खाँदबारी नगरपालिकाद्वारा ८१ प्रतिशत खर्च

भाद्र ७ / आर्थिक वर्ष ०७७/७८ मा खाँदबारी नगरपालिकाले वार्षिक बजेटको ८१ प्रतिशत खर्च गरेको छ ।
खाँदबारी नगरपालिकाले प्रस्तुत गरेको ०७७/७८ को प्रगति समीक्षा सार्वजनिक गर्दै गत आर्थिक वर्षमा नगरले ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको हो ।
खाँदबारी नगरपालिकाले गत आर्थिक वर्षमा ७८ करोड ५७ लाख ७० हजार ५ सयमध्ये संघ समानिकरण अनुदानतर्फ ७५, संघ सशर्ततर्फ ८९, संघ समपूरक अनुदानतर्फ ९१, संघ राजस्व वाँडफाँटतर्फ ८१, प्रदेश समानिकरण अनुदानतर्फ ५४, प्रदेश सशर्त अनुदानतर्फ ७४, प्रदेश समपूरक अनुदानतर्फ ४८, प्रदेश राजस्व बाँडफाँटतर्फ ७०, आन्तरिक आम्दानीतर्फ ७८ र सडक बोर्डतर्फ ५५ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो ।
समीक्षा कार्यक्रममा नगरको वार्षिक बजेटमध्ये चालूतर्फ ३० र पुँजीगततर्फ ७० प्रतिसत रकम खर्च भएको जनाएको छ । खाँदबारी नगरपालिकाको ११ वटै वडा र विभिन्न शाखाअन्तर्गत विनियोजित बजेटको ८१ प्रतिशत खर्च भएको जानकारी गराउँदै खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत शेखरबाबु कार्कीले सबैभन्दा बढी वडा नं. १० मा ९८.९७ र सबैभन्दा कम वडा नं. ३ मा ८९.०८ प्रतिशत रकम खर्च भएको बताए ।
प्रगति समीक्षा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मुरारीप्रसाद खतिवडाले खाँदबारी नगरपालिकाभित्र सञ्चालन गरिएको ७४७ योजनामध्ये २२७ वटा नगरस्तरीय, २२९ वटा वडास्तरीय, मर्मत सम्भार कोषबाट १५३, संघीय सरकारबाट ३६ र प्रदेश सरकारबाट प्राप्त दुईवटा योजना सम्पन्न भएको जानकारी दिए ।

सोमबार, ०७ भदौ, २०७८, साँझको ०६:२१ बजे

सम्बन्धित खवर