व्यवसायीले सुरु गरे दोस्रो चरणको आन्दोलन

   विराटनगर/ विराटनगरका उद्योगीहरूले आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको राजस्व हेरफेर पुनर्विचार नभएको भन्दै आन्दोलन सुरु गरेका छन् । वनस्पति घिउ तेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई बजेटले मार्का पारेको भन्दै उनीहरू अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका थिए ।

बजेट पास भएपछि पुनर्विचार गर्ने भनेर अर्थमन्त्रीले भने पनि वास्ता नगरेका कारण आन्दोलन गर्नु परेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

मोरङको बुढीगङ्गा गाउँपालिकामा पर्ने धरान–विराटनगर राजमार्गको गोकुवा चोकबाट विरोध जुलुस र नेमुवा चोकमा कोणसभाको आयोजना गरिएको थियो।

वनस्पति घिउ तेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगलाई बजेटले मार्का पारेको भन्दै बुधवार देखी तीन व्यावसायिक सङ्गठन र चार मजदुर सङ्गठनले दोस्रो चरणको संयुक्त आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परि सङ्घ (सिएनआई)–को प्रदेश नम्बर १ सहित नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस समर्थित ४ ट्रेड युनियन सहभागी छन्।

विरोध जुलुसपछि आयोजित कोणसभामा मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाले गत जेठ २७ गते अर्थमन्त्री शर्मा र अर्थ सचिव मधुकुमार मरासिनीले उद्योगी व्यवसायीलाई वार्तामा बोलाएर बजेट पास भएका भोलिपल्टै तीन वटै उद्योगका समस्या समाधान गर्ने वचन दिए पनि अहिले कार्यान्वयन नगरेको आरोप लगाए।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले अर्थमन्त्री र अर्थ सचिवले आफ्नो बचन पूरा नगरेको बताए। सिएनआई प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले जेठ २७को आश्वासनको परिणाम अहिलेसम्म नआएको गुनासो गर्दै यो मुलुकमा आन्दोलन गरी केही नहुने परम्परा बसेकाले व्यवसायी र मजदुर संयुक्त रूपमा सडकमा निस्किएको बताए।

व्यापार सङ्घका पूर्व अध्यक्षप्रकाश मुन्दडाले व्यवसायी र मजदुर सडकमा आउनमा सरकार जिम्मेवार भएको हुँदा यो आन्दोलनमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने बताए।

बिहिबार, ०९ असार, २०७९, साँझको ०५:२८ बजे

सम्बन्धित खवर