रीता भण्डारी
‘हाम्रो इच्छा विपरीतः पुरुष,महिला र बलात्कार’ सुसान ब्राउनमिलरले १९७५ मा लेखेको किताब हो यो । यसमा लेखकले बलात्कार भनेको पुरुषले शक्तिको आडमा धम्की दिने एक सचेत प्रक्रिया हो र यसका लागि सबै पुरुषहरूले महिलाहरूलाई डरको अवस्थामा राख्छन् भन्ने जिकिर छ । त्यसकारण कुनै पनि समाजमा नागरिकको सुरक्षाको प्रश्न उठ्नु समस्या हो । आफूलाई नपरेसम्म त्यो समस्यालाई समस्या नमान्नु अर्को ठुलो समस्या हो ।

केही समय पहिले खुलासा भएको एक ब्यूटी पेजेन्ट सहभागीको बलात्कार र जबरजस्ती गरेको घटनाले यो समस्या दूरदराजदेखि काठमाडौंमा समेत रहेको बुझ्न कठिन छैन । घटनामा परेको कसैले पनि छिटो न्याय नपाएमा घटनामा कमी आउँदैन बरु बढ्छ । र,विगतका केही वर्षपछि देखिएका घटना र छापिएका समाचारले यसलाई प्रमाणित गरेका छन् ।

नाबालिका वा महिलाको सुरक्षाका लागि भनेर खाली काठमाडौंलगायत सहरहरूमा मात्र न्यायको माग गर्ने प्रदर्शनले यो समस्याको समाधान हुँदैन । समाजमा महिला सशक्तिकरण र समाज रुपान्तरणको कुरा गर्नेहरू घटना घटाउन संलग्न भएको कुरा ब्यूटी पेजेन्टमा सहभागी हुनेबाट प्रष्टियो ।

यस्ता दुःखद उदाहरण बढ्दै जानुले समाजलाई असुरक्षित बनाउँछ । ब्यूटी पेजेण्ट भनेर नारी सशक्तिकरणको कुरा गर्नेबाट नै यस्ता घटना किन हुन्छन् ?फिल्म कलाकार संलग्न घटनामा पनि पीडितलाई झन् पीडित बनाएको कुरा सेलाएको छैन ।

केही हप्ता पहिला नेपाली खेलाडीसंग जोडिएको घटनामा अभियन्ताहरू नै मिडिया ट्रायलको बाटोमा होमिनुले समस्या बढाउँछ कि घटाउँछ ?यद्यपी दुबै घटनाका पीडक पुर्पक्षका लागि जेलमा छन् । सायदै यस्ता मिडिया ट्रायल गर्नुहुन्न भनेर चिन्तन भयो होला ।

सुदूरपश्चिममा घटेका निर्मला पन्त र भागिरथी भट्ट घटनादेखि अरु घटनाबाट समाजले पाठ सिक्नु पर्नेमा किन यस बारेमा समाजका अगुवा नै सचेत नभएको ?यो निकै चिन्ताको कुरा हो । बलात्कार र यौन दुव्र्यवहारका घटना छानबिनमा समय सीमितताको कुरा हटाएको विरोधमा उत्रिनेहरूबाट नै समाजका वास्तविक समस्या हुन् भनेर बुझ्ने बेला आइसकेको छ ।

नेपालमा गत आर्थिक वर्ष २०७८÷७९ मा मात्र बलात्कारको तथ्याङ्क हेर्दा हाम्रो समाज कता जाँदैछ भन्ने कुराको लख काट्न गाह्रो छैन । तथ्याङ्कअनुसार बलात्कार विरुद्धको उजुरी मात्र २५३२,बलात्कार गर्ने प्रयासको उजुरी ७३५,अप्राकृतिक सम्भोगका ३६ र बाल यौन दुव्र्यवहारको २८१ निवेदन थिए । आर्थिक वर्ष २०७६÷७७ मा बलात्कार विरुद्धको उजुरी २२३० थियो । यी तथ्याङ्क हेर्दा बुझिन्छ कि नेपालमा यौन अपराध तीब्र रुपमा बढ्दो छ ।

तर कति जना अपराधी पक्राउ परेका छन् र कतिले न्याय पाए भन्ने तथ्याङ्क प्रहरीसंग छैन । राज्य नै घटना र प्रति घटनाका कुरामा सजग हुनु पर्ने हैन र ?यो प्रश्न प्रहरी प्रशासनको मात्र हो कि गृह मन्त्रालयको पनि ?अब यस्ता कुरामा पनि छलफलको आवश्यकता छ ।

पीडकले समय सीमामा तर्साउने र धम्की दिएकै कारण बलात्कार र यौन दुव्र्यवहारबाट बचेकाहरूलाई न्यायको ढोकामा पुग्नबाट रोकेको छ । कानुनका यस्ता क्षिद्रको प्रयोग गरेर अपराधीलाई सुरक्षित रहन दिनु समाज विरोधी काम हो ।

नेपालको राष्ट्रिय दण्ड संहिताको धारा २२९ (२) अनुसार बलात्कार गर्ने प्रयास,वैवाहिक बलात्कार,बाल यौन दुव्र्यवहार र यस्तो अपराधको एक बर्ष पछि यौन उत्पीडन र त्यस्तो अपराधको आयोगको ज्ञानबाट तीन महिनाको म्याद समाप्त हुन्छ ।

यौन घटनामा प्रदेश सहितको आँकडा हेर्ने हो भने २०७८÷७९ मा प्रदेश १ सबैभन्दा खराब अवस्थामा छ । यो प्रदेशमा ६०२ बलत्कार र १६७ यौन कार्य गर्न प्रयास गरेको तथ्याङ्कले देखाउँछ । बलात्कार गर्ने कार्यमा बाग्मती ५२७ (उपत्यकामा मात्र २२०),लुम्बिनी ४३८,मधेस ३७५,सुदूरपश्चिम २१६,गण्डकी २०९ र कर्णालीमा १५५ रहेको छ । त्यसै समयमा यौन कार्य गर्न प्रयास गरेको प्रदेश १ पछि बाग्मती १२८ (उपत्यकामा मात्र ४०),लुम्बिनी १३४,मधेस ११५,सुदूरपश्चिम ८९,गण्डकी ५६,कर्णाली ४६ देखिन्छ ।

सडक र संसद्को दबाबपछि पुलिसले कथित सौन्दर्य पेजन्ट आयोजकलाई पक्राउ गरेको छ । राष्ट्रिय दण्ड संहिताको सेक्शन २२९ (२) ले सहमति लिएर पनि १८ बर्ष भन्दा कम उमेरको किशोरीसँग यौन सम्बन्ध राख्ने कार्यलाई बलात्कारको रूपमा परिभाषित गर्दछ ।

धारा २१ फौजदारी संहिताको मार्शल बलात्कारको लागि अधिकतम एक वर्षको सजाय छ । वयस्क महिलाको बलात्कारको लागि सजाय सातदेखि दश बर्ष हो । यो कोड वैवाहिक बलात्कार र बलात्कारको बीचमा भिन्न छ,र वैवाहिक बलात्कार एक अपराध भन्दा कम छ भनेर स्थापित गर्न कोशिस गर्दछ । किनकि यसमा पति पनि अपराधीको रूपमा समावेश छ । कोडले अप्राकृतिक सेक्स परिभाषित गर्दैन ।

राष्ट्रिय दण्ड संहितामा यौन अपराधअन्तर्गत अध्यायले पीडितको उमेरमा आधारित विभिन्न सजाय प्रदान गर्दछ तर यौन दुव्र्यवहारको डिग्रीलाई बेवास्ता गर्दछ । सजायको यस आधारले पीडितहरूमाथिको अपराधको प्रभावलाई कम महत्त्व दिन्छ,अपराधीहरूलाई विश्वास दिलाउँछ कि उनीहरूको अपराध ठूलो कुरा होइन ।

हामीले अब बलात्कारका कारणबारे खोज्नै पर्छ । लैगिक हिंसाको मुख्य कारण अपराधी र पीडितबीच विवादास्पद शक्ति सम्बन्ध हो । नेपालको समाजको ढाँचा पुरुषवादी छ । न्यायमा महिलाको पहुँच कमजोर छ । न्याय प्रक्रिया ढिलो छ । समाजमा असुरक्षाका कारण कहिलेकाहीँ पीडितले ठिक रिपोर्ट गर्न अनिच्छुक हुनु,समाजमा पहुँचावालाको आधिपत्य हुनु नै चिन्ताको विषय हो ।

नेपालमा धेरै कानून संशोधन गर्न आवश्यक छ । सीमितताको कानुन सम्बन्धि हालको प्रावधानले बलात्कारबाट जोगिएकाहरूको मानसिक आघातलाई सहयोग गर्दैन । केस फाइल गर्न केही समय लिने जस्ता कुरालाई ध्यान दिएर कानुनलाई तत्काल संशोधन गर्नुपर्छ । नेपालमा बलात्कारको परिभाषा निकै रूढीवादी छ । यसलाई फराकिलो बनाउनु पर्छ ।

वैवाहिक बलात्कारको सजाय बलात्कारको लागि भन्दा कम गम्भीर छ । वैवाहिक स्थिति जस्तोसुकै भए पनि एक समान हुनुपर्दछ । समस्यामा पुरुषहरू पनि पर्नु हुन्न । पीडितको उमेरमा आधारित सजायको सट्टा समान सजाय हुनु पर्दछ । शीघ्र न्याय दिने र समस्यामा परेकालाई राज्यले संरक्षण दिनुपर्छ । अन्यथा घटना घट्ने मात्र हैन,दोहोरी नै रहन्छ ।

लेखक भण्डारी त्रिविमा प्राध्यापनरत छिन् ।

Facebook Comments Box