प्रतिक्रियावादी शक्ति हाम्रो पार्टीलाई कमजोर बनाउन प्रयासरत छन् : ओली

    काठमाडौं, ७ साउन / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयासरत रहेको बताएका छन् । शनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले त्यस्तो बताएका हुन् ।
प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उनले चर्चा गरे । मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको भएपनि सफल हुन नदिइएको उनले बताए। मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्धता रहेको चर्चा गर्दै अध्यक्ष ओलीले विगतमा मजदूरकै बल र शक्तिमा क्रान्ति सफल भएको बताए।
अध्यक्ष ओलीले भने “मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्छन । हाम्रो देशमा पनि त्यही भएको छ ।” मजदुरहरुबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदैआएको उनले चर्चा गरे। मजदुर फुटाउने काम शासकले गरेपनि पुनः मजदुर एकतावद्ध भएर ठूलठूला क्रान्ति सफल भएको उदाहरण प्रशस्त रहेको उनले बताए।
अक्टोवर क्रान्ति, श्रमिक वर्गको आन्दोलन विगतमा सफल हुनुमा मजदुरबीचको एकताले सम्भव भएको बताउँदै अध्यक्ष ओलीले जहाँ सुधार भएको छ, त्यहाँ मजदुर आन्दोलन र क्रान्ति सफल भएको चर्चा गरे । विश्वमा शान्ति तव कायम हुन्छ जब मजदुरमाथिको थिचोमिचो अन्त्य हुन्छ अध्यक्ष ओलीले मजदुरकै बलमा परिवर्तन सम्भव रहेको बताए ।
अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताए । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनको भनाइ छ । समान ज्याला, श्रमशोषणको अन्त्य र असमान्ता अन्त्यका विषयमा पार्टी जहिले मजदुरको पक्षमा रहेको उनले चर्चा गरे । मजदूर वर्गको काम, कार्यक्षेत्र, सामाजिक सुरक्षा, न्यायका लागि एमाले जहिले पक्षमा काम गर्दैआएको उनले बताए ।

शनिबार, ०७ साउन, २०७९, साँझको ०६:०२ बजे

सम्बन्धित खवर