दमक ,८ साउन / स्थानीय सरकारले नागरिकका समस्यालाई वेवास्ता गर्दै भ्रष्ट्रचार र कुशासनमा मस्त रहेको भन्दै दमक नगर भित्रका विपक्षी दलहरु बिरोधमा उत्रिएका छन् । नेकपा एमालेको एकलौटी बहुमत रहेको नगरपालिकामा नागरिकका समस्या समाधानमा स्थानीय सरकार रमिते मात्र बनेको बिपक्षी दलहरुले ठहर गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी र संघिय लिम्बुुवान मञ्च सहितका दलहरु संगठित भएर खबरदारीको तयारी गरेका हुन । माओवादी केन्द्रको नगर समिति कार्यालयमा भएको पाँच दलीय भेलाले नगरबासीका शैक्षिक ,स्वास्थ्य, विकास निर्माण लगायतका विभिन्न समस्याहरुलाई बुँदागत रुपमा छलफल गरि ती समस्या समाधानको लागी स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
दलहरुको भेलाले दमक नगरभित्र कोरोना संक्रमण अत्यधिक बढ्नुमा स्थानीय सरकार मातहत रहेको दमक अस्पतालको भिडभाड प्रमुख रहेको ठहर गरेको छ ।

स्वास्थ्य विमा अन्तर्गतका सेवाग्राहीलाई अन्य कुनै अस्पतालमा जान नदिई भिड गरेर लाईन लगाउनाले कोरोनाको जोखिम बढाएको कांग्रेस नगर सभापति रोशन विष्टले जानकारी दिए । दैनिक ५–६ सय नागरिक एकै ठाउँमा जम्मा हुँदा नगर भित्र कोरोना संक्रमण अत्यधिक रुपमा बढेको भन्दै त्यस तर्पm स्थानीय सरकारको ध्यान नदिएको विष्टले आरोप लगाए ।
त्यसैगरी स्थानीय सरकारले बिकास निर्माणमा आप्ना आसेपासेलाई मात्रै पोस्ने काम गरेको भन्दै दमक क्षेत्रमा भएको बिकास निर्माणका कामहरुमा आफुहरुसंग कुनै छलफल नगरेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य देउकुमार नेम्बाङले बताए । एकलौटी रुपमा जनप्रतिनिधिहरुका आफन्तलाई उपभोक्ता समितिमा राखि मनोमानी गरेको भन्दै उनले यसको शसक्त प्रतिकार गर्ने बताए ।
त्यस्तै नगरका सामुदायिक बिद्यालयहरुमा पनि काम चलाउ व्यवस्थापन समितिले काम गरिरहेको भन्दै नियम अनुसार अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गर्नु पर्ने पनि विपक्षी गठबन्धको माग छ ।

Facebook Comments Box