कृषिप्रधान देशलाईआयातको ग्राफले गिज्याउँदै, कृषिजन्य बस्तुको आयात उच्च

     दमक/   नेपाल कृषिजन्य उत्पादनमा थप परनिर्भर हुँदै गएको देखिएको छ। भन्सार विभागका अनुसार, चालू आर्थिक वर्ष २०७८/८९ को पहिलो नौ महीना (चैतसम्म) मा नेपालले रु.तीन खर्ब एक अर्ब बराबरको कृषिजन्य वस्तुको आयात गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हो।

भन्सार विभागका अनुसार, चैतसम्म नेपालले रु.६१ अर्ब ६९ करोडको अन्न (धान, चामल, मकै इत्यादि) आयात गरेको छ। यसमध्ये धान चामलको आयात मात्रै रु.४० अर्बको छ।

त्यसै गरी रु.२९ अर्बको तरकारी, रु.१८ अर्ब ८२ करोडको फलफूल तथा रु.६ अर्ब ४४ करोडको चिनी र चिनीजन्य पदार्थको पनि आयात भएको छ। सबैभन्दा धेरै रु.एक खर्ब २३ अर्ब जतिको तेल तथा यसको कच्चा पदार्थ आयात भएको छ।

विभागका अनुसार, चैतसम्म नेपालले रु.एक खर्ब ६ अर्ब बराबरको कृषिजन्य वस्तुको निर्यात गरेको छ। नेपालमा उच्च उत्पादन भएर कृषिजन्य वस्तुको निर्यात बढेको भने होइन। तेस्रो मुलुकबाट मगाएर रिप्याकेजिङ गरी भारत निर्यात गरिएका पाम आयल र भटमासको तेल जस्ता वस्तुका कारण निर्यात उच्च देखिएको हो।

धेरै मूल्य अभिवृद्धि (भ्यालू एडिशन) नहुने यी चिजबिज तेस्रो मुलुकबाट मगाएर भारत पठाउँदा व्यापारीलाई लाभ भए पनि अर्थतन्त्रले धेरै लाभ पाउँदैन। यस्तो कारोबारबाट सरकारी राजस्वमा केही योगदान पुगे पनि रोजगारी सिर्जना तथा अर्थतन्त्रको दीर्घकालीन उत्पादक क्षमताको विस्तारमा अपेक्षित लाभ पुग्दैन।

पछिल्ला वर्षमा असाधारण रूपमा कृषिजन्य वस्तुको आयात परिमाण बढेको देखिएको छ। देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भए पनि कृषिजन्य वस्तुको आयात असाधारण रूपमा बढ्नु चिन्ताजनक रहेको विज्ञहरूले बताउँदै आएका छन्। तर, कतिपयले भने कृषिजन्य वस्तुको आयातको तथ्याङ्कमाथि प्रश्न उठाउने गर्छन्। नेपालबाट पूँजी पलायन गर्न नक्कली आयात देखाइएको समेत आशङ्का गरिएको छ। तर, यसको पुष्टि हुन सकेको छैन।

विदेशी मुद्राको सञ्चिति जोगाउन आयात नियन्त्रण गर्ने नेपाल राष्ट्र ब्यांकको पहलकदमीका बावजूद चैत महीनामा पनि आयात उल्लेख्य रूपमा घट्न नसकेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्याङ्क अनुसार, चैतमा रु.एक खर्ब ५८ अर्ब बराबरको आयात भएको छ। यो मासिक औसत आयात रकमभन्दा रु.पाँच अर्ब मात्रै थोरै हो।

आयात उल्लेख्य नघट्दा नेपालको वैदेशिक मुद्राको घट्दो सञ्चितिमा थप दबाब पर्नेछ। पछिल्ला महीनामा उच्च आयातका कारण नेपालको वैदेशिक मुद्राको सञ्चिति लगातार घटिरहेको छ।

तथ्याङ्क अनुसार, यो आर्थिक वर्षको पहिलो नौ महीना अर्थात् चैतसम्म नेपालले रु.१४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको वस्तु आयात गरेको छ। यो बितेको वर्षको यही अवधिका तुलनामा ३२ प्रतिशत धेरै हो। यो अवधिमा नेपालले रु.एक खर्ब ६० अर्ब ५७ करोडको निर्यात गरेको छ। यो बितेको वर्षको यही अवधिका तुलनामा ६९ प्रतिशत धेरै हो। विदेशसँगको व्यापारिक कारोबारमा नेपालले यो अवधिमा रु.१३ खर्ब ६ अर्बको व्यापार घाटा भोगेको छ।

उच्च आयातका कारण देशको बाह्य क्षेत्र असन्तुलित हुँदै गएपछि गत पुसयता नेपाल राष्ट्र ब्यांकले करीब ३०० प्रकारका वस्तुको आयातलाई मत्थर गर्ने नियमहरू कार्यान्वयनमा ल्याएको छ। यसको प्रभाव पुस र माघको आयातमा देखिएको थियो।

मंसीरसम्म औसतमा हरेक महीना रु.एक खर्ब ६८ अर्ब हाराहारीको आयात भइरहेकोमा पुसमा यो रकम रु.एक खर्ब ६१ अर्ब हाराहारीमा ओर्लिएको थियो। माघमा भने अझ घटेर रु.एक खर्ब ४८ अर्ब जतिमा सीमित भएको थियो। तर, फागुनमा भने रु.एक खर्ब ६१ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको थियो।

अघिल्लो वर्षको तुलनामा वस्तुको आयात परिमाण धेरै नबढे पनि अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा भएको उच्च मूल्यवृद्धिका कारण नेपालले बढी रकम भुक्तानी गर्नुपरेको छ। गत वर्षको तुलनामा पेट्रोलियम पदार्थ, कोइला, फलाम, मकै, गहुँ, भटमास आदिको मूल्य ह्वात्तै बढ्न पुगेको छ।

चैतसम्म नेपालले रु.दुई खर्ब ५७ अर्बको त खनिज इन्धन तथा यससँग सम्बन्धित उत्पादनको आयात गरेको छ। यो कुल आयात रकमको करीब १७ प्रतिशत हो।

शनिबार, १० बैशाख, २०७९, बिहानको ०६:५८ बजे

सम्बन्धित खवर