मोरङ एसपी सन्तोष खड्काको सरुवा

बैकल्पिक खवर

मोरङ / मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको सरुवा भएको छ ।
अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका खड्काको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो काठमाडौं सरुवा भएको हो । एक वर्षभन्दा बढी समय मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा खड्का विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए ।
उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी-तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा खड्काले छुट्टै पहिचान बनाउन सके ।
यसैबीच प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको जिल्ला प्रहरी कार्यालय इलाममा सरुवा भएको छ । उनी कार्यरत रहेका ठाउँमा अर्थात प्रदेश १ प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा इलामका एसपी नवीनराज राईको सरुवा भएको छ ।
सुरुवा भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रमुख एसपी नकुल पोखरेल आउने भएका छन् । उनी यसअघि ट्राफिक महाशाखामा कार्यरत थिए । यसअघि धनकुटा प्रहरी प्रमुख रहेका गोविन्द अधिकारीको नेपाल प्रहरी प्रदेश कार्यालय धनुषामा सरुवा भएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय धनुषामा कार्यरत एसपी सुवासचन्द्र बोहराको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुखका रूपमा सरुवा भएको छ । यसअघि उदयपुर प्रहरी प्रमुख रहेका एसपी भीमबहादुर दाहालको नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा सरुवा भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको मानवस्रोत व्यवस्थापन महाशाखामा एसपी सुदीप राजभण्डारीको सरुवा भएको छ । यसअघि उनी सिरहा प्रहरी प्रमुख थिए । एसपी भुवनेश्वर तिवारीको सरुवा भएपछि उनको ठाउँमा राजभण्डारी आउने भएका हुन् । तिवारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको प्रमुखमा एसपी वासुदेव खतिवडाको सरुवा भएको छ । यसअघि एसपी सञ्जीव शर्मा प्रदेश १ का ट्राफिक प्रमुख थिए । शर्माको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा सरुवा भएको छ ।

बुधबार, ०९ असार, २०७८, रातीको ०९:१० बजे

सम्बन्धित खवर