आमा

कृष्ण बजगाईं
‘ह्याप्पी बर्थडे आमा ! आज तपाईंको जन्मदिन । शुभकामनाको केही शब्द सहित तपाईको फोटो फेसबुकमा राखेको छु । मेरा साथीहरू र केही आफन्तहरूले लाइक र कमेन्ट गर्ने छन् ।’ एक एनआरएनले फोनबाट आमालाई भन्यो ।

‘फेसबुक भनेको के हो बुझ्दिन बाबु । यता वृद्धाश्रममा पनि मेरो जन्मदिन मनाए ।’ आमाले सुनाइन्।

वृद्धाश्रमको नाम सुन्नेबित्तिकै मुख अँध्यारो पारेर फोन काट्यो । र आमाको बर्थ भनेर बोलाएको पार्टीमा साथीहरूसँग रमाउन थाल्यो । आधारातमा नाचगान र खानपिन सकिएपछि सिधै ओच्छ्यानमा लम्पसार पर्यो ।

‘तँ बाबु नभएको टुहुरो । तरुनी उमेरमै विधुवा भएकी म अवला । तँलाई गाँस काटेर खुवाएँ । सामान्य मजदूरी गर्दै हुर्काएँ । गरगहना बेचेर पढाएँ । सम्पत्तिको नाममा रहेको सानो घर बैंकमा धितो राखेर अमेरिका पठाएँ । उतै बिहे गरिस् । छोराछोरी जन्माइस् । उतै रमाइस् । बैंकले घर लिलाम गरेपछि मैले वृद्धाश्रममा शरण लिनु परेको छ । वर्षमा एकपटक मेरो जन्मदिनमा वृद्धाश्रममा फोन गर्छस् । तेरो आवाज सुनेर खुसी हुन्छु । भगवानले मेरो बाँकी आयु पनि तलाईं थपिदिऊन् ।’

उक्त आवाज सुनेपछि आमा….ऽऽऽ भनेर चिच्यायो । ऊ चिच्याएको सुनेर के भयो भन्दै सँगै सुतेकी श्रीमती पनि उठी ।

‘केही भएको छैन । सपना देखेर आत्तिएको हुँ ।’ लामो सास तानेर भन्यो ।

‘भर्खर सुतेको थिएँ । निद्रा कचमचियो । सुतौं अब ।’ यति भनेर श्रीमती कोल्टे फर्केर सुती ।

तर उसलाई निद्रा लागेन । त्यसपछि आमालाई जन्मदिनको उपलक्ष्यमा दिएको शुभकामनामा कति जनाले ‘लाइक’ र ‘कमेन्ट’ गरे भनेर गन्ती गर्न फेसबुक खोल्यो ।

अपसोच ! उसले आमालाई जन्मदिनको शुभकामना लेखेको तलतिर ‘कमेन्ट बक्स’मा साथीहरू र आफन्तहरूले आमालाई हार्दिक श्रद्धाञ्जली, समवेदना आदि लेखेका शोक सन्देशहरू मात्र देख्यो । आत्तिदै आमा….ऽऽऽ भनेर फेरि चिच्यायो। त्यसपछि ऊ बेहोस भयो।

आइतबार, ०९ जेठ, २०७८, बिहानको ०८:४९ बजे

सम्बन्धित खवर