कोरोनाले सुस्ताएका पर्यटन क्षेत्र चुनावी चहलपहलसँगै तङ्ग्रिन थाले

विमल लामिछाने

दमक/  कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र चुनावी चहलपहलसँगै तङ्ग्रिन थालेको छ । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । यो सिजनमा हजारौं संख्यामा विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् ।

प्रदेश १ ले नेपालकै अब्बल पर्यटकीय सम्भावना बोकेको छ । सबैभन्दा अग्लो शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो केचनाकवल यही प्रदेशमा पर्छ । धनकुटा भेडेटार, इलाम लगायतका प्रमुख पर्यटकीय क्षेत्र भएका कारण प्रदेश १ मा पर्यटनको सम्भावना धेरै छ । कोरोना सामान्य भएसँगै भारतीय पर्यटकसमेत आउने क्रम बढ्न थालेको छ । अन्य देशबाट पनि पर्यटकहरु आउन थालेको व्यवसायीहरुले बताएका छन् ।

कोरोना महामारीले थलिएका प्रदेश १ का पर्यटनस्तरीय होटलहरुले ‘पिकअप’ लिन थालिसकेका छन् । झापाका विभिन्न मिनी पर्यटकीय गन्तब्यमा पर्यटकको आवागमन बढेको छ भने झापाबाहेक सुनसरीको धरान, धनकुटाको भेडेटार,इलाम र ताप्लेजुङका पाथीभरा मन्दिर,  इलामको फिक्कल, कन्याम लगायतका क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिक रूपमा बढिरहेको छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५ सय भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् ।

नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीको रूपमा कहलिएको पोखरामा १७औं फेवा महोत्सव चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना हुँदैछ ।

नयाँवर्ष लागेसँगै प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । पूर्वका बजारमा रहेका होटलहरू यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै पूर्वी क्षेत्रका व्यवसायीहरू पनि उत्साहित छन् । नेपाल पर्यटन वोर्डका अनुसार मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७ सय ४७ विदेशी पर्यटक नेपाल आएको तथ्यांक पर्यटन बोर्डको रहेको छ । भारतीय पर्यटक सन् २०१९ को मार्चमाभन्दा सन् २०२२ को मार्चमा धेरै भित्रिएका छन् ।

होटल व्यवसायीको छाता संगठन होटल संघ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ ।

दमकका होटल ब्यवसायी महासंघका १ नम्बर प्रदेश अध्यक्ष समेत रहेका राजन दंगालले दुई वर्षको उकुसमुकुपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताए । उनले भने – ‘महामारी रोकिएपछि विस्तारै आन्तरिक पर्यटक समेत बढ्दै जान थालेका छन् । मान्छे लामो समयसम्म घरमा थुनिएर बस्नु परेको थियो, कोरोना नियन्त्रणसँगै अब क्रमशः बाहिर निस्किन थालेका छन्, होटलका साथै आन्तरिक पर्यटकीय क्षेत्रमा चहल पहल बढ्न थालेको छ’ ।

पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ । महामारीकाबीच पनि पर्यटन क्षेत्र सकारात्मक ढंगबाट अघि बढ्न सक्छ भन्ने आशालाई कायम राखेकाले होटलमा लगानी बढेको होटल एसोसिएसनका क्षेत्रिय संयोजक राजन श्रेष्ठले बताए । विदेशी पर्यटकको रोजाईलाई मध्यनजर गर्दै प्रदेश १ मा होटलहरु बन्नेक्रम बढेको ब्यवसायीहरुको भनाई छ । वैदेशिक रोजगारीमा गएर फर्केकाहरुले होटलमा लगानी गर्दै आएका छन् भने विदेशमा आफूले देखेको संरचना र सिकेको सीप आफ्नै देशमा प्रयोग गर्ने उदेश्यले युवाहरुले पछिल्लो समयमा होटल क्षेत्रमासमेत लगानी गर्दै आएका छन् ।

शनिबार, १० बैशाख, २०७९, दिउँसोको १२:४८ बजे

सम्बन्धित खवर