माओवादी राष्ट्रिय सम्मेलन : १५ सय ३३ प्रतिनिधि सहभागी हुने

काठमाडौँ, ७ पुष/ माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।
माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसमा सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताए । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने छ । उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताए ।
ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताए । साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ ।
१५ सय ३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए ।

बुधबार, ०७ पुष, २०७८, साँझको ०५:०५ बजे

सम्बन्धित खवर