नयाँ कारखाना खोल्दै रिलायन्स , नौ अर्ब लगानीको तयारी

बैकल्पिक खवर

धागो निर्यातमा उल्लेख्य योगदान दिँदै आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ९ अर्ब रुपैयाँ लगानी थपेर नयाँ धागो कारखाना खोल्नेदेखि चालु उद्योगको क्षमता विस्तारसम्म गर्ने भएको छ ।

रिलायन्सकै नाममा सुनसरी इनरुवामा नयाँ धागो कारखाना खोल्न लागिएको हो । रिलायन्सका सञ्चालक शशिकान्त अग्रवालका अनुसार नयाँ कारखानालाई आवश्यक २५ बिघा जग्गामध्ये २० बिघा खरिद भइसकेको छ । बाँकी ५ बिघा जग्गा खरिद प्रक्रिया चलिरहेको छ ।

रिलायन्सका उत्पादनको माग अत्यधिक बढेको र चालु उद्योगबाट माग पूरा गर्न नसक्ने अवस्था आएपछि नयाँ उद्योग खोल्नुपरेको सञ्चालक अग्रवाल बताउँछन् ।

अहिले दुइटा काम एकसाथ अघि बढेको छ । एउटा भइरहेकै उद्योगको क्षमता विस्तार तथा दोस्रो, नयाँ उद्योग स्थापना । दुहबीस्थित उद्योगको क्षमता विस्तारका लागि २ अर्ब ८० करोड रुपैयाँ लगानी थप्न लागेको अग्रवाल बताउँछन् ।

जापानबाट २२ नयाँ मेसिन ल्याएर क्षमता विस्तार गर्न लागिएको हो । त्यहाँबाट कटन र पोलिस्टर मिसाएर धागो बनाइन्छ । त्यसको माग अत्यधिक भएको उनको भनाइ छ ।

‘यो नेपालको पहिलो उत्पादन हुनेछ । अहिले अन्य कम्पनीले कटन र पोलिस्टर मिसाएर धागो बनाएका छैनन् । त्यो एकदमै उच्च गुणस्तरको धागो हुन्छ,’ अग्रवालले भने, ‘त्यसको माग पनि अत्यधिक छ । अहिले त्यस्तो धागो सबै भारत तथा अन्य देशबाट आयात भइरहेको छ । त्यसबाट बनेका कपडा पनि धेरै परिमाणमा आयात हुन्छ ।’

यहीँ उत्पादन सुरु गरेपछि धागो तथा कपडा दुवै आयात रोकिने रिलायन्सको विश्वास छ । आयातित धागोभन्दा यहीँ उत्पादित धागो सस्तो हुने भएकाले आयात प्रतिस्थापन हुने कम्पनीको दाबी छ ।

कम्पनी व्यवस्थापनले यसअघि सातपटक रिलायन्सको क्षमता विस्तार गरिसकेको छ । अब आठौंपटक हुन्छ । क्षमता विस्तार गरेको युनिटबाट मात्रै दिनको १६ टन धागो उत्पादन हुन्छ ।

सँगै नयाँ उद्योग भइरहेकै ठाउँमा क्षमता विस्तारसँगै व्यवस्थापनले रिलायन्सकै नाममा सुनसरीकै इनरुवामा नयाँ उद्योग स्थापना गर्न लागेको छ । व्यवस्थापनले अत्याधुनिक मेसिनसहित नयाँ कारखाना निर्माण तयारी गरेको हो ।

‘चालु उद्योगसँगै जग्गा पनि पाइँदैन । ठाउँ पनि छैन,’ सञ्चालक अग्रवालले भने, ‘त्यही भएर इनरुवामा जग्गा किनेर पोलिस्टर कटन उत्पादन गर्न लागेका हौं ।’

रिलायन्सले तीन चरणमा उद्योग बनाउँदै जाने छ । पहिलो चरण २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने छ । हरेक चरणमा त्यति नै लगानी हुन्छ । नयाँ उद्योगमा मात्रै ७ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ । चार वर्षभित्र उद्योग तीन चरणमा पूर्णरूपमा सञ्चालनमा आइसक्छ ।

बन्ने नयाँ उद्योगबाट महिनाको ८ सयदेखि १ हजार टन धागो उत्पादन हुन्छ । उनका अनुसार नाम रिलायन्स नै भए पनि यो नयाँ कारखाना हो । ६ महिनापछि निर्माण कार्य सुरु हुनेछ । दुई वर्षभित्र उद्योगको पहिलो चरणको काम पूरा भई उत्पादन सुरु गर्ने व्यवस्थापनको तयारी छ ।

रिलायन्स नेपालकै सबैभन्दा ठूलो धागो उत्पादन कारखाना हो । यसमा करिब ४ हजार मजदुर काम गर्छन् भने चौबिसै घन्टा उत्पादन हुन्छ । रिलायन्सबाट अहिले दैनिक ८० टन उत्पादन भइरहेको छ । रिलायन्स अल्लोको धागो उत्पादन गर्ने पनि नेपालको पहिलो कम्पनी हो ।

रिलायन्स अत्यधिक मूल्य अभिवृद्धि (भ्यालुएड), रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान र कूल उत्पादनको ६० प्रतिशतभन्दा बढी निर्यात गरेवापत पटक–पटक ‘कमर्सियल्ली इम्पोर्टेन्ट पर्सनालिटी’  (सिआइपी) बाट सम्मानित भएको छ ।

यद्यपि, उक्त उद्योग बुकबिल्डिङ विधिमार्फत सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा पनि जुटिरहेको छ। निकट भविष्यमै कम्पनीले सर्वसाधारणका लागि  सेयर जारी गर्ने छ ।

 

मङ्गलबार, ०७ भदौ, २०७९, दिउँसोको ०२:४८ बजे

सम्बन्धित खवर