डा. माधव अधिकारी

विश्वभर ३ अर्बभन्दा बढी मानिसमा सरसफाइका लागि अत्यावश्यक शौचालयको पहुँच नभएको मानिन्छ । गुणस्तर जीवनका लागि शौचालयको निकै ठूलो महत्व छ । विज्ञानले नै प्रमाणित गरिसकेको छ कि मानव जातिको स्वास्थ्यका लागि शौचालय अहिलेको आवश्यकता हो ।

सरसफाइ गुणस्तरीय स्वास्थ्यका लागि अति आवश्यक छ । सरसफाइ भयो भने हाम्रो स्वास्थ्य गुणस्तर भई रोगहरूबाट संक्रमण हुँदैन । शौचालयको राम्रो व्यवस्थापन भएमा हैजा, झाडापखाला, कलेरा आदिजस्ता संक्रामक रोग लाग्न पाउँदैन । शौचालयको व्यवस्थापनबाट विभिन्न सरुवा रोगको समेत व्यवस्थापनमा सहज हुने भएकाले सार्वजनिक शौचालय व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी सोको व्यवस्थापन गर्नु अति जरुरी छ ।

नेपालको सन्दर्भमा, भन्नलाई लाज मान्न पर्दैन, काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा शौचालयको अभावमा टन्न पेटभरि खाएर भ्रमण हिँड्ने पर्यटक तथा हिँडडुल गर्ने मानिसहरू शौचालय जान पर्ला भनेर तर्सन्छन् । कतिपय पर्यटक शौचालय प्रयोग गर्नुपर्दा पनि शौचालय भएको रेस्टुराँमा खान मन नभए पनि केही किनेर खाने र त्यहाँका शौचालय प्रयोग गर्न बाध्य छन् ।

यस क्षेत्रका सम्बद्घ व्यक्तिहरूका अनुसार पर्यटकलाई कहींकतै स्तरीय शौचालय छैन । पटकपटक नेपाल आउने गरेका विदेशी पर्यटकहरू शौचालयको अभावमा सो प्रयोग गर्नुपर्ला भनेर कम खाना खाने र ओठ जिब्रो भिजाउने गरेको समाचारले सम्पूर्ण नेपालीको साख गिराएको छ । साथै, आन्तरिक पर्यटन तथा गाउँबाट सहरी क्षेत्रमा विभिन्न कामले आउने मानिसलाई समेत सोही अवस्था छ । पशुपति, स्वयम्भू, बौद्घलगायत विश्व सम्पदामा सूचीकृत क्षेत्रमा पनि पर्यटकका लागि गुणस्तरीय र आवश्यक शौचालय छैनन् ।

यसै सन्दर्भमा मिति २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचनबाट निर्वाचित काठमाडौँ महानगरपालिकाको स्थानीय सरकारले गरेको पहिलो कार्यपालिकाको बैठकमा शौचालयको उचित व्यवस्थापन नभएसम्मका लागि महानगरभित्र रहेका रेस्टुराँ, होटल, पेट्रोल पम्प, विभिन्न सरकारी तथा गैरसरकारी निकाय आदिसँग सहकार्य गरी निश्चित मापदण्ड तोकी त्यहाँ रहेको शौचालय सार्वजनिक प्रयोगका लागि व्यवस्थाप मिलाउने कुरा प्रकाशमा आएको थियो ।

काठमाडौँलगायत देशभरका विभिन्न सहर तथा सार्वजनिक क्षेत्रहरूमा शौचालयको विकराल समस्या देखा परेको परिवेशमा काठमाडौँ महानगरपालिकाबाट सो कार्यको सुरुवात हुनु सकारात्मक कार्य हो, तर आशा गरेअनुसार कार्यान्वयन अझै प्रभावकारी हुन सकेन । पशुपति विकास कोषले समेत पशुपति क्षेत्रभित्र लाग्ने विभिन्न मेलामा आवश्यक शौचालयको प्रभावकारी व्यवस्थापन गर्न सकेको हुँदैन । उदाहरणका रूपमा यही कात्तिक ६ गतेको दिन परेको वालचतुदर्शीको दिन शौचालयको अभावमा विशेष गरी महिला, वृद्ध तथा बालबालिकाले धेरै दुःख पाउनुपरेको थियो ।

हुन त नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भइसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको सम्बन्धित निकायले बताएको थियो । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरूले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेको त पाइन्छ भनी समाचार प्रकाशमा आएको थियो तर माथि भनेजस्तो शौचालयको आवश्यक व्यवस्था भने भएको पाइँदैन । सरसफाइ र शौचालयको व्यवस्था मानव सभ्यताको सूचक भएकाले यसलाई देशका सबै सहरमा आवश्यक तिनै तहको सरकारले आवश्यक व्यवस्था मिलाउन अति आवश्यक छ ।

मुख्यतः यसमा स्थानीय सरकार (घरदैलोको सरकार) को महत्वपूर्ण भूमिका रहन्छ । संयुक्त राष्ट्रसंघका विभिन्न प्रकाशनमा जनाइएअनुसार अझै पनि ६७ करोड ३० लाख मानिस खुला दिसापिसाब गर्छन् । राष्ट्र संघको अगुवाइमा सुरु भएको दिगो विकास लक्ष्यको लक्ष्य नं. ६ ले सबैलाई दिगो र पर्याप्त पानी तथा सरसफाइको सुविधा उपलब्ध हुने सुनिश्चित गर्ने उद्देश्य राखेको छ । यसको लक्ष्य नं. ६.२ मा खुला दिसापिसाब रोक्ने र स्वास्थ्य तथा सरसफाइमा पहुँच पु¥याउने कुरा उल्लेख छ ।

खुला स्थानमा दिसा तथा पिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोलानाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखालाजस्ता रोग फैलिन गई आमनागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिनु अति आवश्यक छ । घरमा शौचालय हुनु र खुला स्थानमा दिसापिसाब नगर्दैमा सरसफाइको लक्ष्य हासिल हुँदैन । ढल प्रणालीमा नजोडिएका शौचालयमा जम्मा भएका दिसा र खोलानालामा निकास गरिएका ढल हाम्रा लागि ठूलो चुनौतीका विषय भएका छन् ।

देशभरका ७ सय ५३ पालिकामा ढल प्रशोधन र व्यवस्थापनको ठूलो चुनौती देखिएको छ । ढल प्रशोधन प्रणाली विकास र व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने खाँचो एकातिर छ भने अर्कातिर त्यसको उचित व्यवस्थापन र कार्यान्वयनको आवश्यकता छ । यसका लागि तीनै तहका सरकार, दातृ राष्ट्र तथा निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र समुदायको साझेदारी, सहयोग र सहकार्यको अति आवश्यकता छ ।

शौचालयमा दिसापिसाब गर्दा मात्र स्वस्थ भइँदैन, हामीले प्रयोग गर्ने शौचालय फोहोर छ भने पनि त्यसबाट संक्रमणजन्य रोगहरू लाग्न सक्छ । फोहोर शौचालयको प्रयोगले झाडापखाला, आउँ, हैजा, टाइफाइडलगायतको संक्रमणजन्य रोगहरू लाग्न सक्छ । फोहोरबाट हुने संक्रमणजन्य रोगको पहिलो कारण शौचालयको फोहार हो । शौचालय सफा नभएको ठाउँमा रोगको महामारी फैलिने जोखिम उच्च रहन्छ ।

जहाँ व्यवस्थित र सफा शौचालय हुँदैन, त्यहाँ सरुवा रोगको महामारी फैलिने जोखिम सधै्र उच्च रहन्छ । शौचालय व्यवस्थित छैन भने खानेपानी पनि फोहोर हुन सक्छ । सरुवा रोगको असर, रोकथाम र सचेतनाका लागि सबैभन्दा पहिला शौचालय नै पहिला सफा र व्यवस्थित हुनुपर्छ । तबमात्र मानव स्वास्थ्य गुणस्तरीय हुन्छ । शौचालय सफा र व्यवस्थित भएका सरुवा रोगका बिरामीको संख्यामा कमी हुनेछ ।

शौचालयमै भएको फोहोरले सरुवा रोगका बिरामीहरू बढी हुन्छन्, त्यसैले झाडापखला, हैजालगायतका रोगबाट बच्न सफा र व्यवस्थित शौचालय प्रयोग गर्नुपर्छ । हामी सबै सजग भएर सफा शौचालय प्रयोग गर्ने र प्रयोग गर्दा पनि सभ्य तरिकाले प्रयोग गर्ने तथा सरसफाइ गर्ने गर्नुपर्छ । अझ हाम्रा अस्पतालहरूमा विभिन्न किसिमका रोगका बिरामी आउने भएकाले उनीहरूले प्रयोग गर्ने शौचालय सफा र व्यवस्थित हुनु अति नै आवश्यक छ ।

अस्पतालमा त धेरै रोगका बिरामीहरू आउँछन्, उनीहरू सबैले प्रयोग गर्ने शौचालय एउटै हुन्छ, यस्तो अवस्थामा शौचालय सफा नहुँदा बिरामीमा संक्रमण हुने जोखिम झनै बढी हुन्छ, त्यसैले बिरामीले प्रयोग गर्ने शौचालय झनै सफा हुनुपर्छ । अस्पताल प्रशासनले पनि सरसफाइको विषयमा विशेष ख्याल गर्नुपर्छ । बिरामी तथा शौचालय प्रयोग गर्ने व्यक्ति पनि सचेत रहनुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा देशभरका सबै स्थानीय सरकारले शौचालयको आवश्यक व्यवस्थापनबारे राम्रोसँग सोच्नु आवश्यक छ । सो सम्बन्धमा स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरिएको १ हजारको लगानीले ५० हजारसम्म प्रतिफल दिन्छ । यसले औषधोपचार खर्चमा बचत गर्नुका साथै व्यक्तिको उत्पादकत्व बढाउँदै सेवा श्रृंखलामा अनगिन्ती रोजगारी पनि सिर्जना गर्छ । अझ महिला र बालिकाका लागि घर, विद्यालय र कार्यस्थलमा शौचालय हुँदा तिनीहरूले आफ्नो सम्पूर्ण सामथ्र्य काममा लगाउन पाउँछन् र समाजमा पूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

महिनावारी र गर्भवती हुँदा शौचालयको अभावमा महिलाहरूले ठूलो सकस बेहोर्नुपरेको छ । सार्वजनिक शौचालय प्रयोग सकेसम्म निःशुल्क हुनुपर्छ । शुल्क लिए पनि न्यूनतम लिनु आवश्यक छ । हाम्रो देशमा सबै नागरिकले शुल्क तिरेर शौच गर्ने स्थिति नभएको तथा बानी नभएकाले खाली ठाउँमा खुला शौच गर्दा सोको असरले विभिन्न रोगहरू फैलिई करोडौँ क्षति भई आर्थिक नोक्सानी भएको छ । यसलाई सम्बन्धित पक्षले गम्भीर रूपमा सोच्नु आवश्यक छ ।

हाम्रो देशमा सार्वजनिक शौचालयको संख्या ज्यादै न्यून भएकाले स्थानीय सरकारले आवश्यक मात्रामा सार्वजनिक शौचालयको उचित व्यवस्थापन गर्न अति आवश्यक छ । साथै हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदै आएको पाइन्छ । सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधाका साथ फालिने पानीलाई पूनः प्रयोग गर्ने स्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘अदृश्य रूपमा रहेको शौचालयको महत्वलाई प्रकाशमा पारौँ’ भन्ने रहेको थियो ।

Facebook Comments Box