शहरको तुलनामा गाउँका महिला आर्थिक रुपमा सक्षम हुँदैनन् । गाउँका महिलालाई व्यापार व्यवसाय, उद्यमशीलतामा अग्रसर हुन पारिवारिक तथा सामाजिक परिवेशले पनि दिएको छैन । सीप क्षामता आँट नभएर होइन्, महिला घरभन्दा बाहिरको काम गर्न सक्दैनन्, मेलापात घरधन्दा महिलाको पेवा जस्तो ठान्ने प्रवृत्ति समाजमा विद्यमान छ ।

जसका कारण अझै अधिकांश महिला आर्थिक सामाजिक र राजनीतिक रुपले मूल प्रवाहमा आउन सकेका छैनन् । तर तिला गाउँपालिका वडा नं. १ की संगीता बुढा समाजको संकीर्ण सोचभन्दा माथि उठेर एक नमुना उद्यमी बन्ने बताउँछिन् । उनी तीन महिने ढाका बुनाई तालिम लिइरहेकी छिन् । उनी ढाकाबाट उत्पादन हुने सल, चोली कपडा, गलबन्दी, सारी र धोतीलगायतका कपडा बुन्न सिकीरहेकी छन् । तालिमपछि व्यावसायीक रुपमा ढाका उद्योग खोल्ने संगीताको सोच छ ।

“महिलाले पनि आर्थिक कमाउन सक्छन्, सफल उद्यमी बन्न सक्छन् भन्ने उदाहरण देखाउन चाहन्छु” उनले भनिन्, “सधैँ घरधन्दा समाल्नुपर्ने, मेलापात धाउनु पर्ने महिलाको मात्रै ठेक्का हैन । अब महिला पनि आर्थिक क्रान्ति गर्न अघि बढ्नु पर्छ । त्यसको शुरुवात उद्यमशीलताले गर्छ ।”

त्यस्तै, तिला गाउँपालिका ९ की अन्जु बढाले पुरुष सरह आर्थिक रुपमा महिला सक्षम बन्न उद्यमशीलताको विकल्प नरहेको बताइन् । महिलाको परनिर्भता अन्त्यको विकल्प पनि उद्यमशीलता नै हो । अन्जु भन्छिन्,“मेहनत गरी ३ महिने तालिमबाट ढाका बुनाई सीप सिक्दै छु । तालिमपछि व्यावसायीक रुपमा उद्योग खोल्ने सोच छ । स्थानीय तहले सहयोग गरे ढाका उद्योगलाई थप वृहत्तर बनाउँछु । बढ्दो ढाको कपडाको माग जुम्लामै धान्ने गरी उत्पादन बढाउँछु ।”

तिला ९ की रामछाया थापाले एक महिना खरायोको टोपी बुन्ने तालिम सिक्दैछिन् । थापाले खरायोको टोपीसँगै मनग्य कमाउने सपना समेत बुनेकी छन् । जुम्लामा खरायोको टोपीको माग बढ्दो छ । घरमै थन्किनु भन्दा उद्यम गरेर आर्थिक रुपमा सक्षम बन्ने हुटहुटी पलाएको समेत रामछायाले बताइन् । यसरी तिलाकी रामछाया, अन्जु र संगीता सामाजको संकीर्ण सोचभन्दा माथि उठेर उद्यमशीलतातर्फ अग्रसर हुन थालेका छन् ।

वल्र्डभिजनको आर्थिक सहयोग र किर्डाक नेपालको साँझेदारीमा सञ्चालित (एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन) परियोजनाबाट ३ महिने ढाका बुनाई र एक महिने खरायो टोपी बुन्ने तालिम सञ्चालन भएको छ । जसमा ढाका बुनाइमा २० र टोपी बुन्नेमा ३० जना महिला सहभागी छन् । तालिमपछि स्थानीय सरकारले आवश्यक लगानी गरे नमुना उद्यमी बनेर छाड््ने उनीहरुको अठोट छ ।

किर्डाकले दिएको व्यावसायिक योजना सम्बन्धी तामिल र सीपले भविष्यमा सफल उद्यमी बन्ने आँट आएको समेत तिलाकी विष्णुकली रोकायाले बताइन् । पहिला घरकै काममा बेस्थ हुने रोकाया आजभोली उद्यमी बन्न ढाका बुनाई सिक्दै छन् र कच्चा पदार्थको आपूर्ति तथा बजार व्यवस्थापन भएको खण्डमा ढाकाका कपडा र खरायोको टोलीको निर्यात अपेक्षा भन्दा बढी हुने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको भनाइ छ ।

गाउँमा रोजगारी सृजना गर्न तथा उद्यमशीलताको विकासका लागि स्थानीय सरकारले आवश्यक लगानी गर्ने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाको प्रतिबद्धता छ । “तालिमपछि प्रत्यक महिलाले ढाका बुन्ने मेसिन पाउने छन्” किर्डाकका कार्यक्रम अधिकृत बहादुर भण्डारी भन्छन्, “महिला उद्यमशीलता विकासका लागि सीपसँगै दिगोपना र निरन्तरतामा स्थानीय सरकार जवाफदेही हुनुपर्छ । महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउने परियोजनाको उद्देश्य छ ।”

वल्र्ड भिजनको सहयोगमा किर्डाकले तिला तातोपानी, चन्दननाथ र पातारासीमा कार्यबोझ न्युनिकरण, पोषणमा वृद्धि, उत्पादन वृद्धि, उद्यमशीलता, होटल व्यवसाय, खुद्रा व्यापार लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

Facebook Comments Box