्तिकै भन्न नमिल्ने बताउनुभयो । यद्यपि, बाहिर अनुमान गरेजस्तो बाढीकै कारण धान उत्पादनमा कमी नहुने उहाँले बताउनुभयो । केही ठाउँमा धानमा ठूलो क्षति गरे पनि बाँकी ठाउँमा धान राम्रो उत्पादन भएको देखिएको छ ।
रोपाइँको समयमा रासायनिक मलको अभाव नहुनु, समयमा सिँचाइ हुनु, बीउको उपलब्धता हुनुलगायतका कारण यस पटक उत्पादनमा त्यति फरक नहुने अनुमान गरिएको उहाँले बताउनुभयो । गत वर्ष ५६ लाख ३१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन उत्पादन भएको थियो । २०७/०७७ मा पनि बाढीले क्षति पु-याएका कारण २०७५/०७६ मा उत्पादनमा केही कमी आएको थियो । २०७४/०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन र २०७३/०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो ।

बुधबार, ०७ पुष, २०७८, बिहानको ११:१४ बजे

सम्बन्धित खवर